
News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्यान ग्रुप र जेनजी आन्दोलनका शहीद परिवारबीच शैक्षिकवृत्ति योजना सझदारीपत्रमा हस्ताक्षर भएको छ।
- पहिलो चरणमा ११ बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष प्रतिभा प्रोत्साहनका लागि खर्च बेहोर्ने सम्झौता भएको छ।
- गोल्यान ग्रुपले शैक्षिक छात्रवृत्ति र स्वास्थ्य बीमा सहयोग कार्यक्रम कार्यान्वयन सुरु गरेको छ।
३१ असोज, काठमाडौं । व्यावसायिक घराना गोल्यान ग्रुप र जेनजी आन्दोलनका शहीद परिवारबीच ‘शैक्षिकवृत्ति योजना’ सझदारीपत्रमा हस्ताक्षर भएको छ ।
गोल्यान ग्रुपले १४ असोजमा घोषणा गरेको शहीद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम कार्यान्वयन गर्ने क्रममा उक्त समझदारी गरेको हो ।
पहिलो चरणमा शुक्रबार ११ बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष क्षमता तथा प्रतिभा प्रोत्साहनका लागि खर्च बेहोर्ने सम्झौता भएको छ । ग्रुपका तर्फबाट कम्पनीका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैरे र बालबालिकाका तर्फबाट उनीहरूका अभिभावकले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार ग्रुपले शहीद परिवारका सदस्यले अध्ययन गर्दै आएको, इच्छाएको वा उपयुक्त ठहरिएको शैक्षिक संस्थामा माध्यमिक तह (कक्षा १२) सम्म अध्ययन गर्न आवश्यक छात्रवृत्ति प्रदान गर्ने छ ।
‘छात्रवृत्ति स्वरूप निज अध्ययनरत शैक्षिक संस्थाको बैंक खातामा उक्त संस्थाले तोकेको शुल्क गोल्यान ग्रुपले आवश्यकता अनुसार वा एकमुष्ट जम्मा गर्ने छ,’ समझदारीपत्रमा छ, ‘आवश्यक परेको खण्डमा छात्रवृत्ति प्राप्तकर्ताको अभिभावक, गोल्यान ग्रुप तथा सम्बन्धित शैक्षिक संस्थाबीच यस समझदारीको अधीनमा रही त्रिपक्षीय सम्झौता गर्न सकिने छ ।’
शैक्षिक छात्रवृत्ति अतिरिक्त बालबालिकाको इच्छा अनुसार कुनै एक अतिरिक्त क्रियाकलापमा सहभागी हुन सम्बन्धित संस्थामा भर्ना तथा नियमित शुल्क समेत बेहोर्ने समझदारीपत्रमा उल्लेख छ ।
अभिभावकले दिएको जानकारीका आधारमा युरो स्कुल छाउनी, प्याराडाइज इङ्लिस स्कुल सानेपा, जागृति विद्यासदन इङ्लिस स्कुल मुलपानी लगायतमा पढाउने गरी प्रक्रिया सुरु गरेको गैरेले जानकारी दिइन् ।
‘हामीले गर्ने कुनै पनि सहयोगले परिवारका प्रियजन गुमाउँदाको पीडा मेटाउन सक्दैन, तर तपाईंहरू एक्लो हुनुहुन्न, हामी पनि सँगसँगै छौं भन्ने भावनाले सहयोगको हात बढाएका हौं,’ उनले भनिन्, ‘शहीदका बालबालिकासँग उनीहरूको सपना पनि जोडिएकाले त्यसको संरक्षण गर्नु हामीले दायित्व सम्झेका छौं ।’
ग्रुपले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जेनजी आन्दोलनका शहीद परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको र त्यसलाई कार्यान्वयन सुरु गरेको गैरेले बताइन् ।
उनका अनुसार शहीद परिवारका घरमै गएर उनीहरूको आवश्यकता पहिचान गरी पहिलो चरणको सहयोग कार्यक्रम अघि बढाइएको हो । ‘हामीले क्रमशः अन्य शहीदका परिवारसँग पनि सम्पर्क गरिरहेका छौं, उहाँहरूको आवश्यकता पहिचान गरेर सबैलाई सहयोग कार्यक्रममा जोड्ने छौं,’ उनले भनिन् ।
आन्दोलनमा आमा गुमेपछि दुई भाइबहिनीको जिम्मेवारी सम्हालिरहेकी काठमाडौं सानो भर्याङकी उर्मिला नगरकोटीले नयाँ अभिभावक पाएको बताइन् । बुबा पहिले बितेको र आमा कान्छी नगरकोटीको आन्दोलनमा मृत्यु भएपछि उर्मिलाको काँधमा ९ कक्षामा अध्ययनरत भाइ र ११ कक्षामा अध्ययनरत बहिनीको जिम्मेवारी आइलागेको थियो । ‘बुबाआमा नरहेपछि भाइबहिनीलाई कसरी पढाउने भन्ने चिन्ता थियो, अब हटेको छ,’ उनले भनिन् ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आएकी मञ्जु पौडेलले हरेक व्यक्तिको जीवनमा शिक्षाभन्दा ठूलो केही नभएको बताउँदै यसको जिम्मेवारी लिएकोमा गोल्यान ग्रुपप्रति आभार व्यक्त गरिन् । मञ्जुका श्रीमान् अनिष पराजुलीको महाराजगञ्जमा गोली लागेर मृत्यु भएको थियो । उनका २ वर्षीय र १४ वर्षीय दुई छोरा छन् । उनीहरूको १२ कक्षासम्मको शिक्षाको जिम्मेवारी गोल्यान ग्रुपले लिएको छ ।
गोल्यान ग्रुपले स्वास्थ्य बीमा सहयोग कार्यक्रम कार्यान्वयन प्रक्रिया पनि सुरु गरेको जनाएको छ । शैक्षिक वृत्ति कार्यक्रममा समेट्न नसकिएका शहीद परिवारका बुबा र आमाका लागि बीमार्माफत सहयोग गरिने कम्पनीका कर्पोरेट अफेयर्स प्रमुख गैरेले जानकारी दिइन् ।
प्रतिक्रिया 4