१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछिका सबै छानबिन गर्नुपर्ने भएपनि आफू तयार रहेको बताएका छन् ।
जेनजी आन्दोलपछि शनिबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका अधयक्ष ओलीले ००७ साल, ०४६ साल र ०६२/०६३ साल जतिबेलाको पनि सम्पत्ति छानबिन गर्न आफू तयार रहेको जिकिर गरे ।
‘सात साल पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं । ४६ पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं,’ ओलीले भनेका छन्, ‘६२/६३ पछिको छानबिन गर्ने हो भने पनि गरौं कहिले देखिको छानबिन गर्ने सम्पत्ति विवरण छानबिन गरौं ।’
उनले देशभरका नेता कार्यकर्तालाई सरकार र प्रतिनिधिसभा विघटनविरुद्ध लाग्न तयारीमा जुट्न समेत आग्रह गरेका छन् ।
‘दिनै पिछे दिनै पिछे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने? कसरी झुटा मुद्दा लगाउने? भनेर बैठक बसेर बन्छ देश । केमा मुद्दा लाउनु हुन्छ र ? केमा ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा ? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने ? कि अरु कुनै आधार छ कारण छ ? फेरी हामीले भनेका छौं हाम्रो पार्टीले भनेको छ,’ उनले भनेका छन् ।
समाजमा बेथिति बढ्यो, २४ गतेको घटना घट्यो
ओलीले चाडपर्वको प्रसंग उल्लेख गर्दै सामाजिक मूल्य मान्यता र मर्यादा पालना हुन छाडेको गुनासो गरे ।
‘समाज बेथितिमा गयो भने, समाजले सामाजिक मूल्य मान्यता र उचित मर्यादाहरूको पालना गर्न छोड्यो भने के हुन्छ ?,’ उनले भने, ‘२४ गतेको घटना जस्तै देशमा अराजकता हुँदो रहेछ। परिस्थिति काबुभन्दा बाहिर जाँदो रहेछ ।’
उनले नेपालमा सामाजिक मूल्य मान्यतामाथि प्रहार हुन थालेको लामै समय भइसकेको उल्लेख गर्दै यसलाई संस्कृति माथिको हमलाको संज्ञा दिए ।
‘तिमी भन्ने, अश्लील गालीगलौज गरेर मानमर्दन गर्ने, यो परम्परा चल्दै गयो । यसले मानवीय एकता, मानवीय संवेदना जस्ता कुराहरू रहन छोड्दै गए,’ उनले भने ।
त्यसैले समाजमा अमानवीय क्रियाकलाप गर्न पनि नहच्किने यस्ता (२४ भदौको) प्रवृत्तिहरू देखिएको उनको आरोप छ ।
चाडपर्वको योगदान सामाजिक सुप्रबन्ध, एकता र सद्भाव कायम गर्न असाधारण योगदान रहेको उल्लेख गर्दै ओलीले भने, ‘विध्वंस केही घण्टामा गर्न सकिन्छ सकिँदो रहेछ ।’
नेपोबेबीबारे ओली– बच्चाको के दोष ?
ओलीले नातावादविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको नेपो बेबी ट्रेन्डको पनि आलोचना गरे ।
उनले भने, ‘के बेबी अरे ? नेपोबेबी । अब त्यो बच्चाको के दोष ? बाउ आमाले प्यारो गरे होलान्, माया गरे होलान्, म्वाइँ खाए होलान्, काखा लिए होलान्, कोक्रामा राखेर हल्लाए होलान्, झुलाए होलान्, सरसफाई गरिदिए होला । बुबु माम खुवाइदिए होला ।’
उनले थपे, ‘सधै थप्पड हानेर रुवाई रहनु पर्थ्यो कि के गर्नु पर्थ्यो त्यसलाई ? त्यो त होइन होला । बाउ आमाले माया गरेर हुर्काए– नेपो बेबी !’

नयाँ पुस्ताले लागि राम्रो स्कुलमा पढ्ने जति सबै अपराधी जस्तो व्यवहार गरेको उनको आरोप छ । ‘बाउ आमाले माया माया गरेर राम्रै स्कुलमा पढाए । अनि यो राम्रो स्कुलमा पढ्ने जति सबै अपराधी हुन्,’ उनले भने, ‘यो मान्छेहरूको भिड मात्रै हो, यो सभ्य समाज हो कि यो असभ्य जमात भिड हो ? यो पोलिटिक्स हो कि यो क्रोध हो, आवेश हो, घृणाको राजनीति हो ?’
उनले नेपोबेबी भनेर कलिलो बाल मनोविज्ञानमाथि भयानक आक्रमण भएको टिप्पणी गरे ।
मि टू अभियानको पनि आलोचना
ओलीले यसअघि चलेको मि टू अभियानको पनि आलोचना गरे ।
‘एकपल्ट चलेको थियो, के रे ? मि टू भन्ने एउटा चलेको थियो । कहाँ कल्ले मि टु के चलाई दियो, यहाँका भद्र महिलाहरू पनि मि टू मि टू मि टू लेख्या छन् । यस्ता कुरा किन सिक्ने ?’ उनले भने ।
पूर्वप्रधानमन्त्री ओलीले नेपो बेबी र मिटु अभियानलाई हावा र नचाहिने कुरा भन्दै यस्ता कुरा सिक्न नहुने टिप्पणी गरे । ‘यो कुनै सभ्यता पनि होइन, केही पनि होइन,’ उनले भने ।
‘जेनजी विद्रोहले देश आतंकमा छ’
ओलीले जेनजी विद्रोहको नाममा आगलागी र भयानक क्षति भएको र देश नै ट्रमाको स्थितिमा रहेको बताए ।
आफ्नो गुन्डुको घरको नक्सा र लोकेसन देखाएर आक्रमण गरेको एआईबाट देखाएर घाइते र रगतपक्ष बनाएको उनले बताए ।
‘यो सबै के हो भने प्रिपरेसन हो,’ उनले भने, ‘अब पनि सरकारले नरोक्ने ? मैले कसैबाट सुनेको थिएँ, सरकार तपाईसँग बहुतै रिसाएको छ । शान्तिको कुरा गरेको सुनेर रिस उठ्यो होला । यसरी आगो लाउन हुँदैनथ्यो भनेको सुनेर रिस उठ्यो होला । तोडफोड गर्नु हुँदैनथ्यो भनेको सुनेर रिस उठ्यो होला। सामान लुट्दै चोर्दै भाग्दै गर्नु हुँदैनथ्यो भन्ने सुनेर रिस उठ्यो कि ? अनि हामीले के गर्ने छौं ? समाज शान्तिपूर्ण हुनुपर्दछ ।’
‘एमालेले देशमा शान्ति ल्याएरै छाड्छ’
साथै, ओलीले एमालेले शान्ति र सुशासन ल्याएरै छाड्ने बताएका छन् । वर्तमान सरकारप्रति आक्रामक देखिएका ओलीले समाजलाई अस्वस्थता फैलाउ नपाइने बताए ।
‘माजमा शान्ति हुनुपर्छ भन्यो भने सरकारलाई रिस उठ्छ। झोक सक्छ । कस्तो छ त ब्यवहार ? अचम्म लाग्छ । सरकारलाई रिस उठोस् कि नउठोस् ? मैले भने नेकपा एमाले पनि यस देशमा छ र शान्ति स्थापना गरि छोड्छ देशमा सुशासन स्थापना गरि छोड्छ भ्रष्टाचार नियन्त्रण गरि छोड्छ,’ ओलीले भनेका छन् ।

‘संसद् विघटनको अधिकार कसले दियो ?’
ओलीले जनमतबाट आएको संसद्लाई विघटन गरिएकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘निर्वाचन आयोगले दबाबमा होइन कानुन सम्बत आवधिक ढंगले तोके अनुसार भएको निर्वाचन बाट कानुनी सबै प्रक्रिया पुरा गरेर जनताको अभिमत बाट आएको जनप्रतिनिधि हरुको संस्था सर्वोच्च संस्था संसद विघटन गर्ने अधिकार कल्ले दियो ?’
उनले एमाले संसद् विघटनको विरुद्धमा लाग्ने पनि प्रष्ट पारेका छन् ।
‘जनप्रतिनिधि सर्वोच्च संस्था विघटन गरेर एउटा राजनीतिक रिक्तता संवैधानिक रिक्तता कानुनी रिक्तता जनप्रतिनिधि सर्वोच्च संस्थाको रिक्तता निर्णायक संस्थाको रिक्तताको स्थितिमा देशलाई पुर्याएको छ । यो प्रतिगमन हो। त्यसकारण यस प्रतिगमनलाई सच्याउनु पर्दछ र प्रतिनिधि सभाको अभिलम्ब पुन:स्थापना हुनुपर्दछ,’ ओलीले भनेका छन् ।
‘चुनाव हुँदैन’
हिजोमात्रै पार्टी बैठकबाटै निर्वाचनमा सहभागी नहुने घोषणा गरेका ओलीले आज पनि चुनावबारे आफ्नो धारणा राखे ।
वर्तमान सरकारको कुनै जग नभएको बताएका ओलीले फागुनमा निर्वाचन गर्ने भनेर सरकारले ढाँटेको हो ? भन्दै प्रश्न गरे ।
‘हदबन्दी गर्ने चुनावमा जान नदिने दलाललाई चुनावमा भाग लिन नदिने अनि फागुन २१ मा चुनाव गर्ने, पोलिटिकल पार्टीहरुसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने, फागुन २१ मा चुनाव हुन्छ भन्छ,’ ओलीले भने, ‘वा यो तपाईंहरुको सोचै त्यस्तै भएको हो सरकार ? कि दुनियालाई ढाँटेको हो त बा ? सोचै त्यस्तो भएको हो भने छोड्दिनुस् यो काम लाग्दैन। ढाँटेको हो भने जनता सचेत छ । काम लाग्दैन । यो चुनाव हुने वाला छैन ।’
प्रतिक्रिया 4