News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फुटबल खेलाडी संघले सातदोबाटो एन्फा कम्प्लेक्स गेटमा धर्ना कार्यक्रम आयोजना गरी ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गरेको छ।
- धर्नामा राष्ट्रिय टिमका खेलाडीहरू सहित समर्थकहरूले एन्फा विरुद्ध नारा लगाउँदै घरेलु फुटबल नियमित गर्नुपर्ने आवाज उठाएका थिए।
- खेलाडी संघले एक साता भित्र माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ र एन्फा अध्यक्ष मकवानपुरमा रहेका कारण छलफल हुन सकेको छैन।
२० कात्तिक, काठमाडौं । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स गेटमा फरक दृश्य देखियो । यसअघि सधैं फुटबल खेलाडीहरू गेट भित्र प्रवेश गर्थे । मैदानमा गएर खेल्थे, प्रशिक्षण गर्थे । तर बिहीबार भने उनीहरुले गेट भित्र प्रवेश पाएनन् । एन्फा कम्प्लेक्सको गेट बन्द गरिएको थियो । गेट भित्र प्रहरीहरू ठुलो संख्यामा तैनाथ थिए ।
अनि गेट बाहिर नेपालका लागि अन्तर्राष्ट्रिय खेल खेलिसकेका वर्तमान र पुराना खेलाडीहरू थिए । यसपटक खेलाडीहरू फुटबल खेल्नका लागि गएका थिएनन् । फुटबल हुनुपर्छ फुटबल खेलाउनुपर्छ फुटबल चलायमान हुनुपर्छ भन्ने माग लिएर एन्फा कम्प्लेस गएका थिए ।
तर सधैँ भित्र पस्ने खेलाडीहरूले बाहिरै बसेर एन्फा विरुद्ध धर्नामा बसे । नेपाल फुटबल खेलाडी संघले सेभ नेपाली फुटबल (नेपाल फुटबल बचाऊँ) भन्दै धर्ना कार्यक्रम आयोजना गरेको थियो ।
जसमा वर्तमान राष्ट्रिय टिमका खेलाडीहरू अन्जन विष्ट रोहित चन्द एरिक विष्ट सनिश श्रेष्ठ लगायत चर्चित खेलाडिहरूका साथै विक्रम लामा, विकेश कुथु, विशाल श्रेष्ठ लगायत खेलाडीहरू पुगेका थिए ।
उनीहरूको एउटै माग थियो ‘ए डिभिजन लिग हुनुपर्छ, खेलाडीले खेल्न पाउनुपर्छ, घरेलु फुटबल नियमित हुनुपर्छ ।’
खेलाडीको अधिकार नै खेल्ने हो, त्यही नभएपछि उनीहरू आफ्नो अधिकार पाउनुपर्छ भन्दै एन्फामा प्रदर्शन गर्न पुगेका थिए । तर एन्फाले सुरक्षा व्यवस्था कडा पार्दै खेलाडीहरुलाई गेटबाट भित्र प्रवेश गर्न दिएन ।
गेटबाहिरै बसेर खेलाडीहरूले एन्फा विरुद्ध नारा लगाउने देखि आफ्ना मागहरू सुनाइरहेका थिए । गेट चभित्र एन्फाका कोही पदाधिकारी थिएनन् । एन्फा प्रवक्ता सुरेश शाह मात्र भित्र थिए । उनले खेलाडीहरूलाई वार्ताबाट समाधान निकाल्ने प्रयास गरौँ भन्दै थिए । खेलाडीहरू भित्र प्रवेश गर्न माग गर्दै थिएन ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले मैदानमा खेल्न नदिएको एन्फाले एन्फामा शान्तिपूर्ण प्रदर्शन समेत गर्न नदिएको बताए । उनले धर्ना कार्यक्रम सुरुवात मात्र भएको र आगामी दिनमा अन्य कार्यक्रम पनि गर्ने बताए ।
‘पहिलो सुरुवात हो । यो भन्दा बढी अझ कडोर भएर आउँछौँ । हामीले बारम्बार आग्रह गर्दा पनि सुनुवाई हुँदैन । हामीले यो कार्यसमिति आएपछि नै भन्दै आएका हौँ । त्यसलाई सामान्य रुपमा भन्दा कमजोरी रुपमा लिनुभयो । त्यसको नतिजा आज हामी सडककमा आयौँ ।’ लामाले भने ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित उपाध्यक्ष, महासचिव सदस्यहरू अहिले मकवानपुरको हेटौंडामा भइरहेको एन्फा प्रेसिडेन्ट कप हेर्न पुगेका छन् । त्यसैले बिहीबार प्रवक्ता मात्र एन्फामा देखिए । एन्फा प्रवक्ताले खेलाडीहरूलाई सँगै बसेर छलफल गरौं भनेको विषय हाँस्यासपद रहेको लामाले बताए ।
‘उहाँले अहिले आएर भन्नुहुन्छ आउनुस छलफल गरौँ भनेर यो हाँस्यादपस कुरा हो । ८-९ महिना के हेरेर बस्नुभयो । अभिभावक भएपछि परिवारको जिम्मा लिनुपर्ला नि त! जिम्मेवार निकाय एन्फा हो र यो एन्फाले जिम्मेवार लिनुपर्छ ।’
एन्फा अझै मस्तीमा खेलाडी चाहिँ सास्तीमा
खेलाडीहरूले एन्फामा भ्रममा नपार, जिउँदै खेलाडी नमार, एन्फा अझै मस्तिमा खेलाडी चाहीँ सास्तीमा भनेर नारा लगाएका थिए ।
यस्तै फुटबल समर्थकहरूले पनि खेलाडीको अभियानलाई साथ दिँदै विभिन्न प्लेकार्ड बोकेर एन्फा पुगेका थिए । उनीहरूले एन्फाको ध्यान भ्रमण र भोट, नखेली खेलाडीले पाउँदैनन् नोट, इनफ अफ लाइज, लेट फुटबल राइज, हाम्रो बुट थन्किएका छन् हाम्रो खेल्ने अधिकार खोई, वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो फुटबल, नो गेम नो फेम, एन्फाज टु ब्लेम, जीवनभर फुटबल सिक्ने, खेल्न नपाए कसरी टिक्ने?, मैदान भित्र र बाहिर फेयर प्ले, फुटबलले नै दिन्छ गास, एन्फाबाट मरिस्कयो आस, खेल हाम्रो अधिकार हो लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

बिहीबार एन्फा गेट अगाडि धर्नामा फुटबल खेलाडीहरू मात्र बोलेका थिए । खेलाडी संघले खेलाडी बाहेक अरुलाई नबोल्न भनेका थिए । आज खेलाडी मात्र बोलेको र आगामी दिनमा खेल मैदानमा जस्तै आन्दोलनमा पनि फुटबल समर्थकहरूको साथ हुने विक्रम लामाले बताए ।
‘आज हामी खेलाडीले मात्र बोल्यौँ । फुटबल समर्थकहरूमा जुन निराशा छ । मैदानमा जसरीले समर्थकले हौसला दिनुहुन्छ अब यसमा पनि उहाँहरूसँग सहकार्य हुन्छ ।’
फुटबल निरन्तर हुनुपर्छ भन्दै समर्थकहरूले पनि फुटबल खेलाडीलाई साथ दिइरहेका थिए । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका र प्रशिक्षक रहिसकेका बालगोपाल महर्जनदेखि मृगेन्द्र मिश्र लगायत प्रशिक्षक पनि धर्नामा पुगेका थिए ।
‘खेलाडीको मेडल एन्फालाई उपहार’
धर्नामा खेलाडीहरूले आफूले जितेका मेडल समेत बोकेर गएका थिए । एन्फाको गेट नखुलेपछि खेलाडीहरूले आफूले जितेको विभिन्न मेडलहरू एन्फाकै गेटमा जुण्ड्याइदिए । जुन दृश्य राम्रो थिएन ।
खेलाडीका लागि आफूले जितेको मेडल अमुल्य हुन्छ । तर उनीहरूले कडा मिहिनेत गरेर जितेको मेडल बिहीबार एन्फाका लागि उपहार भन्दै छाडेर आए । खेलाडीले विभिन् समयमा जितेका मेडल ल्याएको विक्रम लामाले बताए ।
‘हामीले धेरै मेडल राखेका छौँ । यो प्रतियोगिता भनेर छैन । तर मेडल ल्याएर दिएका छौँ, लामाले भने,’त्यो जित्नका लागि कति मिहिनेत गर्नुपर्छ, रगत पसिना बगाउनुपर्छ भनेर त्यो महसुस गरोस्, हेक्का रहोस् भनेर ल्याएर राखेको हो ।’

बटमलाइन ए डिभिजन लिग
खेलाडीहरूको अहिलेको मुख्य माग भनेको यसै वर्ष शहीद स्मारक ए डिभिजन लिग हुनुपर्छ भन्ने छ । घरेलु फुटबल नियमित रुपमा चलायन हुनुपर्ने र ए डिभिजन लिग तोकिएकै समयमा हुनुपर्ने उनीहरूको माग हो ।
‘घरेलु फुटबल चाँडो भन्दा चाँडो सुरु हुनुपर्छ । पुष ९ गतेदेखि ए डिभिजन लिग गर्छौं भनेर घोषणा गर्नुपर्छ,’ लामाले भने, ‘फुटबलमा धेरै व्यथिति छ त्यसमा दुई मत छैन । त्यो विरुद्ध पनि लडौँला । तर खेलाडीले खेल्न पाउनुपर्छ भन्ने हाम्रो आवाज हो । त्यो सुनेर चाँडै उहाँहरूले कार्यान्वयन गर्नुपर्यो ।’
एन्फा र क्लबले केहीदिनअघि बैठकमा यस वर्ष राष्ट्रिय लिग मात्र गर्ने र ए डिभिजन लिग २०८३ साल पुषमा गर्ने सहमति गरेपछि खेलाडीहरू आन्दोलनमा निस्केका हुन् । एन्फा र क्लबको सहमतिले खेलाडीमाथि अन्याय भएको र आन्दोलनमा जाने भन्दै खेलाडी संघले यसअघि नै विज्ञप्तीमार्फत सार्वजनिक गरेको थियो ।
खेलाडी संघका अध्यक्ष लामाले एक साता भित्र एन्फाले यो माग सम्बोधन नगरे अझ ठुलो आन्दोलन गर्ने चेतावनी समेत दिए । ‘अबको एक साता भित्र हामी यो गर्दैछौँ, यो मितिमा ए डिभिजन लिग हुनुपर्छ भनेर भन्नुपर्छ । अन्यथा हामी अझ ठूलो आन्दोलन गर्नेछौँ ।’
यस्तै अन्य खेलाडीहरूले पनि ए डिभिजन लिग हुनुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया 4