१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन संघीय सरकारले विशेषको पहलकदमको आवश्यकता रहेको बताएका छन् ।
पछिल्लो पटक गठन भएको सरकारले आयोजनालाई समस्याग्रस्त आयोजनाको रूपमा राख्ने तयारी गरेको चर्चाबीच आयोजनास्थल पुगेर मुख्यमन्त्री कँडेलले सरोकारवालसँग छलफल समेत गरेका छन् ।
यही अवस्थामा कामको गति नबढ्ने र थप भएको समयमा समेत आयोजना सम्पन्न नहुने अवस्थाले आयोजनाको भविष्यलाई लिएर चिन्ता हुनु स्वभाविक रहेको भन्दै उनले संघीय सरकारले यस सम्बन्ध विशेष पहल लिनुपर्ने बताए ।
छलफलमा मुख्यमन्त्री कडेलले संघीय सरकारको कार्यक्षेत्र रहेपछि प्रदेशको चासो र चिन्ताको भएकोले राष्ट्रिय गौरवको यो आयोजना निर्माणको गतिलाई यही अवस्थामा छाडन नहुने बताए ।
उनले भने, ‘थपिएको समयमा पनि साठी प्रतिशतको आसपासमा मात्र काम भएको रहेछ, यही गतिले अर्को चार वर्षमा पनि सम्पन्न हुने छाँट देखिदैन ।´
मुख्मन्त्री कँडेलले राष्ट्रिय गौरवको भनेपनि संघीय सरकारले जति पहल लिनु पर्थ्यो, त्यो मात्रामा पहल नभएको बताए।
मुख्यमन्त्री कँडेल शुक्रबार आयोजनास्थल बबई पुगेर प्रमुखसहित निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग स्थलगत अवलोकन र छलफल गरेका थिए ।
छलफलको क्रममा मुख्यमन्त्री कडेलले आयोजनाको अहिलेको कार्य प्रगति हेरेर समस्याग्रस्त आयोजनाको रूपमा राख्ने तयारीभन्दा कामको गति बढाउने गरि विशेष योजना निर्माण गर्न संघीय सरकारले पहल लिनु पर्ने बताए ।
आर्थिक वर्ष २०७१/०७२ मा सुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको समग्र प्रगति हालसम्म करिब ५७ प्रतिशत पुगेको छ । आयोजनाको अन्तिम म्याद २०८२ चैत रहेको छ ।
आयोजनामा अझै १० जना उच्च तहका प्राविधिक पद रिक्त छन्, जसले कामको गति प्रभावित पारेको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्ले अवस्थित यो आयोजनाले भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङमार्फत बर्दिया जिल्लाको बबई नदीमा खसाल्ने योजना छ ।
यो आयोजनाबाट ४६.६ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ ।
पहिलो चरणमा सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी कोभेकले तोकिएको समयभन्दा एक वर्षअघि नै २०७६ वैशाखमा सुरुङ कार्य सम्पन्न गरेको थियो । त्यसपछि भने काम सुस्त भएको छ ।
प्रतिक्रिया 4