+
+
Shares

सुन पसलमा छापा हानेपछि जनकपुर तनावग्रस्त, १० जना प्रहरी घाइते

सुनपसलमा छापा हानेपछि व्यवसायीले प्रहरीमाथि आक्रमण गरेका छन् । त्यसक्रममा प्रहरीले ७ राउण्ड हवाई फायर गरेको छ । घटनामा १० जना प्रहरी घाइते भएका छन् भने व्यवसायीतर्फ उद्योग वाणिज्य संघका अध्यक्ष पनि घाइते छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते ६:५७
सुन पसलमा छापा हान्न आएका प्रहरीलाई लखेट्दै व्यवसायी ।

१ कात्तिक, जनकपुरधाम । तिहारको पूर्वसन्ध्यामा जनकपुरधाम तनावग्रस्त बनेको छ । जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो । जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपमा जनकपुरधाम उद्योगवाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् । यता झडपमा १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डिएसपी गणेशबहादुर बलमे जानकारी दिए ।

डिएसपी बमका अनुसार अवस्था नियन्त्रणमा लिन सात राउण्ड हवाय फायर र २ सेल अश्रुग्यास प्रहार गरिएको हो ।

जानकी मन्दिरको दक्षिणपट्टी रहेको सोनारपट्टीमा संजय ठाकुरले संचालन गरेको ज्वेलर्समा राति ८ बजे विशेष सूचनाको आधारमा सिभिलमा प्रहरी पुगेका थिए ।

डिएसपी बमका अनुसार ज्वेलर्सबाट बिल विजक नभएको अन्दाजी ७ किलो चाँदी बरामद गरिएको छ । प्रहरी टोली डिएसपी बमकै कमाण्डमा पुगेको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुखसमेत हुन् ।

धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भएको छ । उनी बिहीबार नै हिँडिसकेका छन् । डिएसपी बम पनि धनुषामा सरुवा भएर आएको चार दिन मात्र भएको छ ।

डिएसपीका अनुसार ७ किलो चाँदी बरामद सुनचाँदी व्यवसायी संघका नेतृत्वलाई समेत बोलाएर मुचुल्का गर्न खोजेपछि जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी पुगे । उनले लैजान नदिने अडान कसे । उनीसहित व्यवसायीहरु प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको प्रहरीको भनाइ छ ।

‘हामीले विलविजक खोज्यौं । केही थिएन । हामीले सात किलो चाँदी बरामद गरेर लग्न सुनचाँदी व्यवसायी संघको नेतृत्वलाई बोलायौं । मुचुल्का हुने कुरा हुँदै थियो’, डिएसपी बमले भने, ‘तर सुरेन्द्र भण्डारी आएपछि उच्सृंखल शैलीमा पुलिसलाई खेदौं भनेर आक्रमक भएर हातपात गर्न थाल्नुभयो । त्यसपछि अलिकति झडप भयो ।’

यता उद्योग वाणिज्य संघ जनकपुरका महासचिव फुलदेव पण्डितले धनतेरशको पूर्वसन्ध्यामा प्रहरीले आतंक सिर्जना गरेको आक्रोश पोखे । उनका अनुसार पहिला कालीगढकै काम गर्ने संजय ठाकुरले भर्खरै नयाँ ज्वेलर्स खोलेका छन् । त्यहाँ अरुले दिएको सुनचाँदीको पनि उनले गहना बनाउने गर्छन् । पसलमा सुरुमा एकजना प्रहरी सिविल पोसाकमा पायल बनाउने बहानाले आए । यसरी पाँचजना प्रहरी सिभिलमै पुगेपछि सबै चाँदी दिन भने । यसरी चाँदी प्रहरीले लग्न खोजेपछि अवस्था विग्रिएको महासचिव पण्डितको भनाइ छ ।

‘पाँचजना सिविल ड्रेसको प्रहरीपछि २०–२५ जना प्रहरी फेरि आएर चाँदी लैजान खोजे । यो कुरा व्यवसायीहरुलाई थाहा भयो । व्यवसायीहरु पुगेर धनतेरशको पूर्वसन्ध्यामा यसो किन गर्नुभयो भनेपछि प्रहरीले एकाएक लाठीचार्ज गर्न थाल्यो । त्यसपछि प्रहरीले हवायफाइर र अश्रुग्यास पनि प्रहार गर्यो,’ महासचिव पण्डितले भने । उनका अनुसार त्यही क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष घाइते भएका हुन् ।

प्रहरीले धनतेरशको पूर्वसन्ध्यामा आतंक सिर्जना गरेकाले उनीहरुलाई कारबाही नभए उद्योग वाणिज्य संघ कडा आन्दोलनमा जाने चेतावनी उनको छ ।

छापा मार्न पुगेका प्रहरी भने अन्य निकायसँग समन्वय भने गरेको छैन । धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले छापामारेको विषयमा औपचारिक रुपमा प्रहरीले जानकारी नगराइ गरेको बताए ।

‘यो विषयमा मलाई थाहा छैन । राजश्व अनुसन्धानबाट समन्वय गरेर सूचना लिएर प्रहरी गएको हामीले सुनेका छौं । मलाई उहाँहरुले जानकारी गराउनु भएको छैन’, सिडिओ आचार्यले भने, ‘समन्वय गर्दा राम्रै हुन्थ्यो । सशस्त्र प्रहरी पनि जान्थ्यो गरेको भए राम्रै हुन्थ्यो’

डिएसपी बलमे भने राजश्व अनुसन्धान विभाग पथलैयाबाट समन्वय गरेपछि मात्र छापा मार्न पुगेको बताएका छन् । ‘राजश्व छलेर चाँदी ल्याएर विक्री गररहेको इनफरमेसन अएको थियो । हामीले राजश्व अनुसन्धान विभाग पथलैयालाई संयुक्त रुपमा छापा मार्न आग्रह गरेका थियौं । त्यहाँबाट तपाईंहरुले नै अनुसन्धान गरे हुन्छ भनेपछि हामी पुगेका थियौं’, डिएसपी बमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?