+

कसरी हुन्छ क्यान्सर ? यी हुन् प्रमुख कारण

२०८२ कात्तिक  १६ गते १४:३४ २०८२ कात्तिक १६ गते १४:३४

धेरैजसो मानिसहरू मोटाइलाई साधारण समस्या ठान्छन्, तर मोटोपन आफैँमा एउटा ठूलो रोग हो ।

कसरी हुन्छ क्यान्सर ?  यी हुन् प्रमुख कारण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा हरेक वर्ष करिब १५ हजारले क्यान्सरका कारण ज्यान गुमाउँछन् र ४० हजार नयाँ बिरामी थपिन्छन्।
  • धूम्रपान र मदिरा सेवनले डीएनएमा म्युटेशन गराएर क्यान्सरको जोखिम बढाउँछ, डा. विवेक आचार्यले बताए।
  • मोटोपन, सूर्यको हानिकारक किरण, निष्क्रियता र अस्वस्थ खानपानले पनि क्यान्सर हुने सम्भावना बढाउँछन्।

काठमाडौं । क्यान्सर आफैंमा भयावह रोग हो । प्रायः हामी भन्छौं, ‘क्यान्सर लागेपछि मृत्यु नजिकिन्छ ।’  तर कतिपय अध्ययन, नतिजाहरूले देखाउँछन्- क्यान्सरलाई जित्न सकिन्छ । हाम्रो समाजमा क्यान्सरको सफल उपचारपछि सामान्य जीवन विताइरहेका मानिसहरू पनि छन् ।

क्यान्सरको उपचार त्यसबेला सम्भव हुन्छ, जब यसलाई छिटो पहिचान गरी उपचार सुरु गरिन्छ । लक्षण देखा पर्नेबित्तिकै उपचार गरिएमा, बिरामी सामान्य जीवनमा फर्कन सक्छन् ।

त्यो मात्र होइन, क्यान्सर हुने कारण पत्ता नलाग्दा र उपचारको मेसो नपाउँदा क्यान्सरका बिरामी बढ्दो मात्रामा देखिएका छन् ।  नतिजा स्वरूप, हरेक वर्ष करिब १५ हजारले नेपालमा क्यान्सरका कारण ज्यान गुमाउँछन् र करिब ४० हजार नयाँ क्यान्सरका रोगी थपिन्छन् ।

क्यान्सर हुने प्रमुख कारण के हुन् ?

धूम्रपान र रक्सी

चिकित्सकहरू भन्छन्, ‘धूम्रपान र मदिरा तथा अस्वस्थ खानपानले नै क्यान्सरको मुखमा धकेल्छ । क्यान्सरको कोष वृद्धि गराउने प्रमुख कारणमा यिनीहरू पर्छन् । अध्ययनले पनि सो कुराको पुष्टि गर्छ । अमेरिकन क्यान्सर सोसाइटीले प्रकाशित गरेको अध्ययन अनुसार ४२ प्रतिशत क्यान्सरको केसमा १९ प्रतिशत धूम्रपान र १८ प्रतिशत अरू मिश्रित कारणमा पोषणको कमी, मोटोपना, शारीरिक निष्क्रियता पर्छ।

जसमध्ये ५.८ प्रतिशत क्यान्सर प्रत्यक्षरूपमा रक्सी खानेहरूमा देखियो । यो अध्ययनले स्पष्ट पार्छ- विश्वभर क्यान्सर गराउने प्रमुख तत्व धूम्रपान नै हो । त्यससँगै लिइने मदिरा । अस्पतालमा क्यान्सर पुष्टि हुने अधिकांशको इतिहास सोध्दा धूम्रपानको लत रहेको पाइने वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले जानकारी दिए ।

अब प्रश्न उठ्छ, धूम्रपानले क्यान्सर कसरी गराउँछ ?

डा. आचार्यका अनुसार चुरोटमा पाइने टार, कार्बोनोमोनो अक्साइड, बेन्जामिनजस्ता रसायनले हाम्रो डीएनए (डीअक्सिराइबोन्युक्लिइक एसिड) मा म्युटेट गराउन थाल्छ अर्थात् क्रमभंगता ल्याउन सक्छ । जसले गर्दा डीएनएको नियमित काममा बाधा गर्छ ।

डीएनएमा भएको जीनलाई बिगारेर आफ्नै हिसाबले अन्य किसिमका कोषहरू बनाउन थाल्छ । ती कोषहरू नियन्त्रण गर्न सकिने खालको हुँदैनन् । जसकारण कोषको संख्या अत्यधिक बढ्न गई अन्यत्र फैलिन थाल्छ । यस्तोमा प्रभावित अंगमा क्यान्सर विकसित हुने र त्यसको कार्य बिगार्ने डा.आचार्य बताउँछन् । र, रगतको माध्यमबाट अन्य अंगमा पनि क्यान्सरका कोष गएर बस्न सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार सुर्तीजन्य पदार्थको सेवनले विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ । जसमा ७० लाख आफैंले सुर्तीजन्य पदार्थ सेवन गरेर र अरूले उपभोग गरेको सुर्तीजन्य पदार्थका कारण ज्यान गुमाउने करिब १३ लाख छन् ।

त्यसोभए, सुर्तीजन्य पदार्थ जतिकै मदिराको पनि क्यान्सर गराउनमा भूमिका रहन्छ, त ? किस्ट अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तर भन्छन्, ‘मदिरामा हुने रसायनहरूले डीएनए र प्रोटिनलाई क्षति गरी शरीरको कुनै पनि अंगमा क्यान्सरका कोषहरू विकास गर्न सहज वातावरण बनाउँछ । सबैभन्दा बढी कलेजोमा गएर त्यहाँका भागहरू सुन्नाउने, कोषहरू नष्ट गरी सिरोसिस गराई कोषलाई क्यान्सरमा परिणत गराउँछ ।

यति मात्र हैन, मदिरा र चुरोट सँगै खाएमा क्यान्सरको जोखिम बढाउँछ ।

मदिराले हर्मोनको स्तरमा बाधा गरी कार्सिनोजेन्स जस्ता सुर्तीजन्य तथा धुम्रपानयुक्त पदार्थलाई पनि शरीरमा अवशेषित गर्न सहज पार्ने डा.अख्तरको भनाइ छ । यो आफैँमा छाती, मुख र घाँटी क्यान्सरको कारक रहेको डा.अख्तरले सुनाए ।

मोटोपन पनि कारक

क्यान्सरको अर्को कारण हो, अनियन्त्रित मोटोपन । धेरैजसो मानिसहरू मोटाइलाई साधारण समस्या ठान्छन्, तर मोटोपन आफैँमा एउटा ठूलो रोग हो । तथ्याङ्क हेर्दा ७.८ प्रतिशत क्यान्सरका केसहरू सिधै मोटोपनको कारणले हुने गर्छन् ।

मोटोपनले कसरी क्यान्सर गराउन सक्छ ?

शरीरमा धेरै बोसो जम्दा दीर्घकालीन रूपमा इनफ्लेमेशन हुन सक्ने क्यान्सर रोग विशेषज्ञ डा. अख्तर बताउँछन् । यो भनेको शरीरका भित्री भाग सुन्निनु वा जम्नु हो । शरीरमा जमेको अनावश्यक बोसोले इन्सुलिन र इस्ट्रोजेन जस्ता हर्मोनको सन्तुलन बिगार्छ । विकासक्रममा परिवर्तन आउँछ । यी सबै कारणले शरीरका कोषहरू छिटो विभाजन गर्न थाल्छन् र क्यान्सर हुने सम्भावना बढ्छ ।’

त्यसैले, आफ्नो वजनलाई स्वस्थ दायरामा ल्याउनु अत्यन्तै आवश्यक छ । यसका लागि कुनै चमत्कारिक उपाय छैन । केवल सन्तुलित आहार र दैनिक व्यायामको तालमेलले तौल नियन्त्रण सम्भव छ ।

सेन्टर अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको साइटमा प्रकाशित ‘क्यान्सर र मोटोपना’ शीर्षकमा प्रकाशित एक अध्ययन अनुसार मोटोपन क्यान्सरको कारण बन्न सक्छ, किनकि अत्यधिक तौल हुनु करिब १३ प्रकारका क्यान्सरको जोखिमसँग जोडिएको छ । तीमध्ये स्तन, पाठेघर, आन्द्रा (कोलन), मिर्गौला, कलेजो र प्यान्क्रियाजको क्यान्सरको कारक मोटोपन हुनसक्छ ।

सूर्यको हानिकारक किरण

छालाको क्यान्सरबाट हुने तीनमध्ये एक जनाको मृत्यु सूर्यको प्रकाशको कारणले हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकले यही भन्छ ।

यूभीए किरणले कसरी क्यान्सर गराउँछ ?

सूर्यको प्रकाश जीवनका लागि आवश्यक छ, तर सूर्यको हानिकारक अल्ट्राभायोलेट किरणहरूबाट बच्नुपर्ने छाला रोग विशेषज्ञ डा. प्रज्जवल पुडासैनी बताउँछन् । ‘निरन्तर घाममा रहँदा यूभीए किरणले छालाको कोषिकामा रहने डीएनएलाई क्षति गर्छ’ डा. पुडासैनी भन्छन्, ‘जसकारण डीएनएले काम गर्न सक्दैन । र, अनियन्त्रित रूपमा असामान्य किसिमको कोषहरू बढ्न थाल्छन् ।’

उनका अनुसार ती असामान्य किसिमका कोषहरू तीव्र रूपमा विभाजन हुँदै स्वरुप परिवर्तन गर्छन् । अनि क्यान्सरको कोषमा परिणत हुन्छन् । यो नै छाला क्यान्सर गराउने पहिलो र मुख्य कारण हो ।

कसलाई बढी जोखिम ?

डा. पुडासैनीका अनुसार वंशाणुगत कारणले पनि छालाको क्यान्सर गराउनसक्छ । यदि परिवारमा कसैलाई पहिले नै छालाको क्यान्सर भएको इतिहास छ भने तिनीहरू एकछिन घाममा बस्ने गर्दा पनि क्यान्सरको जोखिम बढ्छ ।

आफैंलाई वा परिवारमा कसैलाई छालाको क्यान्सर भइसकेको छ भने फेरि पनि त्यही ठाउँमा क्यान्सर हुने सम्भावना हुने हुँदा समय-समयमा छालारोग विशेषज्ञलाई देखाउनुपर्ने डा.पुडासैनी बताउँछन् ।

निष्क्रियता र अस्वस्थ खानपान

क्यान्सरका करिब ५ प्रतिशत केसहरू शारीरिक निष्क्रियता र खराब खानपानको कारणले हुन्छन् । हाम्रो शरीर विश्रामका लागि नभएर काम गर्नका लागि बनेको हो । लामो समयसम्म निष्क्रिय बस्दा शरीरको मेटाबोलिज्म बिग्रिएर क्यान्सरको सम्भावना बढाउन सक्ने डा. विवेक बताउँछन् ।

‘निष्क्रिय जीवनशैली मात्र होइन, प्याकेट बन्द खानेकुरामा पनि क्यान्सर गराउने तत्व हुन्छ । यस्ता खानेकुरामा कासिर्नोजेनिक क्यान्सर गराउने रसायनहरू हालिएका हुन्छन् जसले क्यान्सरको जोखिम बढाउँछन्, ’उनी भन्छन् ।

आफ्नो आहारबाट प्रशोधित खानेकुरा र कृत्रिम चिनीलाई हटाएर रङ्गीविरङ्गी फलफूल, तरकारी, गेडागुडी, डाइफ्रुट्स खान सकिन्छ । प्रत्येक फलफूल र तरकारीमा फरक–फरक एन्टी–अक्सिडेन्ट हुन्छन्, जसले क्यान्सर कोषहरूसँग लड्न मद्दत गर्ने उनी बताउँछन् ।

क्यान्सर
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय