+
+
Shares

डोनबास क्षेत्र रूसलाई दिएर युद्ध अन्त्य गर्न जेलेन्स्कीलाई ट्रम्पको दबाब

रिपोर्टअनुसार अमेरिकी विशेष दूत स्टिभ विटकोफले युक्रेनी टोलीलाई ‘भूमि साट्ने सम्झौतामा’ सहमत हुन दबाब दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले डोनबास क्षेत्र छाडेर रूससँगको युद्ध अन्त्य गर्नुपर्ने बताएका छन्।
  • ट्रम्पले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई डोनबास क्षेत्र छाड्न दबाब दिएका थिए र वार्ता जारी राख्न सुझाएका छन्।
  • जेलेन्स्कीले आतंककारीलाई कुनै इनाम नदिने र साझेदारहरूबाट पनि यही सिद्धान्त कायम रहने अपेक्षा गरेको बताएका छन्।

३ कात्तिक, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको युद्ध अन्त्य गर्न युक्रेनले डोनबास क्षेत्र छाड्नु पर्ने बताएका छन् ।

रूसी सेनाले नियन्त्रण कायम गरिसकेको डोनबास क्षेत्र छाड्न युक्रेन तयार हुनुपर्ने भन्दै राष्ट्रपति ट्रम्पले समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिएका हुन् ।

शुक्रबार जेलेन्स्कीसँग ह्वाइट हाउसमा भएको भेटमा ट्रम्पले डोनबास क्षेत्र छाड्न दबाब दिएका गार्जिएनले उल्लेख गरेको छ ।

आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा समेत ट्रम्पले सोही कुरा दोहार्‍याएका छन् ।

उनले भने, ‘त्यो क्षेत्र अहिले जसरी विभाजित छ, त्यही अवस्थामै रहोस्। अहिले नै वार्ता गर्न नसके पनि पछि केही कुरामा सहमति गर्न सकिन्छ ।’

उनले थप भनेका छन्, ‘दुवै पक्षले अहिलेको मोर्चा रेखामै रोकुन्, घर फर्कुन्, लडाइँ र मानिस मर्न रोकुन् ।’

रोयटर्सका अनुसार ट्रम्प र जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भएको भेटसमेत तनावपूर्ण बनेको थियो ।

यसअघि ट्रम्पले गत सेप्टेम्बरमा युक्रेनले आफ्नो भूमि फिर्ता लिन सक्ने र रूसीभूमि भित्र पनि अगाडि बढ्न सक्ने अभिव्यक्ति दिएका थिए ।

जेलेन्स्की अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटका लागि शुक्रबार वाशिङ्टन पुगेका थिए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको अलास्का शिखर वार्ता असफल भएपछि ट्रम्पको असन्तुष्टिलाई आफ्नो पक्षमा प्रयोग गर्ने प्रयास गरेका थिए । यसबीच ट्रम्पले युद्ध रोक्न तयार नभए रूसको राजधानी मस्कोसम्म मार हान्न सक्ने टोमहाक मिसाइल युक्रेनलाई दिने चेतावनी दिएका थिए । तर, जेलेन्स्की अमेरिका पुगेपछि भने ट्रम्पले घातक टोमहाक मिसाइल युक्रेनलाई दिन अस्वीकार गरे ।

पुटिनसँग बिहीबार भएको २ घण्टा लामो टेलिफोन वार्तापछि ट्रम्पले शान्ति सम्झौताको सम्भावना बढेको भन्दै उत्साहित देखिएका थिए ।

ट्रम्पले जेलेन्स्कीसँगको भेटपछि सामाजिक सञ्जालमा लेखे, ‘वार्ता निकै रोचक र शालीन थियो, तर मैले उनलाई पनि र राष्ट्रपति पुटिनलाई पनि भनेँ– अब मानिसको मृत्यु रोकौं र सम्झौता गरौं ।’

रूसलाई भूमि सुम्पिने दबाब

रोटर्सका अनुसार उक्त भेटमा ट्रम्पले जेलेन्स्कीलाई रूसलाई केही भूभाग त्याग्न दबाब दिएका थिए ।स्रोतका अनुसार उक्त बैठक तनावपूर्ण बनेपछि युक्रेनी टोली असन्तुष्ट भएर बाहिरिएको थियो ।

ती स्रोतले वाशिङ्टन पोस्टलाई बताएअनुसार पुटिनले बिहीबार ट्रम्पसँगको फोन वार्तामा युक्रेनी भूमि डोनेत्स्क र लुहान्स्क क्षेत्र रूसलाई दिने सर्तमा रूसले जापोरिझझिया र खेरसोनका साना भागहरूबाट सेना फिर्ता गर्ने प्रस्ताव गरेका थिए ।

रिपोर्टअनुसार अमेरिकी विशेष दूत स्टिभ विटकोफले युक्रेनी टोलीलाई ‘भूमि साट्ने सम्झौतामा’ सहमत हुन दबाब दिएका थिए ।

पुटिनले केही त लिन्छन्– ट्रम्प

फक्स न्युजसँगको अन्तर्वार्तामा ‘के पुटिन युक्रेनको भूमि नलिई युद्ध अन्त्य गर्न तयार हुन्छन् ?’ भन्ने प्रश्नको जवाफमा ट्रम्पले भने, ’खैर, उनी केही त लिन्छन् । उनी लडेका छन् र अहिले उनको नियन्त्रणमा केही भूमि छ ।’

उनले थपे, ‘हामी मात्र त्यस्तो देश हौं जसले युद्ध जित्छ र फेरि त्यहाँबाट बाहिरिन्छ ।’

फक्स न्यूजसँगको अन्तर्वार्ता बिहीबार नै रेकर्ड भएको भएपनि टेलिभिजनले आइतबारमात्र प्रसारण गरेको थियो । बिहीबार पुटिनसँग टेलिफोन वार्ता गरेर ट्रम्पले शुक्रबार जेलेन्स्कीलाई भेटेका थिए ।

उक्त दिन साँझ फ्लोरिडाबाट वाशिङ्टन फर्कंदै गर्दा उनले दोहोर्‍याएका थिए, ‘लडाइँ अहिलेको रेखामा रोक्नुपर्छ । बाँकी कुरा वार्तामा तय गर्न गाह्रो हुन्छ, धेरै विकल्पहरू छन् ।’

डोनबासको सम्पूर्ण क्षेत्र रूसलाई सुम्पनलाई जेलेन्स्कीलाई भनिएको हो ? भन्ने प्रश्नमा ट्रम्पले भने, ‘होइन ।’

जेलेन्स्कीले भने युरोपेली र अमेरिकी सहयोगीहरूसँग निश्चित कदम चाल्ने समय आएको’ बताएका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युक्रेनले आतंककारीहरूलाई कहिल्यै कुनै इनाम दिँदैन, र हामी हाम्रा साझेदारहरूबाट पनि यही सिद्धान्त कायम रहने अपेक्षा गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?