News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले कात्तिक ५ गतेदेखि बंगलादेशमा हुने काभा कप फर मेनमा प्रतिस्पर्धा गर्नेछ।
- नेपाली टोलीमा १२ सदस्य छन् जसमा ८ नयाँ खेलाडी छन् र कप्तान हरिहजुर थापाले नेतृत्व गर्नेछन्।
- मुख्य प्रशिक्षक भरत यादवले कम्तीमा पनि पदक जित्ने लक्ष्य रहेको र तयारी राम्रो भएको बताए।
१ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमान गर्दै बंगलादेशमा यही कात्तिक ५ गतेदेखि सुरु हुने काभा कप फर मेन (काभा पुरुष भलिबल प्रतियोगिता) खेल्दैछ ।
सेन्ट्रल एसिया रिजनको ६ टिमले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा नेपालसहित ६ टिमले सहभागिता जनाउने छन् ।
लामो समयपछिको अन्तर्राष्ट्रिय प्रतियोगिता, फेरिएको नेपाली टोली र कप्तान अनि पदक जित्ने लक्ष्यका साथ नेपाली टोलीले बंगलादेशको यात्रा तय गर्नेछ ।
नेपालले पछिल्लो पटक सन् २०२३ अक्टोबरमा श्रीलंकामा भएको काभा च्यालेन्ज कप खेलेपछि पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।
यसबीचमा अन्तर्राष्ट्रिय सहभागिता नहुँदा तत्कालीन कप्तान मान बहादुर श्रेष्ठ सहित अधिकांश खेलाडी विदेश पलायन हुँदा त्यसको प्रत्यक्ष असर अहिले नेपाली टिममा देखिएको छ ।
हरिहजुर थापाको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोलीमा अहिले अधिकांश नयाँ र युवा खेलाडीको बाहुल्य छ । यसअघि नियमित खेल्दै आएकोमा हरिहजुर र धनबहादुर भट्ट नै नेपालको सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् ।
तयारी र चाडपर्व
नेपाली टोलीले असोजको २ गतेदेखि प्रशिक्षण गरेको थियो । बीचमा महान चाड दशैं पनि परेकोले नेपालले लामो समय तयारी भने गर्न पाएन ।
दशैंको बेला पनि प्रशिक्षणमै रहेका नेपाली टोली तिहारको समयमा प्रतियोगिता खेल्न जाँदैछ ।
छोटो समयमको तयारी भएपनि टिमको मनोबल राम्रो रहेको मुख्य प्रशिक्षक भरत यादवले बताए । ‘तयारी राम्रो नै भएको छ । ब्लक, सर्भिस र रिसिभमा मुख्य ध्यान दिएका छौँ । यो तीन डिपार्टमा राम्रो भयो भने टिम ठिक हुन्छ’ यादवले भने, ‘बलियो पक्ष हेर्दा हाम्रो स्पाइक राम्रो छ । अलिअलि ब्लकमा ध्यान दिएका छौँ ।’
प्रशिक्षक यादवले प्रशिक्षणमा टिम कम्बिनेसनमा ध्यान दिएको र ट्रेनिङ कै जस्तो खेल्न सके राम्रो नतिजा आउने बताए । ‘तिहारको बेलामा खेल्न जाँदैछौं । एकातिर देशको प्रतिष्ठा छ अर्कोतर्फ चाडपर्व छ । राम्रो खेलेर नतिजा ल्याउँछौँ भन्ने विश्वास छ,’ प्रशिक्षक यादवले भने, ‘अहिले देशको राजीनिति देखि हरेक कुरा परिवर्तन भएको छ । यस्तो अवस्थामा पनि भलिबल संघले टिम पठाउँदै छ ।’
कप्तान हरिहजुरले भने तयारी छोटो भएकोले धेरै कुरामा केन्द्रित हुन नपाएको बताए । ‘पहिला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा २ महिना तयारी हुन्थ्यो । अहिले एक महिना मात्र भयो । बीचमा दशैं थियो । अहिले तिहारकै समयमा खेल्न जाँदैछौँ ।’
८ नयाँ खेलाडीले फेरिएको टिम
कप्तान हरिहजुर र धनबहादुरसँगै ६ खेलाडीसँग मात्र यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । हरिहजुर, धनबहादुर, धिरोजकाजी बस्नेत, विनोद चन्द, सफल विक र सरन सामरी क्षेत्रीले मात्र यसअघि राष्ट्रिय टिमबाट खेलेका छन् ।
नेपाली टोलीमा एकै पटक आधा भन्दा बढी खेलाडी नयाँ आएका छन् । त्यसमा गत वर्ष काभा यू-२० पुरुष भलिबलमा रजत पदक जितेको टिमका कप्तान अर्जुन नेपालीसहित चार खेलाडीले सिनियर टिममा स्थान बनाएका छन् ।
काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालीलाई रजत पदक दिलाउने टिमका कप्तान अर्जुनसहित पहल गहतराज, शैलेन्द्र थादव र सुजन सुनारले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।
यस्तै घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रविन नगरकोटी, सन्तोष राई, सुनिल बोहरा र नृपध्वज बस्नेत पनि पहिलो पटक सिनियर टोलीमा समावेश भएका हुन् ।
दुई वर्षअघि नेपाली राष्ट्रिय टिमबाट खेलेका १२ मध्ये सफल विक, विनोद चन्द र धिरोज मात्र अहिले टिममा छन् । कप्तान हरिहजुरसहित धन बहादुर र सरन सामरीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।
यस्तै त्यो बेलाको काभा च्यालेन्ज कप खेलेको टिमका तत्कालीन कप्तान मानबहादुरसँगै विशाल विक, टेक अवस्थी, लोकेन्द्र गिरी, हेमन्त मल्ल, रविन चन्द र सम्राट भण्डारी हाल विदेशमा छन् ।
यस पटक टिममा नयाँ र युवा खेलाडी धेरै हुँदा टिम कम्बिनेसन मिलाउने देखि पहिलो रोजाइमा कसलाई खेलाउने भन्ने चुनौती बन्न सक्छ ।
तर प्रशिक्षक र कप्तानले भने घरेलु भलिबलमा खेलिरहेकै खेलाडीहरू भएकोले त्यति समस्या नआउने विश्वास राखेका छन् ।
‘गत वर्ष यू-१९ काभामा दोस्रो भएका टिमका खेलाडीहरू छन् । सिनियर खेलाडी पनि छन् । त्यसैले टिमको मोरल राम्रो छ,’ प्रशिक्षक यादवले भने, ‘सिनियर खेलाडीहरू हुँदा नयाँलाई मोटिभेट गर्छौं । बाहिरबाट हामीले हौसला दिन्छौँ भने कोर्ट भित्रबाट सेटरले पनि मोटिभेट गर्छ ।’
यस्तै कप्तान हरिहजुर थापाले जुनियर खेलाडीहरू भएपनि सबैले विभागबाट खेलिसकेकोले सिस्टमबारे जानकार रहेको बताए । ‘जुनियर भाइहरूले विभागबाट खेलिसकेका छन् । अन्तर्राष्ट्रिय खेल खेल्दा उनीहरूले सिनियर खेलाडीहरूसँग कत्तिको खुलेर खेल्छ सक्छन् भन्ने हो । सुरुमा म्यानेज गर्न केही गाह्रो होला’ थापाले भने, ‘तर सबै एकनासका खेलाडीहरू छन् । सोचे अनुसार खेल भयो भने राम्रो हुन्छ । स्पाइक, ब्लकहरू राम्रो भयो भने ठिक हुन्छ । अलीकती कमजोरी हुँदा नयाँ खेलाडीलाई सम्हाल्लिन गाह्रो हुन्छ कि भन्ने हो ।’
नयाँ कप्तान
दुई वर्षअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाका कप्तान मान बहादुर श्रेष्ठ २०८० कात्तिकमै सन्यास लिएर अष्ट्रेलिया पलायन भएपछि नेपाली टिम कप्तानविहिन थियो ।
मान ्बहादुर बाहेक अन्य सिनियर खेलाडीहरू पनि खेल नहुँदा विदेश रोज्न बाध्य भए । जसले गर्दा नयाँ कप्तान तोक्नुपर्ने अवस्था आएको हो ।
अहिले नेपालमा भएका मध्ये सिनियर खेलाडीहरूमा हरिहजुर र धन बहादुर भट्ट नै कप्तानको लागि उपयुक्त विकल्पमा थिए । त्यसमा नेपाल भलिबल संघले मुख्य प्रशिक्षक र प्रशिक्षकहरूको सुझाव अनुसार हरिहजुरलाई नै कप्तान चयन गरेको हो ।
उनी दोस्रो पटक नेपालको कप्तान बनेका हुन् । यसअघि २०८० सालमा नेपाल काभा नेसन्स लिग खेल्दा हरिहजुरले नै कप्तानी गरेका थिए । तर त्यसपछि नेपाल भलिबल संघले उनलाई कप्तानबाट हटाएर मान बहादुरलाई कप्तान बनाएको थियो ।
तुर्कमेनिस्तान र श्रीलंका बलियो
काभा कपमा नेपाल आयोजक बंगलादेशसहित श्रीलंका, माल्दिभ्स अफगानिस्तान र तुर्कमेनिस्तानको सहभागिता छ ।
दक्षिण एसियाबाटै ४ टोली सहभागि छन् । ६ टोली मात्र भएकोले सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिताका खेलहरू खेलाइनेछन् । लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । यस्तै लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।
नेपालले यसअघि खेलेको आधारमा तुर्कमेनिस्तान र श्रीलंका बलिया टोलीको रुपमा देखिएका छन् । घरेलु टोली भएकोले बंगलादेश पनि दाबेदार टोलीको रुपमा छ ।
पहिलो पटक नेपालको सिनियर टोलीको मुख्य प्रशिक्षकको रुपमा टिम लिड गरेका भरत यादव उत्साहित छन् । उनले तुर्कमेनिस्तान र श्रीलंका नै सबैभन्दा बलियो टिम रहेको बताए ।
‘तुर्कमेनिस्तान बलियो छ । श्रीलंका पनि राम्रो छ’ प्रशिक्षक यादवले भने, ‘हाम्रो पहिलो खेल नै तुर्कमेनिस्तानसँग भएकोले त्यही अनुसार तयारी गरेका छौं । पहिलो खेल महत्वपूर्ण हुन्छ’ यस्तै बंगलादेश पनि घरेलु टोली भएकोले फाइदा हुने उनले बताए ।
यस प्रतियोगिताका लागि बंगलादेशले जापानी प्रशिक्षक ल्याएर तयारी गरेको छ । यस्तै माल्दिभ्सले थाइल्याण्डमा गएर तयारी गरेको थियो ।
कप्तान हरिहजुर थापाले पनि विगतमा खेलेकै टिमहरू भएकोले सबै टिमको स्तरै उस्तै रहेपनि तुर्कमेनिस्तान र श्रीलंका केही बलियो भएको बताए । ‘अहिले हेर्दा श्रीलंका राम्रो टिम छ । यस्तै तुर्कमेनिस्तानसँग पहिलो म्याच छ । पहिला कीर्गिस्तानमा गएर खेल्दा उनीहरूले इरानी टिमसँग पाँच सेट खेलेको थियो । बंगलादेशले पनि लगातार प्रशिक्षण गरिरहेको छ’ थापाले भने, ‘अफगानिस्तान र माल्दिभ्स हाम्रै लेभलको हो । पहिला पनि उनीहरूसँग खेलिसकेका छौं।’
नेपाली टिममा भने अहिले अनुभवी खेलाडी कम हुँदा फरक रहेको बताए । ‘हाम्रो त्यो बेला अनुभवी खेलाडीहरू प्लस प्वाइन्ट थियो । अहिले जुनियर खेलाडीहरू खेलाउनुपर्नेछ । त्यसैले टिमको प्रदर्शन हेरेपछि थाहा हुन्छ ।’
पदक जित्ने लक्ष्य
फेरिएको र विपक्षी राम्रो भएपनि नेपालले यस पटक कम्तीमा पनि पदक जित्ने लक्ष्य राखेको छ । मुख्य प्रशिक्षक भरत यादवले लक्ष्य कुनै न कुनै पदक जित्ने रहेको बताए ।
‘हाम्रो लक्ष्य सुरुवात देखि नै राम्रो खेल्दै जाने र लिगमा राम्रो गरेर फाइनल पुग्ने हो । कम्तीमा पनि एउटा पदक जित्ने लक्ष्य छ’ प्रशिक्षक यादवले भने ।
यस्तै कप्तान हरिहजुर थापाले कुनै पनि प्रतियोगिता खेल्दा च्याम्पियन नै बन्ने लक्ष्य हुने बताए । ‘लक्ष्य च्याम्पियन हुने नै हुन्छ नै । विपक्षी कस्तो हुन्छ भन्ने हो । अरु टिम पनि पहिला भन्दा कम नै होला जस्तो छ’ कप्तान थापाले भने, ‘सबै टिमको स्तर उस्तै जस्तो छ । टेक्निकल्ली उनीहरू अलि राम्रो होला’
नेपाली टोली : हरिहजुर थापा (कप्तान), धन बहादुर भट्ट, विनोद चन्द, धिरोजकाजी बस्नेत, सरन सामरी क्षेत्री, सफल विक, अर्जुन नेपाली, रविन नगरकोटी, पहल गहतरात, सन्तोष राई, सुनिल बोहरा, सुजन सुनार, नृपध्वज बस्नेत, शैलेन्द्र यादव
प्रतिक्रिया 4