१९ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ मा रहेको ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा जात्रा सुरु भएको छ ।
कात्तिक शुक्ल पूर्णिमाका दिन ‘पितृ’ सम्झने जात्राका रुपमा मनाइने नमोबुद्धमा बिहानैदेखि भीड लागेको छ ।
किंवदन्तीअनुसार शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’को जन्म भएको र उनको मृत्युपछि अस्थिपञ्जर गाडेर बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्ने प्रचलन छ ।
जात्राको अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लाग्ने गर्दछ । जात्राअन्तर्गत मंगलबार साँझदेखि बौद्ध धर्मालम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गर्दछन् । कात्तिक शुक्लपूर्णिमा तिथि अर्थात् बुधबार दिनभर र रातभर बत्ती बाल्ने गरिन्छ । जात्रा बिहिबार बिहानसम्म मेला लाग्ने गर्दछ ।
बत्ती बाल्नाले पितृलाई वर्षभरी उज्यालो हुने मान्यता अनुसार बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ । पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ती बाल्ने गरिएको नमोबुद्द भगवान घ्याङ गुठीका कार्यवाहक अध्यक्ष लोप्सन बज्र लामाले जानकारी दिए ।

विशेषगरी तामाङ र नेवार समुदायका धर्मालम्बीले मेला भर्ने गरेका छन । किंवदन्तीअनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए ।
पाँच डमरु जन्माएका बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको कथन छ । राजकुमारले बघिनिलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएका थिए । संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति छ ।
जात्रा-मेला बाहेक पनि नमोबुद्धमा सधैंजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गर्दछ । मेलामा काभ्रेपलाञ्चोक जिल्ला लगायत सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने गर्छ ।
प्रतिक्रिया 4