+
+
Shares
नाटककार मनबहादुर मुखियासँगको कुराकानी :

‘अनि देवराली रुन्छ’, जुन हेरेपछि राजा वीरेन्द्रले दिएका थिए १ लाख

‘अनि देवराली रुन्छ’ का सबै जसो गीतहरू रेडियोमा बज्दा पनि त्यत्तिकै कर्णप्रिय भए ।

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८२ कात्तिक १८ गते ८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दार्जीलिङका नाटककार मनबहादुर मुखियाले लेखेको 'अनि देवराली रुन्छ' नाटक २०३० दशकमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा लोकप्रिय रूपमा मञ्चन भयो।
  • यो नाटकले जातीय, वर्गीय र लैङ्गिक भेदभावका विषय उठाउँदै नेपाली समाजका समस्याहरूलाई रङ्गमञ्चमा प्रस्तुत गर्‍यो र राजा वीरेन्द्रले नगद पुरस्कार दिए।
  • मुखियाले दार्जीलिङबाट काठमाडौं स्थायी बसाइँ सरेपछि नेपाली नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान दिए र विभिन्न नाटक तथा गीतहरू रचना गरे।

२०३०  दशकमा काठमाडौंमा उपलब्ध नाट्य रङ्गमञ्च थिए- प्रज्ञा प्रतिष्ठानको विशाल प्रेक्षागृह, राष्ट्रिय नाचघरको रङ्गमञ्च तथा राष्ट्रिय सभागृहको रङ्गमञ्च । यी तिनै स्थानमा नेपाल तथा नेपाल बाहिर दार्जीलिङका नाटक प्रदर्शन हुने गर्थे । प्रज्ञा प्रतिष्ठानको हल ठूलो र महंगो हुनाले प्रतिष्ठानकै आयोजनामा हुने नाटक प्रदर्शन बढी हुन्थे ।

यही मेसोमा दार्जीलिङका नाटककार, अभिनेता, निर्देशक मनबहादुर मुखियाको लेखन र निर्देशनमा ‘अनि देवराली रुन्छ’ नाटक प्रतिष्ठानमा मञ्चन ‍सुरु भयो । यो नाटक यति लोकप्रिय भयो कि, दर्शकहरू बिहान ३/४ बजे नै टिकटका लागि लाइन बस्थे । वि.सं. २००४ चैत्र २ गते दोलखामा जन्मेर पछि दार्जीलिङलाई कर्मभूमि बनाएका मनबहादुर मुखियाले यो नाटक लिएर काठमाडौं आएपछि काठमाडौंलाई नै कर्मभूमि बनाए । उनका ‘अनि देवराली रून्छ’ का साथै ‘इतिहास दोहोरिन्छ’, ‘क्रसमा टाँगिएको जिन्दगी’ लगायतका कृतिहरू प्रकाशित छन् ।

उनै नाटककार मुखियासँग गरिएको कुराकानी:

तपाईंको पुर्ख्यौलीको बारेमा बताइदिनुहोस् न, कसरी दार्जीलिङ पुग्नुभयो ?

मेरा पुर्खाको मूल थातथलो रामेछाप हो । बाजे मानवीर सुनुवारका जिजु रामे सुनुवार अनि भाइ काले सुनुवार सपरिवार दोलखामा बसाइँ सरेका थिए । दोलखा बजारदेखि टाढाको त्यो ठाउँमा उनीहरूले राजाबाट प्रशस्त जमिन पाएका थिए । सूर्योदयदेखि सूर्यास्तसम्म हिँडेर आर्जन गरेको जग्गा उनीहरूले किपटका रूपमा कमाएका थिए । समय बित्दै जाँदा सन्तान फैलिँदै गए ।

कालान्तरमा पाँडे खलकले हाम्रा पुर्खालाई एक डालो बाबर कोसेली चढाएछन् अनि बसोबासका निम्ति जग्गा मागेछन् । यसरी दिएको जग्गा हुनाले त्यो सम्पूर्ण क्षेत्रलाई बाबरे भनिएछ । पारिपट्टि जिरी, वारिपट्टि बाबरे अनि बीचमा बग्ने भोटेकोशी नदी । यसै क्षेत्रलाई अचेल कालिञ्चोक गाउँपालिका भनिन्छ । उनीहरू पृथक् थिए, साथै त्यहाँको तालुकदार पनि । मेरा बाजे मानवीर सुनुवार रिसल्लाको पल्टनमा सिपाही थिए ।

अधिकांश समय उनी काठमाडौंमै बस्थे । उनका तीन वटी श्रीमतीमध्ये मेरा बुबा कृष्ण बहादुर सुनुवार जेठीका छोरा थिए । मेरा बुबाका पनि तीन वटी श्रीमती मध्ये जेठीपट्टिको म । सन् १९५२ मा बुबाले किजे पाँडेलाई खेतबारी अधियाँमा कमाउन जिम्मा दिए । अनि हाम्रो परिवारसहित अरू २०-२५ परिवारले थातथलो छोड्यो । ८-१० दिन हिँडेर दार्जीलिङको धरती टेक्यो ।

त्यो हूलमा तपाईं पनि हुनुहुन्थ्यो होइन ? केही सम्झना छ त्यो समयको ?

म पनि थिएँ त्यो हूलमा । ३-४ वर्षको हुँदो हुँ । मलाई बुबाले बोक्नु भा’थ्यो बहिनीलाई चाहिँ कान्छी आमाले । अलिअलि सम्झना भएअनुसार हाम्रो डेराको छेउमा माथितिर लोहार खान, तलतिर चिनियाँ स्कूल, चिनियाँ क्लब थिए । सन् १९५२ मा चोक बजारमा भएको बुद्ध कन्या पाठशालामा शिशु कक्षामा म भर्ना गरिएँ ।

स्कूले जीवन कस्तो थियो ? अनि तपाईंहरू दाजुभाइ दिदी बहिनी कति जना हुनुहुन्थ्यो ?

मेरा तीन बहिनीहरू अनि दुइ भाइहरू दिवंगत भइसकेको छन् म र माइला भाइ गोपाल मात्र बाँकी रहेका छौं । चलनचल्तीको बोलीमा हाम्रो टोललाई गड्डी खान भनिन्थ्यो । चिनियाँ स्कूलमा केटाकेटीहरू चिनियाँ भाषामै पढ्थे, गाउँथे अनि छुट्टी भएपछि लामबद्ध बनेर उनीहरू आ-आफ्ना घर फर्कन्थे ।

खानमा भने थाल बजेर स्थानीय कानहरू गुञ्जिरहन्थ्यो । प्रसिध्द समाजसेवी रंगकर्मी हर्षबज्र लामा अनि संगीतकार रणजीत गजमेर यहीं बस्थे । दुइतले लामा लामा म्युनिसिपल विल्डिङहरु ‘इ’ र ‘ओ’ लाई दुई तिरबाट पुलले जोडेको छ। बीचमा रहेको व्यस्त मोहब्बत् गल्ली व्यापार केन्द्र हो । ओ बिल्डिङमा सञ्चालित हाम्रो स्कूलमा म भुइँ किलास (शिशु कक्षा)म पढ्थें ।

रेलिङको चेपबाट मेरो खरी, टोपी, कहिलेकाहीँ सिलोट (खरि पाटी) मोहबत् गल्लीमा खस्थ्यो । बुद्ध जयन्तीको दिन पहेँलो पोसाक लगाएका हामी विद्यार्थीहरू जुलुसमा सामेल भएर चौरस्ता माल रोडको परिक्रमा गर्थ्यौं । १९५४ मा हाम्रै गाउँको सिरानमा रहेको भानुभक्त प्राथमिक पाठशालामा म कक्षा एकमा भर्ना भएँ ।

प्रधान अध्यापक अगमसिंह गिरी थिए । त्यति बेला उनी कवि हुन् भनेर थाहा थिएन । कक्षामा निदायो भनेर उहाँले मलाई कुटेको अलिअलि थाहा छ । १६५५ मा म सेन्ट रोबर्टस् हाई स्कूलमा कक्षा २ मा भर्ना भएँ अनि दश कक्षासम्म त्यही पढेँ। तर स्कूल फाइनलमा फेल भएँ । अतिरिक्त क्रियाकलाप सहभागी हुन्थ्यौं । हस्त लिखित पत्रिका निकाल्थ्यौं । नाटकमा भाग लिन्थ्यौं। हामीलाई साहित्य र रङ्ग कर्ममा मार्गदर्शन गर्ने गुरुहरू हुनुहुन्थ्यो- भानुभक्त कुमाइँ, वीर विक्रम गुरुङ, डा. जगत छेत्री, आर. बी. सुब्बा, डा. कुमार प्रधान, राज नारायण प्रधान आदि।

भनेपछि तपाईंले स्कूले जीवनमा नै स्वनामधन्य साहित्यिक हस्तीहरूको स्नेह र सान्निध्य पाउनु भएको रहेछ । हस्तलिखित पत्रिका निकाल्दा तपाईंको भूमिका के हुन्थ्यो ?

हामी कक्षा आठमा पढ्दा जगत क्षेत्री सरले नेपाली पढाउनुहुन्थ्यो । आफूले लेखेका कथाहरू उहाँ सुनाउनुहुन्थ्यो । त्यस समयमा नाम चलेका कथाकारका कथा पढेर सुनाउनु र बुझाउनुहुन्थ्यो । हामी विद्यार्थीहरूलाई पनि कथा कविता लेख्न अह्राउनुहुन्थ्यो ।
भर्खरै अङ्कुरित भएको साहित्यिक रुचिलाई उहाँले मलजल गरिदिनु भयो । यो सन् १९६१ सालको कुरा हो, जब संसारभरि रविन्द्रनाथ ठाकुरको शतवार्षिकी समारोह मनाइयो । हस्तलिखित पत्रिका निकाल्ने योजना बनाउँदा बनाउँदै हामी कक्षा ९ मा चढ्यौं।

जगत क्षेत्री सरको सम्पादनमै हामीले ‘प्रदर्शक’ नामक हस्तलिखित पत्रिका निकाल्यौं । यसैमा मेरो पहिलो कविता ‘कली’ प्रकाशित भयो । पहिलो एकाङ्की ‘जिरीखिम्टेको दुर्दशा’रेडियो नाटकका रूपमा कक्षा एकदेखि कक्षा दशसम्मै इण्टरकमबाट प्रशारित गरिएको थियो । यही साल आर.बी. सरले ‘हात लागे शून्य’ नामक हास्य एकाङ्कीमा मलाई खेलाउनुभयो।

त्यसरी सन् १९६१ मा सुरु भएको एकांकी लेखन र अभिनय यात्राले गम्भीर लेखन यात्रा र अभिनय यात्राको दर्जा पाउन कति अभ्यास लेखन र रिहर्सलको जरूरत पर्‍यो ?

हाम्रो गाउँमा विशाल र भव्य श्री मन्दिर छ । सँगै जोडिएको नृपेन्द्र नारायण हिन्दू पब्लिक हल (एनएमएचपी) छ । त्यहाँका बङ्गालीहरूको सामाजिक सांस्कृतिक केन्द्रको रूपमा यो संस्था क्रियाशील छ । यहाँ वर्षभरि नै बङ्गला सांस्कृतिक कार्यक्रम र बङ्गला नाटकहरू भइरहन्थे । दर्शकहरू हलभित्र पुग्ने बेलामा हामी केटाकेटीहरू पनि लुकीछिपी छिर्थ्यौं । भाषा नबुझे पनि ती नाटक हेरेर हामी आनन्दित हुन्थ्यौं । पाँच मिनेट मात्र हिंडेर पुगिने अलि परतिर गोर्खा दुःख निवारक सम्मेलन हल (जीडीएनएस) छ । यहाँ त हामी नाटकको रिहर्सल समेत हेर्न भ्याउथ्यौं ।

स्कुलमै पनि वर्षको दुई पटक सांस्कृतिक कार्यक्रम र नाटकहरू भइरहन्थे । आफू हुर्केको बढेको परिवेशले मेरो बाल मनोविज्ञानमा नाट्‌यानुरागको बीउ अङ्‌कुरित गराएको हो । सन् १९६४ मा मेरा समकक्षी साथीहरू स्कुल जाँदा म चाहिँ जीडीएनएसमा बढी सक्रिय हुन थालें । स्वयम् सेवकका रूपमा म सामान्य काम पनि गर्न थालें ।

नाटकबाहेक संगीत र नृत्यका कलाकारहरूसँग राम्ररी परिचित हुने मौका पाएँ । मुख सज्जा, रंगमञ्च सज्जा, भेषभूषा, अभिनय, लेखन, निर्देशन जस्ता विषयमा अनुभव कमाउन थालें । ध्वनि संयोजन र प्रकाश व्यवस्थका ज्ञान लिन थालें । यसरी नाटकका प्राविधिक अनि व्यव‌हारिक पक्षसँग कलात्मक सम्बन्ध गाढा बनाउँदै लगें । नाटकको दृष्य परिवर्तन गर्दा प्राविधक परिश्रम सिक्दै गयौं । संक्षेपमा भन्नु पर्दा मेरो रङ्गकर्मीहरूका मार्गदर्शन र आशीर्वादले मेरो नाट्य साधनालाई तिखार्दै लगें । सन् १९६५ मा कलेज प्रवेशपछि एकांकी नाटक प्रतियोगिताहरूमा हामी सहभागी बन्यौ ।

१९६७ देखि एकल अभिनय प्रारम्भ गर्‍यौं । दार्जीलिङकै विभिन्न वस्ती र चिया बगानहरूमा हामी विभिन्न बस्ती र चिया बगानहरूमा सांस्कृतिक टोली लिएर जान्थ्यौं । खर्साङ, कालेबुङ, सिलगढी, गान्तोक र भुटानका फुन्सिलिङ र सर्भाङ जस्ता स्थानमा हामीले नाटक प्रदर्शन गर्थ्यौं । यस्ता नाट्य यात्राबाट हामीले दर्शकहरूको रुचि र चाहना बुझ्ने मौका पायौं । स्थानीय कलाकारहरूसँग रङ्ग कर्म सम्बन्धी विचार विनिमय बहस र विमर्श गर्ने अवसर पनि पायौं । एकाङ्की लेखनको अभ्यास साथसाथै दुई लघु नाटकहरूको रचना गर्ने प्रयास गरें, ‘अनुराग’ ‘तर क्षितिज हाँस्दैन’ । अन्तमा पहिलो पूर्णाङ्ककी नाक “अनि देउराली रुन्छ” को सृजना भएको हो । नाटकको सैध्दान्तिक पक्षबारे पछि कुरा गरुँला ।

तपाईंको नामकै पर्याय बनेको ‘अनि देवराली रून्छ’ नाटक कसरी लेख्नुभयो ? लेखनको पृष्ठभूमि के थियो ?

सन् १९७२ को जनवरी । राजा महेन्द्र स्वर्गे भएको तीन दिनपछि मेरा बाबु, काका, भाइ र मैले दोलखामा पाइला टेकेको । अझ आधिकारिक रूपमा भन्नु पर्दा बाबरे गाउँ पञ्चायतको धारापानी गाउँ, मेरो जन्म थलोमा । मेरो नवपहिचान रिसल्ला बूढाको नाति।

गाउँलेहरूसँगको उठबस । उच्च वर्गीय मानिसका ठाँटबाट, रवाफ र हैकमवादी प्रवृत्ति । निम्न वर्गका किसानहरूको समस्या र पीडा । आर्थिक असमानता, वर्गीय, जातीय र लैङ्गिक भेदभाव । उनीहरूको सुक्ष्म निरीक्षण । माटो र पसिनाको सुगन्ध ।

त्यहाँको सबथोक प्राङ्गारिक । भोटेकोशीको तीरमा अवस्थित बेसी । यहीँ भएको थियो ‘अनि देवराली रून्छ’ को विजारोपण । मुख्य बुँदाहरूको टिपोट, खेस्रा, साफी, लामो चिन्तन मननपछि नाटकको पहिलो आलेख तयार भयो । सङ्गीतकार अनि प्राविधिकहरू समेतको सामूहिक उपस्थितिमा रङ्गमञ्चमै आलेख पठन भयो । छलफल र सुझावपछि आलेखले अन्तिम स्वरुप र संरचना प्राप्त गर्‍यो।

लामै कसरत गरेपछि कलाकार चयन सम्पन्न भयो । रिहर्सलमा संवादहरू बाचाल बन्दै पात्रहरू चलायमान बन्दै जाँदा थपघट र सम्पादन हुँदै गयो । यसरी सामूहिक सिर्जनाको प्रक्रियाबाट मञ्चनका लागि तयार भयो नाटक । तैपनि स्थानीय दर्शकहरूमा यसको प्रयोग र परीक्षण बाँकी नै थियो ।

नेपाली भाषाको संवैधानिक मान्यताका निम्ति आन्दोलित दार्जीलिङको मानसिकता, रङ्गमञ्चमा रङ्गकर्म शिथिल हुँदै गएको अवस्था थियो। दर्शकहरू चलचित्रतर्फ आकर्षित थिए । उनीहरूलाई फकाएर रङ्गमञ्चतर्फ फर्काउनु कम्ता चुनौती थिएन । धन्न ! प्रथम प्रदर्शनमै दर्शकहरूले हामीलाई पास मार्क दिए ।

यो नाटकको पहिलो प्रदर्शनको क्षणबारे अलि प्रष्ट पारिदिनुहोस् न । त्यो बेलाको अनुभव र क्षणलाई कसरी सम्झना गर्नुहुन्छ ?

जीडीएनएस द्वारा निर्माण गरिएको यस नाटकलाई म आफैंले निर्देशन गरेको थिएँ । पहिलो पटक अक्टोबर ६ देखि १२ सम्म अनि दोश्रो पटक १ नोभेम्बरदेखि ८ सम्म प्रदशर्न भएको थियो । त्यो सन १९७२ सालको कुरा हो

पहिलो र दोश्रो दिन शहर बजारकै दर्शकहरू थिए । तेश्रो दिनदेखि चिया बगान र बस्तीका दर्शकहरू गाडी रिजर्भ गरेर ओइरिन थाले । त्यसपछि हाउसफुल हुन थाल्यो । सहभागी गायकहरू, सङ्गीत निर्देशक, प्राविधिक अनि रङ्गकर्मी साथीहरू खुसी हुनु स्वाभाविकै थियो । यस्तो पनि अनुभूति गरियो- धाप मार्ने हातहरू, जुम्ल्याहा हातहरू अनि धारे हातहरू ।

सुरूमा प्रदर्शन हुँदा यो नाटक तपाईंलाई चिनाउने कीर्तिमानी नाटक बन्नेछ भन्ने सोच्नु भएको थियो ?

अहँ सोचेको थिइनँ । बरु नाटक नचल्ने हो कि भन्ने छट्पटी थियो ।

दार्जीलिङमा सफलतापूर्वक मञ्चनपछि काठमाडौंमा प्रदर्शनका लागि ल्याउने जमर्को कसरी गरियो, नेपाल ल्याउन कसले सूत्रधारको काग गर्‍यो ?

सन् १९७४ मा नेपाली साहित्य सम्मेलन दार्जीलिङले स्वर्ण जयन्ती मनायो । यसमा सहभागी हुन सूर्य विक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान आएका थिए । मोहन कोइराला, वैरागी काइँला, तुलसी दिवस, मोहन हिमाँसु थापा अनि धेरै साहित्यकार र पत्रकारहरू आएका थिए । उहाँहरूको सम्मानमा जीडीएनएसले यो नाटक मञ्चन गर्‍यो ।

काठमाडौंमा पनि यसलाई मञ्चन गर्ने इच्छा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपतिसमक्ष हाम्रो संस्थाले राख्यो । सन् १९७२ मा उक्त नाटकको मञ्चन हुँदै गर्दा प्रज्ञा प्रतिष्ठानका उपकुलपति लैनसिंह वाङ्देल दार्जीलिङ आउनुभएको थियो । विशेष अतिथिका रूपमा सम्मान गर्दै उहाँलाई पनि हामीले नाटक देखायौं अनि हाम्रो इच्छा दोहोर्‍यायौं । उही बेला नेपाली चलचित्र ‘मनको बाँध’ क्यापिटल हलमा प्रदर्शन गरियो । यसका कलाकारहरूलाई विशेष अतिथिको रुपमा हामीले उक्त नाटक देखायौं ।

उहाँहरूका उत्साहवर्द्धक शब्दहरू हाम्रा निम्ति उपहार बनेका थिए । यस चलचित्रका वितरक तथा भू.पू. रापस हरकुमार सिंहले हामीलाई काठमाडौं आउन हौस्याउनुभयो । अन्तमा १९७६ को फेब्रअरीमा प्रज्ञा प्रतिष्ठानको निम्तो पाएर उक्त नाटक काठमाडौं पस्यो ।

काठमाडौंमा आउँदा दार्जीलिङमा पहिलोपल्ट मञ्चन हुँदाका कलाकारहरू नै थिए कि, परिवर्तन गर्नुपर्‍यो ? आर्थिक व्यवस्थापन कसरी मिलाउनुभयो ?

काठमाडौंमा सन् १९७६ मा मञ्चन गर्दा सबै कलाकारहरू पुरानै थिए । दुई तीनजना सरकारी कर्मचारी थिए । उनीहरूले बिदा पाएनन् । उनीहरूको ठाउँमा अरू कलाकारहरू आए । प्रज्ञा प्रतिष्ठानले औपचारिक रूपमा निम्तो पठाएको थियो । यसकारण खाने, बस्ने, यातायात आदिको व्ययभार प्रतिष्ठानले नै पठाएको थियो । खिचापोखरीस्थित डिलक्स लजमा कलाकारहरू राखिएका थिए ।

यो नाटक राजालाई देखाउन तपाईंले इच्छा गर्नुभएको हो कि एकेडेमीले नै निम्तो गरेको हो ?

हाम्रो इच्छा हो । उहिले बालकृष्ण समजीले आफ्नो टोली दार्जीलिङ लगेर अमरसिंह र प्रल्हाद देखाएका थिए। उबेलादेखि गोदुनिसुले यो इच्छा पालेर बसेको थियो । कालान्तरमा यो इच्छा साकार भयो ।

अनि  यो नाटक हेरेर राजा निकै प्रशन्न भएर १ लाख नगद पुरस्कार पनि दिनुभएको थियो होइन ?

नगद पुरस्कार दिएको कुरा साँचो हो । नाटक राम्रो लाग्यो । फेरि यस्तै नाटक लिएर आउन राजाले भने।

काठमाडौंमा नाटक प्रदर्शन निकै सफल भयो होइन ? त्यो समयको अनुभव कस्तो रह्यो ?

नेपाली कला, साहित्य र संस्कृतिको तीर्थस्थल काठमाडौं उपत्यका । यी सबैको ढुकढुकी प्रज्ञा प्रतिष्ठान । रङ्गमञ्चका विविध उपकरणयुक्त एउटा विशाल अनि भव्य रङ्गशाला । शिष्ट, सौम्य र सिर्जनात्मक दर्शकहरू । यसरी दर्शकहरूसँग रागात्मक सकारात्मक नाता गास्ने अवसर पाए रङ्गकर्मीहरूले । प्रस्तुतिले दर्शकमा पारेको प्रत्यक्ष प्रभाव र तत्काल त्यसको प्रतिक्रियाबाट दर्शकहरूको ग्रीन सिग्नल पाउनेबित्तिबै हामीमाझ सकारात्मक उर्जा सञ्चारित भएको थियो ।

टिम स्पिरिट र टिम वर्कको परिणाम स्वरुप हामीलाई अनपेक्षित सफलताको पगरी गुथाइदियो । विभिन्न भेटघाट, सभा, गोष्ठी र अन्तर्क्रियाबाट हामीले राय, सुझाव र सल्लाह पायौं । कतिपय शुभचिन्तकहरूले सतर्क र होशियार रहन चेतावनी पनि दिनुभयो।

महान साहित्यकार, कलाकार, प्रतिष्ठित विद्वान विदुषीहरूको सान्निध्य पाउनु हाम्रा लागि आशीर्वाद नै थियो । दुई अलग अलग भू-भागमाझ एउटा अर्को पुल थपिएको थियो । यसरी मेचीपारिका रङ्गकर्मीहरूले एउटा नयाँ साँस्कृतिक भूगोल आविष्कार गरेका थिए। नाटकको सफलताको श्रेय नाटकप्रेमी दर्शकहरूलाई दिनुपर्छ ।

यो नाटकमा तपाईंले नै गीत लेख्नुभयो । ती गीत नाटक लेखनसँगै स्वत स्फूर्त रचिएका हुन् कि, कसरी ती गीतको जन्म भयो ?

जातिभेद र छुवाछुत नेपाली हिन्दु समाजको कलङ्क हो । सुरिलो लोक गायक गाइनेको जीवन भने बेसुरा छ । उसले भोगेका विभेदपूर्ण व्यवहार अनि सामाजिक अन्याय उसैको गीतले चित्रित गरेको छ । कुटिलता, जटिलता र तनाउमा जेलिएको नाटकीय स्थितिमा सम्वाद असमर्थ हुन्छ । यस्तो अवस्थामा पात्रहरू भित्रै गुञ्जिरहेका भावहरू गीत सङ्गीत बनेर वाचाल हुन्छन् ।

नायिकालाई बेहुलीको रूपमा माइतबाट अन्माउदा गीतको स्थायीसहित पहिलो अन्तरा गुञ्जिन्छ । नायिका र उसको बाबु आफ्नो थातथलो छोडेर जाँदा स्थायीसहित दोश्रो अन्तरा गुञ्जिन्छ पार्श्वभागमा । नाटकको सारवस्तु सहज सम्प्रेषणीय बनाउन यस गीतले केन्द्रीय भूमिका खेलेको थियो । विवाहको रमाइलो वातावरण, चहलपहल, ख्यालठट्टा अनि स्थानीय रंगरोगनको इन्द्रेणी ।

पारम्परिक साँस्कृतिक स्वाद चखाउँछ ‘देउरालीका ठिटी हो’ गीतले । नाटकीय स्थिति र प्रसङ्गको माग अनुसार सिर्जना गरिएका गीतहरू स्वस्फूर्तः र स्वाभाविक छन् ।

‘अनि देवराली रुन्छ’ का सबै जसो गीतहरू रेडियोमा बज्दा पनि त्यत्तिकै कर्णप्रिय भए । त्यस नाटकका लागि लेखिएका बाहेक अरू गीतहरू पनि छन् कि ? कि गीत लेखनमा तपाईं जान चाहनुभएन ?

गायक सङ्गीतकार मणिकमल क्षेत्रीसँग मित्रता, सङ्गति र सङ्गत गर्न थालेपछि मेरो गीत लेखन सुरु भएको हो । सन् १९७० तिरकै कुरा हो, गम्भीर गीत रचना गर्ने उद्देश्यले लेखिएका ती गीतका अन्तर्वस्तु युवासुलभ थिएनन् । जीवनका गतिहीनता र अस्तव्यस्तता मानवीय संवेदना र करूणा ती गीतबाट प्रतिध्वनित गराउने विनम्र प्रयास भयो ।

मुख्य कुरो त के भने गीतको शब्द रचना गर्दा गेयात्मकता, लयात्मकता, स्वाभाविक माधुर्य र भाषिक सौन्दर्यप्रति म सदैव सचेत रहन्थें । मणिकमल साम्ची भुटान पसेपछि भने हाम्रो सिर्जनानात्मक सहकार्य सकियो । मेरा अन्य नाटकका गीतहरू पनि कर्म योञ्जनकै सङ्गीतमा घोलिएका छन् । ती नाटकहरू हुन्- फेरि इतिहास दोहोरिन्छ, क्रसमा टाँगिएको जिन्दगी, विद्रोही राजरक्त । प्रताप सुब्बाद्वारा निर्देशित अनि शान्ति ठटालद्वारा सङ्गीतबद्ध नेपाली चलचित्र ‘परालको आगो’ मा मेरा तीन गीतहरूले शरण पाएका छन् ।

शान्ति ठटालद्वारा नै लयबद्ध मेरो एउटा गीतलाई नारायण गोपालको स्वरले पखेटा हालिदिएको छ । त्यो गीत हो- ‘मेरो कथा खाली खाली पिंजडामा खोज..”।

यति लोकप्रिय र कर्णप्रिय गीतका सर्जक तपाईंले गीत लेखनलाई किन निरन्तरता दिनुभएन ?

जीवनको लयमा प्रलय आएपछि मार्ग चित्र नै अनपेक्षित दिशातिर मोडियो । संगत, संगति र सृजनात्मक सहकार्य पछि छुट्दै गए । शब्दहरू तुन्ने गीतमा बुन्ने सुर सरोवरमा पौडने दिनहरू अस्ताउँदै गए । यस्तै कारणले गीत रचना निरन्तर हुन सकेन ।

जीवनको लयमा कसरी प्रलय आयो, भन्न मिल्ला ?

माफ गर्नु होला, कतिपय निजी कुरा सार्वजनिक गर्न नमिल्दो रहेछ ।

नाटक प्रदर्शनकै क्रममा नेपालका वरिष्ठ विद्वान लेखक जयराज आचार्यले गोरखापत्र दैनिकको १६ फागुन २०३२ को अङ्कमा ‘एक दृष्टिमा अनि देउराली रुन्छ’ लेख लेखेर छपाएका थिए, जसमा उनले भनेका छन्- यसलाई ग्रीक, रोमन वा शेक्सपियरका दुःखान्तहरूसित भन्दा इब्सेन र वर्नार्ड शा का जस्ता सामाजिक दुखान्तकारका कृतिहरूसँग दाँज्न सकिन्छ। तपाईंलाई यो टिप्पणी कस्तो लाग्यो ?

डा. जयराज आचार्यको टिप्पणी सकारात्मक अनि रचनात्मक छ । ग्रीस तथा रोमका नाटकमा धीरोहस्त एवं धीरललित पात्रहरू हुन्छन् । हाम्रो नाटक भने भुइँमान्छेको आख्यानमा आधारित छ । हेनरि इब्सेन प्रथम महान यथार्थवादी नाटककार हुन् । पुराना मूल्य र मान्यताको विरोध गर्दै उनले महिला मुक्ति र स्वतन्त्रताको पक्षमा वकालत गरेका छन् । जर्ज बर्नार्ड शाले पनि तर्क र हास्यको आवरणमा समाजका बेथिति र विसङ्गतिमाथि प्रहार गरेका छन् ।

हाम्रो नाटकमा भने लिङ्गभेद, वर्गभेद र जातिभेदबाट पीडित पात्रहरू छन् । यसर्थ यसमा कुनै परिभाषित खलपात्र छैन । यदि कुनै खलपात्र छ भने त्यो परम्परागत सामाजिक व्यवस्था नै हो । बात लागेर, जार काटेर अनि थातथलो खोसिएर प्रमुख पात्रहरू निर्वासित भएका छन् । उनीहरूको निर्वासन पलायन चाहिँ होइन । परिवर्तित परिस्थितिसँग जुझ्दै उनीहरू नयाँ दिशातर्फ अग्रसर हुन्छन् ।

यो नाटकबाट प्रभावित भएर राजा वीरेन्द्रले एकेडेमीका त्यतिखेरका सदस्य सचिव सत्यमोहन जोशीलाई त्यस्तो नाटक लेख्न सकिंदैन भनेर सोधनी भएको र त्यसैको जवाफमा सत्यमोहन जोशीले ‘फर्केर हेर्दा’ नाटक लेखेका हुन् र प्रज्ञा भवनमा मञ्चन भएको भन्ने सुनिन्थ्यो, त्यो कुरा सत्य थियो ?

सन् १९७६ को अप्रिल वा मे महिना होला । म नेपाली विषयको दोश्रो वर्षको परीक्षा दिन आएको थिएँ । प्रज्ञा प्रतिष्ठानको रङ्गशालामा ‍’फर्केर हेर्दा’ नाटक मञ्चन भइरहेको थियो । राष्ट्रिय विकास सेवामा सहभागी विद्यार्थीको अनुभवको आधारमा यसको आलेख तयार गरिएको थियो ।

पात्रहरूसित सास हालेर रंग शिल्पीहरूले चरित्रहरूलाई चलायमान तुल्याएका थिए । एउटी सानी किशोरीको भूमिकालाई शकुन्तला गुरूङ्गले अविस्मरणीय बनाएकी थिइन् । नृत्य, गीत र संगीतको कलात्मक संयोजन, विश्वसनीय रंगसज्जा, प्रचण्ड मल्लको परिपक्व प्राविधिक व्यवस्थापन, सत्यमोहन जोशीको विचारोत्तेजक नाट्यलेखन अनि हरिहर शर्माको कुशल निर्देशन यस नाटकका उल्लेख्य विशेषता हुन् ।

यसमा राजा वीरेन्द्रको प्रसंगबारे चाहिँ मलाई केही थाहा भएन ।

दार्जीलिङ छाडेर स्थायी रूपले काठमाडौं बस्ने निर्णय कुनै आकस्मिक घटना थियो कि के थियो ?

विगतर्फ फर्केर हेर्न चाहन्न । आफैलाइ छोडेर आएछु कि जस्तो पनि लाग्छ । यता आउने निर्णय आकस्मिक थियो तर स्थायी रुपले बसाबास गर्न थालेपछि नियमित भयो।

काठमाडौंको सुरूवाती बसाइमा कत्तिको कठिनाई भयो दार्जीलिङको भन्दा यहाँ के भिन्नता थियो ?

भौतिक रूपमा भने खासै कठिनाइ भएन । भावनात्मक स्तरमा भने आफैंलाई अनुकूल तुल्याउन केही समय लाग्यो । कस्तो संयोग परेछ भने हामी काठमाडौंमा ओर्लनु, उता जुल्फिकर अलि भुट्टोलाई प्राणदण्ड दिनु । त्यसको बिरोध गर्न बिद्यार्थीहरू पाकिस्तानी दूतावासको प्राङ्गणमा धर्ना दिइरहेका थिए । घटनाहरू अप्रत्यासित घुम्तितिर मोडिंदै गइसकेका थिए । हाम्रो डेरा ठमेलमा अस्कल क्याम्पसकै छेउमा थियो । सडक गल्लीमा प्रहरीहरूको खेदाखेद । विद्यार्थीहरूको भागाभाग । असन्तोष, आक्रोश र विरोधका स्वरहरू बतासिंदै, अकाशिंदै । पोस्टर, प्लेकार्ड र जुलुसहरू । जिन्दावाद अनि मूर्दावादका नाराहरू । इन्कलावका दिनहरू, कोलाहल र चित्कारका रातहरू । अन्तमा जनमत सङ्ग्रहको घोषणा । मेरो कलमबाट उदायो, ‘हराएका क्षितिजहरू’ ।

ठमेल भन्ने बित्तिकै मलाई ठमेलमा तपाईंको डेरामा विस. २०३६ सालमा छोटो अन्तर्वार्ता लिएको याद आयो । त्यहाँ मलाई नीर विक्रम प्यासीले लगिदिएका थिए । उहाँसँग चिनाजानी कसरी भयो ? कस्तो सम्बन्ध थियो ?

म आफैं सोध्दै खोज्दै भेट्न गऐको थिएँ। सामान्य चिनजान थियो ।

काठमाडौं बसाइ हुन थालेपछि तपाईं लेखनमा, नाट्य मञ्चनमा अलि सुस्ताउनु भएको हो  ?

कतिले त तपाईं दार्जीलिङ मै हुनुहुन्छ भन्ठान्थे ! भनिहालें नि मेरो कलमबाट ‘हराएका क्षितिजहरू’ उदायो । यस नाटकका प्रमुख कलाकारहरू थिए-सुशीला के.सी.(रायमाझी), मदनदास श्रेष्ठ । मिति २७, २८, २९ भाद्रमा प्रज्ञा भवनमा मञ्चित हुने निश्चित भइसकेको थियो । अन्तिम समयमा हल पाइएन । बाध्यतावस मिति १९, २० र २२ गते असोजमा यही नाटक राष्ट्रिय सभागृहमा मञ्चित भयो।

मेरै पहिले मञ्चन भएका नाटक र एकाङ्कीबाट केही पात्रहरू बोलाएँ । तत्कालीन परिस्थितिबाट जन्मेका केही पात्रहरू मेरो मस्तिष्कमा वास माग्न आइसकेका थिए । यी दुई पात्रहरू रङ्गमञ्चमै भेट भएको थियो । मुलुकमा विकसित जटिल परिप्रेक्षमा ती पात्रहरू चलायमान भएका थिए । नितान्त प्रयोगबादी यस नाटकमा त्यो समयको नाडी छाम्ने प्रयास गरिएको थियो ।

आख्याननिरप्रेक्ष यो नाटक सडकमा सुरु हुन्छ । कार्यव्यापार सडकमै घटित हुन्छ अनि सडकमै सकिन्छ । नारायण गोपाल साँस्कृतिक संस्थानको महाप्रबन्धक भएको समयमा मेरो नाटक ‘क्रसमा टाँगिएको जिन्दगी’ एक महिना भन्दा धेरै मञ्चित भएको थियो ।

२०४६ सालको राजनैतिक परिवर्तनपछि मेरो अर्को नाटक ‘फेरि इतिहास दोहरिन्छ’ मञ्चन भएको थियो । प्रकाश सायमीले आफ्नै निर्देशनमा यसलाई प्रज्ञा भवनमा प्रस्तुत गरेका थिए । उनकै निर्देशनमा मेरो अर्को प्रयोगशील नाटक ‘असत्यं अशिवं असुन्दरं’ राष्ट्रिय नाचघरमा मञ्चित भएको थियो । उता म फुक्काफाल थिएँ । यता सीमाहरू कोरिए । आफू सम्बद्ध शैक्षिक संस्थाहरूमा आफूभित्रको रङ्गकर्मीलाई जिउँदै राखें । दार्जीलिङमा मलाई नेपालको भन्छन् । काठमाडौंमा मलाई दार्जीलिङको भन्छन् । आखिर म कहाँको मान्छे ? शायद कलाकारको कुनै देश हुँदैन ।

पछिल्लो समयमा तपाईंका नयाँ कृतिहरू प्रकाशनमा आएको छैन, लेख्न छाड्नुभयो ?

कथा सङ्गग्रह, एकाङ्की संग्रह छपाउने रहर चाहिँ लागेको हो । छापिदिने संस्थातिर धाइरहन मन लागेन ।

आत्मकथा लेख्नू भन्ने सुझाव कहीँबाट आएको छ ? त्यसबारे केही तयारी छ तपाईंको ?

मभित्रको रङ्गकर्मी निर्माण र यात्रा संस्मरण सम्बन्धी निबन्ध लेख्ने इच्छा छ । तर प्रकाशक पाउन गाह्रो ।

लेखक
गोविन्द गिरी प्रेरणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?