News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न नसकेपछि युवा तथा खेलकुद मन्त्रालयमा छलफल गर्ने भएको छ।
- नयाँ मन्त्री बब्लु गुप्ताले एन्फा पदाधिकारी र १४ ए डिभिजन क्लबसँग बिहीबार सिंहदरबारमा छलफल गर्ने कार्यक्रम तय भएको छ।
- ए डिभिजन लिग नियमित नभएपछि खेलाडीहरु विदेश पलायन भइरहेका छन् र एन्फा लिग आयोजना गर्न विभिन्न बहाना बनाउँदै आएको छ।
१२ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न असफल भएपछि यो विषयमा अब युवा तथा खेलकुद मन्त्रालयमा छलफल हुने भएको छ ।
नयाँ युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा पदाधिकारी र ए डिभिजन लिग क्लबका पदाधिकारीसँग बिहीबार छलफल गर्ने भएका हुन् ।
एन्फाले मन्त्री गुप्ताबाट एन्फा पदाधिकारी र ए डिभिजन क्लबहरुसँग शहीद स्मारक ए डिभिजन लिग सम्बन्धमा बिहीबार छलफल गर्ने कार्यक्रम रहेको भन्दै १४ वटै क्लबलाई पत्र पठाएर जानकारी गराएको छ ।
छलफल युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा बिहीबार दिउँसो १ बजेका लागि तोकिएको छ । एन्फा महासचिव किरण राईले ए डिभिजनका मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, हिमलयन शेर्पा क्लब, फ्रेण्ड्स क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, एनआरटी क्लब, सातदोबाटो युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब गरी १४ क्लबलाई संयुक्त पत्र लेख्दै छलफलमा उपस्थित हुनु जानकारी गराएका छन् ।

पंकज विक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फा कार्यसमितिले पछिल्लो तीन वर्षमा जम्मा एक पटक मात्र शहीद स्मारक ए डिभिजन लिग आयोजना गरेको थियो । पछिल्लो दुई सिजन विभिन्न बाहनामा एन्फाले ए डिभिजन लिग आयोजना गर्न सकेन ।
यस सिजन पनि पुषमा ए डिभिजन लिग सुरु गर्ने भनेर बैशाखदेखि नै क्यालेन्डरमा राखेपनि अझै अन्योल नै छ ।
केही समयअघि एन्फाले ए डिभिजन क्लबहरु होम एण्ड अवेमा ए डिभिजन लिग आयोजना गर्ने प्रस्ताव गरेको थियो । तर क्लबहरुले तत्काल होम एण्ड अवेमा लिग गर्न सम्भव नहुने र त्यसरी लिग गर्न धेरै विषयमा व्यवस्थापन गर्नुपर्ने भन्दै पत्रकार सम्मेलन नै गरेपछि एन्फाले पनि पत्रकार सम्मेलन गरेर होम एण्ड अवेमा तत्काल लिग हुन नसक्ने भनेर जानकारी गरायो ।
फुटबल विकासको मेरुदण्डको रुपमा रहेको ए डिभिजन लिग नै नियमित नभएपछि अहिले त्यसको मुख्य मारमा खेलाडीहरु छन् र धेरै खेलाडी विदेश पलायन समेत भइरहेका छन् ।
तर एन्फा भने अझै पनि लिग गर्ने योजनातिर भन्दा यो वा त्यो बहाना बनाउँदै पन्छिरहेको फुटबलका स्टेकहोल्डरहरुको भनाइ छ ।
अझ ए डिभिजन लिगकै बारेमा क्लबहरुसँग खेलकुदमा मन्त्रालयमा छलफल गर्न जाने विषयको सामाजिक सञ्जालमा ठूलो विरोध भइरहेको छ ।
एन्फाले क्लबहरुलाई पठाएको पत्र सार्वजनिक भएपछि एन्फाकै पूर्व अध्यक्षले यो सही कदम नभएको उल्लेख गरेका छन् ।
एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिगको विषयमा मन्त्रालयमा क्लबहरुसँग छलफल गर्ने विषयमा व्यङ्ग्य गर्दै लिग मन्त्रालयले गर्ने कि क्लबले गर्ने भनेर प्रश्न सोधेका छन् । उनले एन्फा नालायक भएर लिगको बैठक मन्त्रालयमा गर्न लागेको हो भनेर प्रश्न गरेका छन् ।
ए डिभिजन लिगको छलफल युवा तथा खेलकुद मन्त्रालयमा राख्ने विषयमा बुझ्न एन्फा अध्यक्ष र महासचिवलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया 4