News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले अधिक तरलता नियन्त्रण गर्न आइतबार ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
- वित्तीय प्रणालीमा कात्तिक १ गतेसम्म एक खर्ब ८ अर्ब रुपैयाँ तरलता रहेको र बैंक तथा वित्तीय संस्थाको करिब साढे ७ खर्ब रुपैयाँ केन्द्रीय बैंकमा निक्षेप रहेको छ।
- केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण ४२ दिन अवधिका लागि जारी गर्ने र ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत कायम गर्ने जनाएको छ।
९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ खिच्ने भएको छ । प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले आइतबार नै उक्त रकम खिच्ने भएको हो ।
दशैं, तिहार तथा छठ पर्वको समयमा विदेशबाट आउने रेमिट्यान्स पनि तुलनात्मक रुपमा धेरै हुन्छ । त्यसले गर्दा वित्तीय प्रणालीमा निक्षेप थपिन्छ । साथै जेनजी आन्दोलन पछि त्रसित उद्योगी व्यवसायीले कर्जा लिन नखोज्दा तरलता अधिक हुनमा मद्दत गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक १ गते सम्ममा वित्तीय प्रणालीमा एक खर्ब ८ अर्ब रुपैयाँ बराबरको तरलता छ । साथै असोज ३० गतेसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको करिब साढे ७ खर्ब रुपैयाँ केन्द्रीय बैंकमा निक्षेप रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत् पैसा केन्द्रीय बैंकमा राख्दै आएका छन् । स्थायी निक्षेप मार्फत राखिएको पैसा अधिकतम ३ दिन र निक्षेप संकलन मार्फत राखिएको रकम ३ महिना अवधिसम्मको रहेको केन्द्रीय बैंकले जनाएको छ ।
आइतबार पनि केन्द्रीय बैंकले ४२ दिन अवधिका लागि ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता ब्याजदर तोकेर बोलकबोल गर्नु पर्नेछ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत कायम हुने गरी थोरै ब्याजदर कबोल गर्ने संस्थाको निक्षेप ४२ दिनका लागि लिनेछ ।
प्रतिक्रिया 4