+
+
Shares

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरुले हाल्दैछन् पालुवा

आन्दोलनकै क्रममा भएको आगजनी र तोडफोडका कारण बिद्रुप बनेको सिंहदरबारमा विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयले सरसफाइपछि अहिले उक्त दिनको घटनाले झस्काउने खालको अवस्थाबाट क्रमशः सहज अवस्थमा उन्मुख भएको देखिएको छ।

रासस रासस
२०८२ कात्तिक ९ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा लागेको आगलागी र तोडफोडबाट क्षतिग्रस्त भवन र संरचनाको क्रमिक सरसफाइ भइरहेको छ।
  • सरकारले क्षतिको विवरण सङ्कलन गर्दै पुनःनिर्माणका लागि निर्णय गर्ने तयारी गरिरहेको छ भने जाँचबुझ आयोगले जनधनको क्षतिको छानबिन थालेको छ।
  • सिंहदरबार परिसरमा आगलागीबाट प्रभावित रुखबिरुवा र फोहर सरसफाइ लगभग सकिएको र मन्त्रालयका भवनहरू अस्थायी कार्यालयबाट सञ्चालन भइरहेका छन्।

९ कात्तिक, काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरुको क्रमिकरुपमा सरसफाइ भइरहेको छ। परिसरका जलेका रुखहरुले पनि पालुवा हाल्न थालेससँगै सिंहदरबारको वातावरण क्रमशः सामान्यीकरण हुँदै गएको छ ।

आन्दोलनकै क्रममा भएको आगजनी र तोडफोडका कारण बिद्रुप बनेको सिंहदरबारमा विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयले सरसफाइपछि अहिले उक्त दिनको घटनाले झस्काउने खालको अवस्थाबाट क्रमशः सहज अवस्थमा उन्मुख भएको देखिएको छ।

नेपाल सरकारको २०७५ पुस १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट बुटिक सिंहदरबारमा रुपमा रुपान्तरित सिंहदरबार परिसरमा भदौ २४ गतेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि त्यहाँ सरसफाइको क्रम जारी छ।

सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले आगलागी र तोडफोडबाट भएका क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट माग गरिएको र अहिलेसम्म प्राप्त नभएको बताउँछन् । उनले क्षतिको विवरण आएपछि पुनः निर्माणलगायतका विषयमा सरकारले निर्णय गर्ने जानकारी दिए ।

आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश संरचना र पार्किङमा रहेका सवारीसाधनमा एकैसाथ आगलागी भएको थियो । आगलागीबाट कार्यालय परिसरका रुख बिरुवामा डढ्न पुगेकामा अहिले क्रमशः पालुवा पलाउन थालेको देखिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले सिंहदरबारभित्र कति रुख बिरुवा छन् भन्ने यकिन नभए पनि आगलागीबाट प्रभावित रुखबिरुवा र भूइँको फोहर सरसफाइको क्रम लगभग सकिएको बताए ।

आन्दोलनका क्रममा सिंहदरबारमा रहेका सरकारी र निजी गरी एक हजारभन्दा सवारीसाधन जलेका थिए । ती सवारी साधनलाई नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र (सङ्घीय संसद् भवन) मा लगेर राखिएको छ । यद्यपि, त्यो भवनमा पनि आन्दोलनबाट पूर्णतः ध्वस्त भएको छ ।

सिंहदरबारस्थित सङ्घीय निर्माणाधीन संसद् भवनमा शनिबार सहरी विकासमन्त्री कुलमान घिसिङले निरीक्षण गरी आसपासमा देखिएको फोहरलाई थप सरसफाइ गर्न निर्देशन दिनुभएको थियो । सवारीसाधन थलेका भूइँमा अहिले पनि काला दाग देख्न सकिन्छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पालले छापेर राखिएको छ।

सरकारले आन्दोलनका क्रममा भएका भौतिक क्षतिको विवरण सङ्कलन गर्दैछ भने आन्दोलनमा भएका जनधनको क्षतिको छानबिनका लागि गठित जाँचबुझ आयोगले कार्यारम्भ गरिसकेको छ ।

पुरातात्विक महत्व राख्ने सिंहदरबारलाई हरियाली बनाउने र पुरातात्विक महत्वका सामग्रीले सजिसजाउ गर्ने सरकारको २०७६ सालदेखिको पहलको एउटा चक्र पूरा भएका बेला आन्दोलन र आगलागीबाट क्षति पुगेपछि सिंहदरबारकोस्वरुप विरुप हुन पुगेको छ ।

सरकारले आगलागी भएका मन्त्रालयका भवनको बाहिरी स्वरुपमा रङरोगन गरिरहेको छ भने अस्थायीरुपमा विभिन्न मन्त्रालयका काम नजलेका भवनबाट सञ्चालन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृह मन्त्रालयको पुरानो भवनस्थलको नयाँ कार्यालयबाट सञ्चालन भएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगैको भवनबाट गृह मन्त्रालय सञ्चालित छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशरमहलस्थित भवनबाट सञ्चालित छ।

नेपालको कूल क्षेत्रफलको करिब ४६ दशमलव ८ प्रतिशत भूभाग वन जङ्लले ढाकेको छ। वन मन्त्रालयले हरित विकासको अवधारणाअनुरुप मानवीय क्रियाकलाप र विकास प्रकियालाई वातावरणमैत्री बनाउदै जलवायु परिवर्तनको प्रतिकूल असरसँग अनुकुलित हुने दायित्व सिर्जना गरी मुलुकको समिष्टगत दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्दै वातावरण संरक्षण गर्न पहल गर्दै आएको छ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय थालिएको थियो।

विसं २०३० मा सिंहदरबारमा भएको ठूलो आगलागीबाट पनि त्यहाँ क्षति पुगेको थियो ।सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको छ । यसको भित्ताहरूमा शिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?