News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जेरी अन टप'ले १० करोड कमाउने सम्भावना राख्दै घरेलु फिल्म बजारमा नयाँ उत्साह ल्याएको छ।
- यो फिल्ममा पर्वतीय सौन्दर्य, प्रेम र जेनजी पुस्ताको मनोविज्ञान समेटिएको छ।
- 'जेरी अन टप'ले हिंसा र जटिलता नभएको सरल कथाले दर्शकलाई हलसम्म फर्काउन सफल भएको छ।
काठमाडौं । ‘जेरी अन टप’ले घरेलु फिल्मलाई चलायमान बनाएको छ । कमाइको औपचारिक हिसाब आइसकेको त छैन (आइतबार दिउँसो २ बजेसम्म), यद्यपी यसले १० करोडको आँकडालाई निकट भविष्यमै पार गर्नसक्छ ।
यदि यसो भयो भने, अभिनेता अनमोल केसीको करिअरमा यो पर्वतीय-रोमान्टिक कथा १० करोड कमाउने पहिलो फिल्म बन्नसक्छ । यसतर्फ बक्सअफिसका सूचक सकारात्मक छन् ।
दशैंका फिल्मले दर्शकलाई हलसम्म फर्काउन नसकेको बेला, ‘जेरी अन टप’ले त्यो साहस देखाएको छ । फिल्म ‘सुपरहिट’ बन्ने बाटोतर्फ उन्मुख छ । कुनै फिल्म हिट हुनु पछाडि त्यसको अंकगणित मात्र जिम्मेवार छैन, दर्शक कस्तो कथा हेर्न रुचाउँछन् भन्ने मुड पनि बुझ्नु हो ।
‘जेरी अन टप’ किन व्यवसायिक सफल भयो भन्ने कुराबारे यहाँ सैद्धान्तिक चर्चा गरिन्छ ।
यो फिल्मको मुख्य पाटो यसमा लुकेको ‘सौन्दर्य’ तत्व हो । यसभित्र भूगोलको सौन्दर्य छ । सुन्दर मानिस छन् । दृश्यको सौन्दर्य छ । संगीत सुन्दर छ । छायांकन सुन्दर छ ।
त्यो चम्किलो सौन्दर्यसँग उज्यालोको पर्व ‘तिहार’ कनेक्ट हुनसक्यो ।
यसभित्र प्रेमको भाव छ । कथाको केन्द्रमा सम्बन्ध निहित छ । त्रिकोणात्मक प्रेम एकातिर छ । अर्कोतिर बाउसँगको द्वन्द्वात्मक प्रेम ।

जेनजी आन्दोलन र उथलपुथलपछि दर्शक हलमा फर्किएका छन् । यो समयमा दर्शक हिंसा, मारकाटका कथा समेटिएका फिल्मभन्दा हिंसा र जटिलतामुक्त भएका कथा हेर्न र सुन्न रुचाउँछन् ।
दर्शक हिंसाको मनोविज्ञानबाट मुक्त भएर ‘इस्केप्टिक’ फिल्म हेर्दै शान्त हुन चाहेको रुपमा यसलाई बुझ्न सकिन्छ । यसको अर्थ, मानिस हिंसा र जटिलताबाट हुन चाहन्छन् भन्ने हो ।
‘जेरी अन टप’ सरल छ । यसभित्र जटिलता छैन । आँखालाई बिझाउँदैन । फिल्म सामान्य र सरल छ ।
यसको कथाको केन्द्रमा जेनजी पुस्ताको मनोविज्ञान छ । अनमोल केसीले पात्रमार्फत त्यो पुस्ताको प्रतिनिधित्व गरेका छन् । जुन पुस्ता आफूलाई देख्न चाहन्छ, त्यसको कथा र चरित्र चित्रण यसभित्र छ ।
फिल्मभित्र जेनजी पुस्ताको अठोट छ । अघिल्लो पुस्ताले हासिल गर्न नसकेको उपलब्धि यो पुस्ताले हासिल गर्यो । फिल्ममा जेनजी पुस्ताको सशक्तता छ । जेनजी फ्याक्टरले काम गरेको बुझ्न सकिन्छ ।
नेपालका लागि सगरमाथा र हिउँ सँधै सौन्दर्यको प्रतिनिधित्व गर्ने तत्व हुन् । एभरेस्टको मनोविज्ञान त सौन्दर्यको मनोविज्ञान हो । त्यो भन्दा पनि चुचुरोमा पुग्ने कुरासँग धेरैको अठोट जोडिन्छ ।
हामीलाई हिउँ र हिमालसँग अपनत्व छ । हिमाल फ्याक्टर पनि एउटा पृष्ठभूमि हो बुझ्न सकिन्छ । अघिपछि मूलधारको नेपाली फिल्ममा नदेखिने शेर्पा र उच्च हिमाली क्षेत्रको समुदाय अहिले ‘जेरी अन टप’मा दर्शक बनेर पुगेका छन् ।
किनभने, सगरमाथासँग ‘ग्लोबल अपिलिङ’ जोडिएर आउँछ ।
यी त भए सैद्धान्तिक विवेचना । यसबाहेक टिजर–ट्रेलर–गीत जस्ता सामग्रीले यो फिल्मको प्रवर्धनमा भूमिका खेलेका छन् ।
प्रतिक्रिया 4