१७ कात्तिक, काठमाडौं । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता प्रक्रियाबाट असन्तुष्ट भएका नेताहरूले छुट्टै ध्रुवीकरणको प्रयास थालेका छन् ।
यो ध्रुवीकरण नेत्र विक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल सहितको हुने सम्भावना छ ।
माओवादीका असन्तुष्ट नेताहरू उपमहासचिव जनार्दन शर्मा, राम कार्की र एकीकृत समाजवादी महासचिव घनश्याम भूसाल लगायतका नेताहरूबीच नयाँ ध्रुवीकरणका लागि अनौपचारिक कुराकानी चलिरहेको छ । यो ध्रुवीकरणमा भूसालको पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनालसहित छन् ।
यी दुवै समूहका नेताहरूको विप्लव सँगपनि संवाद भइरहेको छ ।
‘हामी अनौचपारिक कुराकानी त गरिरहेका छौं । यसले कस्तो स्वरूप लिन्छ भन्ने अहिले नै तय भएको विषय होइन,’ नेता भूसालले अनलाइनखबरसँग भने,’ कम्युनिस्ट आन्दोलनलाई रुपान्तरणसहित लैजानुपर्ने आवश्यकता छ ।’
माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका ८ घटकबीच आइतबार पार्टी एकताको घोषणा भएको थियो । उक्त घोषणालाई बुधाबार हुने राष्ट्रिय भेलाले औपचारिकता दिइ नयाँ पार्टी बन्ने छ ।
त्यसैले अन्तिम समयमा पनि एकतामा जोड्नका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार जनार्दन शर्मा र सोमबार बिहान घनश्याम भूसाललाई भेटेका थिए ।
छुट्टै छुट्टै भएको भेटमा दुवै नेताहरुले एकताका लागि अहिलेको नेतृत्वले छोड्नुपर्ने अडान लिएका थिए । तर नेतृत्व नछोडि एकताको प्रक्रिया अघि बढाएपछि उनीहरूले अब दाहालसँगको सम्बन्ध अन्तिम भयो भनेर हिँडेका थिए ।
दाहालले शर्मा र भूसाल दुवैलाई नयाँ बन्न लागेको पार्टीमै राजनीतिक भविष्य सुरक्षित हुने भन्दै फकाउने खोजेका थिए । तर उनीहरूले यो तरिकाले न आन्दोलन अघि बढ्छ न जनताले पत्याउँछन् भन्दै अहिले संगै अघि बढ्न नसक्ने जानकारी गराएर हिँडे ।
दलसँगको सम्बन्ध टुटाएका यी नेताहरू अब नयाँ मोर्चाबन्दीमा अग्रसर बनेका छन् । सोमबार पनि उनीहरूले आ-आफ्नो समूहमा आन्तरिक छलफल गरेका थिए ।

विप्लव नेतृत्वका पार्टीका स्थायी समिति सदस्य भरत सीले नयाँ कम्युनिस्ट केन्द्र बनाउने संकल्प अगाडि सारेको बताए ।
‘व्यवहारिक रूपमै कम्युनिस्ट व्यवहार गर्ने, उत्पादनमा जोडिने र कम्युनिस्ट आन्दोलन अगाडि बढाउने संकल्प हो’ उनले भने,’नयाँ कम्युनिस्ट केन्द्र बन्ने वातावरण अहिले पनि बनेको छ । विचार र व्यवहारमा नयाँ हुनुपर्छ । यस्तो शक्ति र व्यक्ति दुवैसँग छलफल हुन्छ र भइरहेको छ । यो क्रममा सम्भव भएका सबैसँग कुरा हुनु स्वाभाविक हो, भइराखेको छ ।’
माओवादी केन्द्रले विप्लव नेतृत्वको पार्टीसँग पनि एकताको प्रयास गरेको थियो । तर यो पार्टीसँग दाहालको कुरा मिलेन । बरु दाहालले सिंगो पार्टी ल्याउने भन्दा पनि त्यो पार्टीका आफू अनुकूल हुने नेताहरूलाई फुटाएर ल्याउने प्रयास गरे । जुन प्रयास केही हदसम्म सफल पनि भयो । नेताहरु चिरन पुन र कर्णजीत बुढाथोकीले अलग अलग समूह बनाए माओवादी केन्द्रसँगको एकता आइपुगे ।
आफ्नो पार्टीलाई चोइट्याए पनि विप्लव पनि छुट्टै शक्ति विस्तारको योजनामा छन् । त्यो योजनामा घनश्याम भूसाल र जनार्दन शर्माहरू पनि सहकार्य गर्न आइपुग्ने सम्भावना बढेको छ ।
हुन त यी नेताहरूको समूहबीच केही समयदेखि नै वैचारिक बहसको नाममा छलफल र सम्पर्क हुने गरेको थियो । गत साउनमा घनश्याम भूसालको संयोजनमा काठमाडौंमा वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन शीर्षकमा बहस चलाएका थिए ।
त्यही कार्यक्रम मार्फत् माओवादी नेता जनार्दन शर्माले मनमोहन अधिकारी बाहेकका कम्युनिष्ट नेताले असुली धन्दा चलाएकै छन् भन्दै प्रचण्डलाई आरोप लगाएका थिए । यस्तै खालको कार्यक्रम बुटवलमा पनि भएको थियो । जुन कार्यक्रमको संयोजन विप्लव सहितका नेताहरूले गरेका थिए । यी दुवै कार्यक्रमको उद्देश्य नयाँ खालको वैचारिक ध्रुवीकरण गर्ने भन्ने थियो ।

गत वर्ष भूसाल कपिलवस्तुमा विप्लवले चलाइरहेको कम्युनको अवलोकन गर्नका लागि घरमै गएका थिए । समाजवादी मोडलमा खेती गरेको भन्दै भूसाल त्यो मोडल हेर्न गएका थिए । त्यही बेलादेखि उनीहरूको संवाद र ध्रुवीकरणको प्रयास भइरहेको छ ।

यसअघि विप्लवले चुनावी राजनीतिकको बाटो औपचारिक रूपमा पक्रेका थिएनन् । तर अब फागुन २१ मा हुने चुनावका लागि भन्दै दल दर्ताको निवेदन दिएपछि यसअघि संसदीय चुनावी राजनीतिमा रहेका भूसाल र शर्माहरूलाई विप्लवसँगको मोर्चाबन्दीमा कुनै अप्ठेरो छैन ।
एकीकृत समाजवादीमा ठूलै विग्रह होला र नयाँ पार्टी नै पुनर्गठन गर्न सकिएला भन्ने भूसालहरूको योजनाले मूर्त रूप लिने जस्तो देखिएन । एकता प्रक्रियामा विमति राख्ने रामकुमारी झाँक्री लगायतका नेताहरू पनि एमालेतर्फ जाने देखिएपछि भूसाल लगायतका नेताहरूको समूह कमजोर छ ।
उता माओवादीमा पनि जनार्दन शर्माले पार्टीबाटै अलग हुने सवालमा ठूलो समूहले साथ दिएको छैन । पार्टीभित्रै प्रचण्डविरुद्ध संघर्ष गर्ने सवालमा जनार्दनलाई साथ दिएका नेताहरू पनि पार्टीबाट अलग हुने अवस्थालाई चाहीँ साथ दिएका छैनन् ।
शर्माको राजनीतिक रूपमा पकड रहेको रुकुम जिल्लामा पनि उनी पक्षका धेरै नेताहरूले खुलेर साथ दिएका छैनन् ।
प्रचण्डले माओवाद छोडे भनेर कार्यकर्ताको भावना क्यास गरेर जाने अवस्थामा पनि शर्मा छैनन् । किनकी एमालेसँगको एकताकै क्रममा माओवाद छोड्ने निर्णय हुँदा शर्मा नै उक्त सहमतिका सुत्रधार थिए । त्यसैले उक्त एजेण्डाबाट अघि बढ्न नसक्ने अवस्थामा शर्माका लागि पनि कुनै न कुनै समूहसँग ध्रुवीकरणको आवश्यकता छ ।
यता विप्लवलाई पनि पहिलोपटक चुनाव भाग लिनु निकै चुनौतिपूर्ण छ । त्यसैले माओवादीसँग एकता नभइरहेको अवस्थामा अन्य साना वामघटक र समूहहरुबीच सहकार्य एकता वा मोर्चाबन्दीको बाध्यता छ ।
यिनै बाध्यताकाबीचमा यी तीन धारमा रहेका दल र समूह मिलेर जाने स्थिति देखा परेको हो । राजनीतिक रूपमा यो शक्तिले कस्तो आकार लिन्छ त्यसको आधारमा यसले अन्य दलसँगको चुनावी गठबन्धनसम्म निर्माण गर्न सक्ने नेताहरूले बताएका छन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4