+
+
Shares

कैलाली कारागारबाट भागेका कैदीबन्दीले सुरक्षा चुनौती बढाए

कारागारबाहिर रहेकाहरूले थप अपराधिक कार्य गर्न सक्ने भन्दै उनीहरूको खोजी गर्ने र सम्भावित अपराध न्यूनीकरण गर्ने काम भइरहेको कैलाली प्रहरीको भनाइ छ।

जनक विष्ट जनक विष्ट
२०८२ कात्तिक १९ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली कारागारबाट भागेका ६ सय ६६ कैदीबन्दीमध्ये ४ सय ४० जना फर्किसकेका छन् भने २५६ जना अझै फरार छन्।
  • फरार कैदीबन्दीमा २१४ जना जघन्य अपराधमा संलग्न छन्, जसमा लागूऔषध, जबरजस्तीकरणी र कर्तव्य ज्यानका मुद्दाका कैदीहरू छन्।
  • कैलाली प्रहरीले फरार कैदीबन्दीको खोजी तीव्र बनाएको र उनीहरूले पुनः अपराधमा संलग्न हुनसक्ने जोखिमलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

१९ कात्तिक, धनगढी। कैलाली कारागारबाट भागेका जघन्य अपराधका कैदीबन्दी प्रहरीको नियन्त्रण बाहिरै भएपछि सुरक्षा चुनौती बढेको छ।

जेनजी आन्दोलनमा कैलाली कारागारबाट भागेका आधा भन्दा बढी कैदीबन्दी कारागार फर्किए पनि जघन्य प्रकृतिको मुद्दामा कैद सजाय भोगेका तथा न्यायिक हिरासतमा राखिएका धेरैजसो कैदीबन्दी भने बाहिरै छन्।

कैलाली कारागार प्रशासनकाअनुसार २४ भदौमा भएको जेनजी आन्दोलनका बलमा भागेका ६ सय ६६ जना कैदीबन्दीमध्ये चार सय ४० जना बन्दी गृह फर्किसकेका छन्। दुई सय ५६ जना भने अझै फरार छन्। जसमा कैदीको संख्या मात्रै एक सय ३५ छ।

फरारमा जघन्य प्रकृतिको अपराध मानिने कर्तव्य ज्यान, जबरजस्तीकरणी, लागूऔषध दुर्व्यसन जस्ता मुद्दामा कैद सजाय पाएका एवंम् न्यायिक हिरासतमा रहेकाहरूको संख्या मात्रै दुई सय १४ रहेको छ। उनीहरू मध्ये एक सय १९ जना भने दोषी ठहर भएर कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालय समेतको सहयोगमा अहिलेसम्म भागेका मध्ये आधाभन्दा बढीलाई कारागारको बन्दी गृहमा ल्याइए पनि जघन्य प्रकृतिका अपराधमा जोडिएका ठूलो कैदीबन्दीको संख्या बाहिर हुँदा सुरक्षा चुनौती थपिएको छ।

कारागार प्रशासनले उपलब्ध गराएको तथ्यांकअनुुसार सबैभन्दा धेरै लागूऔषध सम्बन्धी मुद्दाका कैदीबन्दी फरार छन्। लागूऔषध मुद्दाका ११ महिला र ८० पुरुष गरेर ९१ जना फरार रहेका छन्। उनीहरू मध्ये ४० जना कैदी छन् भने ५१ जना थुनुवा रहेका छन्।

लागूऔषधपछि जबरजस्ती करणी, जबरजस्ती करणी(हाडनाता) र जबरजस्ती करणी उद्योगका ७६ जना कैदीबन्दी छन्। उनीहरू मध्ये ४४ जना कैदी र ३२ जना थुुनुवा छन्। कर्तव्य ज्यान, ज्यान सम्बन्धी कसुर तथा आत्महत्या दुरुत्साहन मुद्दाका ४७ जना कैदीबन्दी बाहिरै छन्। कैदी मात्रै ३५ जना छन् भने १२ जना आरोपीत रहेको कारागारले जनाएको छ।

चोरी तथा नकाबजनी चोरीका ८, मानव बेचबिखन तथा ओसारपसार र चोरी पैठारीका ५/५, ज्यान मार्ने उद्योग, हातहतियार खरखजान र बैँकिङ कसुरका ४/४, मानव अपहरण तथा शरीर बन्धक र ठगीका ३/३, सवारी ज्यानका दुुई, डाँका चोरी, वन्यजन्तु सम्बन्धी कसुर र केही सार्वजनिक अपराधका एक/एक जना कैदीबन्दी फरार रहेका छन्।

कारागारबाट फरार रहेकाहरूमा विदेशी कैदीबन्दीको संख्या १९ रहेको छ। उनीहरूमा १० जना कैदी र ९ जना थुुनुवा छन्। कैलाली कारगारले फरार रहेका कैदीबन्दीमा जघन्य अपराधका कैदीको संख्या धेरै रहेको जनाएको छ।

कारागारबाट फरार भएकामध्ये जघन्य अपराधमा संलग्नहरू प्रहरीको नियन्त्रण बाहिरै रहेपछि कैलालीमा सुुरक्षा चुनौती बढेको विश्लेषण सुरक्षा निकायहरूले गरेका छन्। प्रहरी नियन्त्रण बाहिर रहेकाहरूले थप अपराधिक कार्य गर्नसक्ने भन्दै उनीहरूको खोजी गर्ने र सम्भावित अपराध न्यूनीकरण गर्न काम गरिरहेको कैलाली प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जघन्य अपराधमा संलग्न भएर कैद सजाय भोगिरहेका कैदीहरू कारागार बाहिर रहेको विषयमा प्रहरी गम्भीर रहेको बताए।

उनीहरू फेरि अपराधमा संलग्न हुनसक्ने कुरालाई ध्यानमा राखेर फरारको सूचीमा रहेका कैदीबन्दीको खोजी कार्य समेत तीव्र बनाइएको र पक्राउ पर्ने क्रम पनि जारी रहेको उनी बताउँछन्।

‘अपराधिक गतिविधिमा संलग्नहरू फेरि पनि अर्को अपराधमा संलग्न हुनसक्छन् भन्ने कुरालाई गम्भीर रूपमा लिएर काम भइरहेको छ,’ डीएसपी सिंहले भने, ‘कारागारबाट भागेका कैदीबन्दीको सबै सूची प्राप्त गरेर उनीहरूको खोजी भइरहेको छ। अरु जिल्लासँग समन्वय गरिरहेका छौं।’

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?