
२ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ ।
पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ ।
तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
यस्तै कात्तिक ४ गते देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कात्तिक ५ गते देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
सबै प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया 4