News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश क्रिकेट संघ र विराटनगर किङ्सले आयोजना गरेको ड्रिम टु प्ले टी२० प्रतियोगितामा मोरङले उपाधि जितेको छ।
- प्रतियोगितामा मोरङका प्रेम कुमार कामत बेस्ट बलर र सुनसरीका आकाश सर्राफ उत्कृष्ट ब्याटर घोषित भएका छन्।
- प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू विराटनगर किङ्सको यू-२३ डेभलपमेन्ट स्क्वाडमा समावेश भएर अभ्यास गर्नेछन्।
४ कात्तिक, विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको ड्रिम टु प्ले टी२० प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।
पाँच टोली सहभागि प्रतियोगितामा लिग चरणका खेलहरु सकिएपछि अंकतालिकाको शीर्ष स्थानमा रहेर मोरङले उपाधि जितेको हो ।
सिंगल राउण्ड रोबिन लिग फर्म्याटमा खेलाइएको प्रतियोगितामा मोरङले आफ्ना सबै चार खेलमा शतप्रतिशत जितसहित ८ अंक जोडेको थियो । त्यस्तै झापा, सुनसरी र ईलामले क्रमश: ६, ४ र २ दुई अंक जोड्दा चारै खेल हारेको उदयपुर भने अंकविहिन हुँदै तालिकाको पुछारमा रह्यो ।
प्रतियोगितामा कुल ११ विकेट लिएका मोरङका प्रेम कुमार कामत बेस्ट बलर घोषित भए । प्रतियोगिताभर १६ ओभर बलिंग गरेका कामतले २.५० को इकोनोमीमा २ मेडन सहित जम्मा ४० रन खर्चिएका थिए ।
त्यस्तै सुनसरीका आकाश सर्राफ प्रतियोगिताकै उत्कृष्ट ब्याटर घोषित भए । उनले १२१.५ को स्ट्राइक रेटमा ४ छक्का र १३ चौका सहित कुल १३० रन बनाएका थिए ।
प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने इलामका लव कामतले पाए । उनले कुल १६ ओभरको बलिंग स्पेलमा ४० रन खर्चिंदै ७ विकेट लिएका थिए जसमा ६५.४ को स्ट्राइक रेट र २.५० को इकोनोमी रहेको थियो ।
कुल १० खेल भएको प्रतियोगितामा ७२ जना खेलाडीहरू सहभागी भएका थिए। प्रतियोगितामा कुल १ हजार ३९५ रन बनेका थिए भने जम्मा १६० विकेट खसेका थिए । यस्तै २२ ओभर मेडन जाँदा ४६ छक्का र ९९ चौका बर्सिएका थिए भने दुईवटा अर्धशतक बनेका थिए ।
गत असोज २४ गतेबाट सुरु भएको प्रतियोगिताको अन्तिम दिन मोरङले ईलामलाई एक विकेटले तथा झापले सुनसरीलाई ३ विकेटले पराजित गरेको थियो ।
यस क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम गरी ५ जिल्लाका अण्डर-२३ टिमहरूले एक आपसमा प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आयोजकले यस मार्फत् उदयीमान खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने र आफ्नो क्रिकेट सपनालाई साकार बनाउने प्लेटफर्म मिलेको बताएको छ ।
प्रतियोगितामा उच्च प्रदर्शन गरेका युवा खेलाडीहरू अब बिराटनगर किङ्सको डेभलपमेन्ट स्क्वाडमा बसेर टिमसँगै अभ्यासमा सहभागी हुनेछन् । यसका साथै उनीहरूले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडीहरूसँग अभ्यास गर्दै आफ्नो खेल कौशल विकास गर्ने र व्यवसायिक खेल जीवन अगाडी बढाउने विभिन्न अवसरहरू प्राप्त गर्ने छन् ।
डेभलपमेन्ट स्क्वाडमा छानिएका मध्ये एकजना खेलाडीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सको मुख्य स्क्वाडमा स्थान बनाउने विशेष अवसर प्राप्त गर्ने छन् ।
विराटनगर किङ्सका टिम निर्देशक दिपेन्द्र चौधरीले नेपाली क्रिकेट संघ (क्यान)को उमेर समूहको सेटअपमा यू-१६, यू-१९ टिम रहेकोमा विराटनगर किङ्सले यू२३ टिम पनि बनाएर अघि बढाउन लागेको बताए । ‘विराटनगर किंग्सले गरेको यो यू२३ प्रतियोगिताले कोशी प्रदेशको ग्रासरुट क्रिकेट विकासमा लागि महत्वपूर्ण भूमिका खेल्नेछ’ उनले भने ।
यस्तै विराटनगर किङ्सका म्यानेजर विजय कुमार धितालका अनुसार कोशी प्रदेशका यू-२३ डेभलपमेन्ट स्क्वासडले एक्सपोजरका लागि विभिन्न खेलहरुमा सहभागिता जनाउनेछ ।
प्रतिक्रिया 4