 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- बेरोजगारी, भ्रष्टाचार र कुशासन नै राष्ट्रका मूलभूत समस्या हुन् । यसको समाधान शिक्षा, रोजगारी, स्थानीय सरकारमार्फत् गर्नुपर्छ।
- राजनीति गर्न समयको पाबन्दी चाहिन्छ र अधिनायकवाद सिर्जना हुन नदिन एक पद एक व्यक्ति र पार्टी वा सरकारमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था हुनुपर्दछ।
- हाम्रो राष्ट्रको अब इतिहासमा भएका गलत निर्णयहरु नदोहोर्याउन र सुन्दर नेपालको निर्माण गर्न, योजनाकारहरू, नेतृत्व दिन सक्ने राष्ट्र सेवकहरु अगाडि बढ्नुपर्छ।
अहिले राजनीतिमा हस्तक्षेप किन जरुरी छ भन्ने प्रश्नमा प्रवेश गर्नुअघि म आफ्ना बारेमा केही भन्न चाहन्छु । मलाई लाग्छ, जीवनको सबैभन्दा ठूलो उपलब्धि ‘खुसी’ हो । मेरो विचारमा जीवनका हरेक पलमा नयाँ सोच, सिर्जनशीलता, करुणाभाव, नियमको पालना र इमानदारीपूर्वक गरिएको कार्यले नै साँचो खुसी प्रदान गर्छ ।
जीवन दर्शन
यदि कुनै कार्य गर्न सकिन्थ्यो तर नगरी बसियो वा गलत तरिकाले गरियो भने आत्मग्लानि हुन्छ । त्यसले आर्जन गरेको खुसी पनि हराउँछ । मैले अहिलेसम्म गरेका कामहरुमा कुनै आत्मग्लानि छैन — त्यसैले म खुसी छु ।
मेरो विवाह ३५ वर्षअघि भएको हो । मेरो दुई छोरीहरु छन्, जो आआफ्ना क्षेत्रमा अगाडि बढिरहेका छन् ।कर्मक्षेत्रमा मैले राष्ट्रिय सम्पत्तिका रुपमा दुई उद्योगहरु स्थापना र सञ्चालन गरेको छु । यी दुबै उद्योगले रोजगारी सिर्जना गर्नका साथै राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका छन् — एकले आन्तरिक हवाई उड्डयन क्षेत्रलाई र अर्कोले कृषि अर्थतन्त्रलाई चलायमान बनाएको छ ।
यी उद्योगहरुले आज पनि मलाई वार्षिक प्रतिफल दिइरहेका छन् । मिहेनत गरेर उद्योग स्थापना र सञ्चालन गरेको यसको प्रतिफल पनि राम्रै पाएको छु । जसले मेरो बाँकी जीवन सहज र सन्तुलित बनाएको छ ।
अब यी उद्योगहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै, सबै कर्मचारीले स्वामित्व ग्रहण गर्न सकेमा यी कम्पनीहरु दीर्घकालीन बन्नेछन् भन्ने मेरो विश्वास छ ।
अब म ६२ वर्ष पुगेको छु । पहिले दु:ख र मिहेनत गरेकोले अहिले सबै मोडमा खुसी प्राप्त गरेको छु । परिवार पनि ठूलो भएको छ, नातिनीसमेत पाइसकेको छु । अब मेरो जीवनको ‘दोस्रो इनिङ्स’ सुरू भएको छ ।
राष्ट्रलाई माया गर्ने अरु नेपालीजस्तै मलाई ‘राष्ट्रको बेथिति’प्रति गहिरो चिन्ता छ । बेरोजगारी र भ्रष्टाचार नै आजको सबैभन्दा ठूलो समस्या भन्ने मेरो बुझाइ छ । अबको दोस्रो इनिङ्समा यी समस्याहरुको समाधानका सम्भावना खोज्ने र कार्यान्वयन गर्ने प्रयास गर्न चाहन्छु ।
सिर्जनशील र व्यवस्थापकीय सामर्थ्य भएका व्यक्तिहरु अब मुकदर्शक रमिते भएर बसियो भने राष्ट्र अझ गहिरो खाल्डोमा फस्ने निश्चित छ । यसको दोष भावी पुस्ताले हामीलाई नै दिनेछन् र यसले आत्मग्लानी निम्ताउँछ । त्यसैकारण राष्ट्रका प्रमुख समस्या र त्यसका समाधानहरु के के हुन् त भन्ने औंल्याउन जरुरी छ ।
प्रमुख समस्या र समाधानका दृष्टिकोण
बेरोजगारी, भ्रष्टाचार र कुशासन नै राष्ट्रका मूलभूत समस्या हुन् । यसको समाधान शिक्षा, रोजगारी, स्थानीय सरकारमार्फत् गर्न सकिन्छ । यी विषयलाई निर्दिष्ट दिशा दिएर प्रगतिपथमा अगाडि बढ्न सकिन्छ भन्ने हाम्रो ठहर छ ।
१. शिक्षा : विशेषगरी माध्यमिक शिक्षाको स्तर प्रणाली नै धराशायी भएको छ । हाल लगभग ५० लाख विद्यार्थीले शिक्षा हासिल गरिरहेका धेरैजसो सामुदायिक स्कुलको पठनपाठनमा गुणस्तर कमजोर छ । सिधाभन्दा हामी अर्धशिक्षित जनशक्ति तयार पारी राखेको छौं । भविष्यका सन्ततिलाई बेरोजगारीतर्फ धकेल्दै छौं ।
हामीले यस समस्या समाधानका लागि सूचना प्रविधिमा आधारित माध्यमिक शिक्षाको परीक्षण गर्दैछौं । यसलाई देशभरि कसरी लागु गर्न सकिन्छ भनेर मंसिर पहिलो सातामा विस्तृत कार्यक्रम सार्वजनिक गर्न लागेका छौं । गुणस्तरीय एवं व्यवहारिक शिक्षा प्रदान हुने बित्तिकै रोजगारी र उद्यमशीलता स्वतः अगाडि आउने छन् ।
२. दिगो रोजगारी र उद्यमशीलता : दिगो रोजगारी सिर्जना गर्ने मूलभूत दुईवटा निकायहरु छन् । एक सरकारी निकायहरु र अर्को निजी उद्योग/ व्यापार । सरकारी निकायको दरबन्दी पुनरावलोकन गर्ने बेला भएको छ । एकीकृत कम्प्युटर प्रणाली स्थापित भएपछि के कति रोजगार आवश्यकता छ वा घटबढ छ भने दरबन्दी मिलान गर्नुपर्छ । प्रशासनिक व्ययभार एवं खर्चलाई विस्तारै घटाउँदै लग्नुपर्छ ।
अब देशभित्रै रोजगारी सिर्जना गर्न उद्यमशीलताको आवश्यकता छ । अवसर प्राप्त गरेको खण्डमा उद्यमीहरुले उद्योग/व्यवसाय व्यक्तिगत रुपमा नियमसम्मत सञ्चालन गरेर समाजमा गतिशीलता ल्याउँछन् र सँगसँगै रोजगारीका थप ढोकाहरु उजागर गर्दै लान्छन् ।
हामीले समतामूलक उद्यमशीलतालाई पहिचान गरी धेरैभन्दा धेरै उद्यमी सामूदायिक रुपले सहकार्य गर्ने अवस्थाको पहिचान गरेका छौं । यसबाट रोजगारी पनि पर्याप्त सिर्जना गर्न सकिन्छ । दिगो रोजगारी र उद्यमशीलताका तीन खम्बाहरु छन् :
क. कृषि : नेपालको कृषियोग्य जमिन विखण्डित स्वामित्वमा रहेको छ । उत्पादनको मूल्य फाइदाजनक नभएकोले कृषि निर्वाहमूखीकै चंगुलमा जकडिएको छ । हामीले प्रमाणित गरेको धान खेतीको मूल्यश्रृंखलालाई अब देशभरि स्थानीय सरकारको नेतृत्वमा अनुसरण गर्नुपर्छ ।
स्थानीय निकाय वडा अन्तर्गतको सम्पूर्ण खेतीयोग्य जमिनलाई मौसम अनुसारको उपयुक्त पैदावारको खेती गरि सो पैदावारको प्रथम उत्पादनलाई औद्योगिकरण जस्तै धानलाई चामल, तोरीलाई तेल, मकैलाई दानामा उत्पादन गर्न सकिन्छ ।
सामुदायिक उद्यमशीलता (प्रथम अधिकार उत्पादक किसानलाई लगानीको अवसर) हुने गरी बजार व्यवस्थापन गरेको खण्डमा राष्ट्रिय अर्थतन्त्र आमूल फड्को मार्नेछ र दिगो रोजगारी सिर्जना हुनेछ ।
यो कार्यक्रम अन्नबाली जस्तै तरकारी फलफूल एवं पशुपालनमा पनि लागुहुनेछ । यस कार्यक्रमको अवधारण र नतिजा हामी निकट भविष्यमा सार्वजनिक गर्न लागेका छौं ।
ख. पर्यटन : हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक व्यस्तता तथा पर्यटक आगमन दरसँग दाँज्ने हो भने यसको औचित्य लगभग पूरा भइसकेको छ । यसभन्दा बढी पर्यटक यसले धान्न सक्दैन । तसर्थ यो विमानस्थल पूर्णभइसकेको छ । वर्षको ११ लाख पर्यटकमा ३–४ लाख गैरआवासीय नेपाली छन् ।
त्यसैले अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण प्रयोगमा ल्याउनुपर्छ । यस विमानस्थलबाट सिधा अन्तरमहादेशीय उडान जस्तै अमेरिका/क्यानडाको पूर्व तटीय सहर न्यूयोर्क र पश्चिम तटीय सहर लस एन्जलस भर्न सकिन्छ र वर्षका ५ लाख पर्यटकको दरले दश वर्षभित्र ५० लाख पर्यटकको आगमन गराउन सकिने छ । जसले वर्षको तीन लाख गरी १० वर्षमा ३० लाख रोजगारी सिर्जना गर्न सकिने छ ।
यस कार्यक्रमले पर्यटन उद्योगमा देशभरि प्रचुर सम्भावना सिर्जना गर्नेछन् । हाम्रो कार्यक्रम भूईँमान्छेको सहभागितामा ग्रामीण पर्यटन उदाहरणको लागि नवलपरासीको थारु बस्ती अमलटारी गाउँ र गुरुङ समुदायको घलेगाउँजस्तो कार्यक्रम देशको कुनाकाप्चामा सामुदायिक उद्यमशीलता अन्तर्गत सञ्चालन गर्न सकिन्छ । यो कार्यक्रम पनि हामी सार्वजनिक गर्दैछौं ।
ग. सूचना प्रविधि/ उद्योग-रोजगारी : आईटी समाविष्ट शिक्षा प्रणाली लागु गरेपछि निकट भविष्यमै अनिवार्य रुपले बुझ्ने र अध्ययन गर्ने पर्याप्त जनशक्ति पैदा हुनेछन् । स्वफूर्त आईटी उद्योगले प्रसय पाउनेछन् र हालको अवस्थाले प्रमाणित गरेझैं आफ्नै तदारुकतामा स्वदेशीविदेशी आई उद्योगमा धेरै नेपालीहरु आवद्ध भएर घरैबाट काम गर्न सक्ने अवस्था सिर्जना हुन्छ ।
यसको प्रयोग आमजनले पनि विस्तारै गर्नेछन् । राष्ट्रमा सूचना प्रविधि र डिजिटल रुपान्तरणको लागि छुट्टै मन्त्रालय स्थापना हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । यसले रोजगारी र उद्यमशीलता मात्र होइन, शासकीय स्वरुप र सरकार सञ्चालनको हरेक अंगलाई विश्वको बदँलिदो परिवेशमा नेपाललाई समानान्तर रुपमा स्थापित गरिनेछ । डिजिटल रुपान्तरणले कामकारबाही छिटोछरितोका साथै भ्रष्टाचारमाथि लगाम कस्न पनि मद्दत पुग्नेछ ।
यससम्बन्धी कार्यक्रम पनि हामी सार्वजनिक गर्न लागेका छौं।
३. स्थानीय सरकार
हाम्रो राष्ट्रको सुशासन, रोजगारी र समतामूलक उद्यमशीलताको मुख्य साधन ‘स्थानीय सरकार’ रहेको हाम्रो ठम्याई रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेका बुँदाहरु अक्षरशः कार्यान्वयन गर्दा धेरैजसो समस्या पालिकाबाटै समाधान हुने देखिन्छ।
मुख्यगरि रोजगारी (वैदेशिक र आन्तिरक) को अभिलेख राख्ने र रोजगारी प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक उद्यमशीलता मुख्य गरी कृषि पैदावरलाई प्रथम चरणको उद्योगमा रुपान्तरण गर्ने, आधारभूत स्वास्थ्य सेवा, विद्यालय शिक्षा र शान्तिसुरक्षा र न्याय सम्पादन स्थानीय सरकार विशेषगरी वडास्तरबाटै सञ्चालन गरिनुपर्छ । यससम्बन्धी योजना हामी मंसिर अन्तिमतिर सार्वजनिक गर्नेछौं पार्टीका अन्य कार्यक्रम र कार्यान्वयन हाम्रो घोषणापत्रबाट सार्वजनिक गराउने छौं ।
अबको राजनीतिक पार्टी
अबको राजनीतिक पार्टी सेवा र त्यागको भावनाले र्सिजित हुनुपर्छ । पेसाको लोभले होइन । सेवा र त्यागले अनन्तकालको लागि पनि गर्न सकिँदैन । यसका लागि सिर्जनशीलता एवं एकाग्रता चाहिन्छ र यो चलायमान हुन्छ ।
उमेर पुग्दै गएपछि यो कम हुँदै जान्छ साथै जिन्दगीभर सेवा र त्यागमा मात्र तल्लीन भई घरव्यवहार परिवारको आम्दानी खर्च पुर्याउन सक्ने व्यक्तिहरुको संख्या निकै थोरै छ । त्यसैकारण राजनीति गर्न समयको पाबन्दी चाहिन्छ र अधिनायकवाद सिर्जना हुन नदिन एक पद एक व्यक्ति र पार्टी वा सरकारमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था हुनुपर्दछ ।
यही उद्देश्यले हामी गतिशील लोकतान्त्रिक पार्टी स्थापना गरेका छौं । चुनावमा २० प्रतिशत भन्दा बढी मत जितेको खण्डमा मात्र सरकारमा जानेछौं । नत्र सशक्त विपक्षीको भूमिका निर्वाह गर्छौं ।
त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन अति महत्वपूर्ण हुन्छ । किनकी पार्टीको नाममा अवैधानिक रकम जम्मा भयो भने यसले आर्थिक विचलन ल्याउन सक्छ । यसप्रकार बेथितीबाट रकम जोहो गर्ने व्यक्तिहरुको कब्जामा पार्टी रहन जान्छ । त्यसैकारण हाम्रो पार्टीको आर्थिक आचारसंहिता पारदर्शी राखेका छौं ।
पार्टीको आर्थिक आचारसंहिता वेवसाईटमार्फत सार्वजनिक गर्न लागेका छौं । सबै खर्च/आम्दानी पारदर्शी रुपले राख्ने छौं । एउटा व्यक्ति वा संस्थाले पार्टीको वार्षिक कूल बजेटको ५ प्रतिशत भन्दा बढि योगदान दिन पाउने छैन ।
त्यस्तै पार्टीको कुनै पनि अधिकारिक उम्मेदवारलाई चुनाव खर्च, प्रचार प्रसारका लागि खर्च पार्टीले दिने छैन । हरेक उम्मेदवारले निर्वाचन आयोगले तोकेको अनुसार चुनाव खर्च आफ्नो स्रोतबाट उठाई खर्च गर्ने छन् र चुनावपछि पारदर्शी हिसाब पेश गर्ने छन् ।
जेनजी आन्दोलनको औचित्य र उपलब्धि
भदौ २३–२४ को जेनजी आन्दोलनमा धेरै युवाहरुले सदाहत प्राप्त गरे । सयौं युवाहरुको अंगभंग र खरबौंको सम्पत्ति क्षति किन भयो । यस विषयमा सूक्ष्म विश्लेषण हुन जरुरी छ । भविष्यमा फेरि यस्तो नदोहोरिन के-के गर्नुपर्छ, त्यसको पनि निर्क्यौल गर्नुपर्छ ।
सारांशमा भन्ने हो भने राजनीतिक पार्टीहरुले राज्य सञ्चालनमा युवाहरुको अकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न सकेनन् । राजनीतिलाई जब पूर्णकालीन पेसा बनाइन्छ, त्यसमा विभिन्न गलत हथकण्डाहरु अपनाइन्छ ।
उही नेताहरु हरेक तप्कामा सधैं बसी रहने उद्देश्यसहित आश्रित कार्यकर्ताको जमघट बनाएका हुन्छन् । उनीहरुको रोजगारी र व्यवहार राजनीतिक दबाब र भनसुनबाट चलाउने, शासकीय प्रक्रिया र पदलाई आफ्ना कार्यकर्ताको भर्तिकेन्द्रमा परिणत गरेपछि राज्य सञ्चालनमा स्वतः भ्रष्टाचार, शोषण र बेथितिको स्थापना हुनपुग्यो ।
सिर्जनशीलता र व्यवस्थापन सूत्रले राज्य सञ्चालन भएन । सर्वसाधारणको जनजीवनमा हरेक पल कष्टकर र निर्वाहमुखी हुँदै गयो । भ्रष्टाचार, बेथिती र बेरोजगारीले देशैभरि प्रसय पायो ।
भदौ २३ गते मात्र होइन, प्रजातन्त्र स्थापनाकाल २००७ सालदेखि आजसम्म कति नेपाली युवाहरुले आफ्नो अमूल्य जीवनको आहुति दिएर देश र देशवासीको खुसी, समस्त समृद्धि, मौलिक आधारभूत अधिकार, सुख र शान्तिसँग बाँच्ने र व्यवसाय गरी उन्नति गर्ने अवसर सिर्जना गर्न सहादत हासिल गरे ।
तर उनीहरुको सपना/बलिदान सार्थक भयो त ? हाल देशमा रहेको भ्रष्टाचार, शोषण, बेरोजगारी, गरिबी, आधारभूत अधिकारको कमी र निराशाको अवस्थाको लागि यी युवाहरु सहिद भएका हुन त ?
हरेक पटक आन्दोलन भयो, पूराना सत्ताको भ्रष्टाचार र कुशासनलाई समाधान गर्ने कोरा नारा नयाँ आन्दोलनकारीले लगाउने गर्छन् । असंख्य सहिद भएर सत्ता परिवर्तन गर्छन् तर नयाँ सत्ताधारीले आफ्नो निकृष्ट व्यक्तिहरु र संस्थाहरुको निहित स्वार्थको लागि भ्रष्टाचार, शोषण र त्यसलाई हासिल गर्न कुसाशन अझ विकराल बनाउँदै गए । यसो हुनुको कारण प्रथमतः कुनै ठोस योजना नहुने र दोस्रो राजनीतिलाई पैसा कमाउने भाँडो बनाउनु हो ।
जेनजीको आन्दोलनको एउटा नविनतम् अवसर दिएको छ । पुरानो शासनसत्ता केही घण्टामै निर्मूल पारी खाली स्लेटमा फेरि नेपाल र नेपालीको सुन्दर भविष्य कोर्ने अवसर दिएको छ । अब गालीगलौच, लाञ्छना र कोरा नारा र ‘सब्जेक्टिभ’ उद्देश्य होइन, भ्रष्टाचार र पेसागत राजनीतिको मियो मै उन्मूलन गरी वस्तुपरक कार्यक्रम र उद्देश्य हासिल गरी रोजगारी, समतामूलक समृद्धि र मितव्ययिता पूर्वक चुस्त सुशासन व्यवस्थापन गर्ने हो ।
नेपाल र नेपालीको सुन्दर भविष्य देख्ने हामी केही नेपाली नयाँ सोच लिएर अगाडि आउँदै छौं । अब नेपाललाई नयाँ युगमा लिएर जानुपर्छ भन्ने विश्वास भएका नेपाली दिदी बहिनी/दाजु भाइहरुलाई मुकदर्शक नबनिकन अगाडि बडौं भन्ने आग्रह छ ।
हरेक मन्त्रालय, विभाग, विभिन्न सरोकारका विषय वस्तु संगठन, हरेक वडा, पालिका, प्रदेश र अन्त्यमा संघको वस्तुगत सोच, योजना र संचालन कसरी गर्ने हो सोको योजना, विचार लिएर एक ठाउँमा आउनुपर्छ ।
हाम्रो राष्ट्रको अब इतिहासमा भएका गलत निर्णयहरु नदोहोर्याउन र सुन्दर नेपालको निर्माण गर्न, योजनाकारहरु, नेतृत्व दिन सक्ने राष्ट्र सेवकहरु अगाडि बढ्नुपर्छ । जेनजी र यस अघिका आन्दोलनकारीहरुको यत्रो बलिदानबाट प्राप्त यस नौलो अवसरको सदुपयोग गर्नुपर्छ । गतिशील लोकतान्त्रिक पार्टीमा हामी निमित्त पात्र मात्र हौं ।
केही नयाँ सोच, संस्कार, सिद्धान्त र योजना लिएर अगाडि आएका छौं । यो राजनीतिक पार्टी आगामी पूस्ता र त्यसपछिका पूस्ताका लागि नासो हो । देशलाई सामर्थ्यवान व्यक्तिहरुले नेतृत्व गर्नुपर्छ । नेपाललाई एउटा नमूना, समतामूलक, समावेशी, शान्त र विकसित राष्ट्रको रुपमा रुपान्त्तरण गर्नैपर्छ ।
(बस्नेत नवगठित गतिशील लोकतान्त्रिक पार्टीका सदस्य हुन्)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4