१३ कात्तिक, काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको जिल्ला अदालत काभ्रेमा बयान र थुनछेकको बहस सकिएको छ । तर, आदेश आउन बाँकी छ ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।
अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा उनीमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो ।
गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो ।
अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो ।
जिल्ला अदालतमा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो ।
त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।
अदालतका श्रेस्तेदार कार्कीका अनुसार, गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।
पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो । उनीमाथि विभिन्न मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।



प्रतिक्रिया 4