News Summary
Generated by OK AI. Editorially reviewed.- जिम्बाबे क्रिकेटले सिन विलियम्सले ड्रग्सको लतसँग संघर्ष गरिरहेको जानकारी पाएपछि उनको केन्द्रीय करार नवीकरण नगर्ने निर्णय गरेको छ।
- विलियम्सले २० वर्षभन्दा लामो अन्तर्राष्ट्रिय करियरमा २७३ खेल खेलेका छन् र ८ हजारभन्दा बढी रन बनाएका छन्।
- बोर्डले उनको उपचार प्रयासको प्रशंसा गर्दै स्वास्थ्य सुधार र भविष्यका प्रयासमा सफलता कामना गरेको छ।
१८ कात्तिक, काठमाडौं । जिम्बाबेका अनुभवी ब्याटर सिन विलियम्स अब राष्ट्रिय टिममा छनोट नहुने भएका छन्। जिम्बाबे क्रिकेटले उनले आफू ड्रग्सको लतसँग संघर्ष गरिरहेको जानकारी दिएका कारण उनको केन्द्रीय करार नवीकरण नगर्ने निर्णय गरेको छ।
बोर्डले विज्ञप्तिमा भनेको छ, ‘विलियम्ससँग अनुशासन सम्बन्धी समस्या र बारम्बार अनुपस्थित हुने बानीले टिमको तयारी र प्रदर्शनमा असर पारेको छ।’
३९ वर्षीय विलियम्सले २० वर्षभन्दा लामो अन्तर्राष्ट्रिय करियरमा सबै फर्म्याटमा गरी २७३ खेल खेलेका छन् र ८ हजारभन्दा बढी रन बनाएका छन्। उनी विशेषगरी एकदिवसीय क्रिकेटमा उत्कृष्ट रहे, जहाँ उनले ५२१७ रन, ८ शतक र ३७ अर्धशतक बनाएका छन्।
हालै उनले व्यक्तिगत कारण देखाउँदै पुरुष टी–२० विश्वकप अफ्रिका छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। तर आन्तरिक अनुसन्धानपछि उनले बोर्डलाई ड्रग्सको लत लागेको र रिहाबमा पुगेको बताए।
बोर्डले उनको उपचार प्रयासको प्रशंसा गरे पनि सम्भावित परीक्षणको समयमा टिमबाट पछि हट्नु व्यावसायिक र नैतिक मापदण्ड विपरीत भएको बताएको छ।
विलियम्सले २००५ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। बोर्डले उनको दुई दशक लामो योगदानको कदर गर्दै भनेको छ, ‘विलियम्सले जिम्बाबे क्रिकेटका धेरै महत्वपूर्ण क्षणहरूमा मुख्य भूमिका खेलेका छन्। हामी उनको स्वास्थ्य सुधार र भविष्यका प्रयासमा सफलता कामना गर्छौं।’
विलियम्स आफ्नो करियरभर बोर्डसँग उतारचढावमा रहँदै आएका थिए, तर उनी अझै पनि जिम्बाबेका सबैभन्दा सफल खेलाडीमध्ये एक मानिन्छन्।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4