News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल जेनजी फ्रन्ट गठन भइ रक्षा बम संयोजक छिन् र यो समूहले संविधानलाई आत्मसात गरी व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य राखेको छ।
- फ्रन्टले २३ र २४ भदौको जेनजी आन्दोलनपछि नयाँ राजनीतिक संवाद र चुनावी तयारी सुरु गरेको छ र मतदाता जागरुकता अभियान चलाइरहेको छ।
- जेनजी फ्रन्टले आन्दोलनलाई संस्थागत बनाउन र चुनावमार्फत नयाँ प्रतिनिधिसभा ल्याउन खुला संवाद र सहकार्यको आह्वान गरेको छ।
२३ र २४ भदौको जेनजी आन्दोलनपछि नयाँ दल र जेनजीभित्रै पनि विभिन्न समूहहरू जन्मिरहेका छन् । त्यही सिलसिलामा केही दिनअघि मात्र नेपाल जेनजी फ्रन्ट घोषणा भयो,जसको संयोजक बनिन् रक्षा बम ।
फ्रन्टमा युजन राजभण्डारी, यतिश ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहता लगायत सदस्य छन् ।
सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेजसहित फ्रन्ट घोषणा भएको छ । खासमा यो कस्तो समूह हो ? के यो दलमा रुपान्तरण हुने सम्भावना छ ? यसमा को-को समेटिनेछन् ? चुनावी तयारी के छ ?
यिनै प्रश्न हामीले फ्रन्टको संगठन समितिका संयोजक युजन राजभण्डारीलाई सोधेका छौँ । प्रस्तुत छ, राजभण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :
जेनजी आन्दोलनको दुई महिना बित्न लागेको छ । यतिबेला तपाईं नेपाल नवगठित जेनजी फ्रन्टको संगठन समिति संयोजक हुनुहुन्छ । खासमा के हो जेनजी फ्रन्ट ?
नेपाल जेनजी फ्रन्टलाई अहिलेको लागि लुज फोरम भनेर बुझौं । जहाँ हामीले डे जिरोदेखि जुन विचारहरू बोकिरहेका थियौं, एजेन्डाहरू बोकिरहेका थियौं- सुशासनको मामलामा होस् वा भ्रष्टाचार विरोधी मामला । वा, संविधानलाई आत्मसात गरेर अहिलेको अवस्थामा अगाडि बढ्ने र व्यवस्थाप्रतिको दृढ विश्वास राख्ने साथीहरूलाई एकताबद्ध हुनका लागि आह्वान गरेको एउटा फोरम हो यो ।
जेनजी आन्दोलनपछि यस्तै समूहहरू धेरै बनेका छन् । ती समूह र यसमा फरक के छ ? किन आवश्यक पर्यो ?
जेनजी आन्दोलन जसरी विभिन्न समूह-उपसमूह मिलेर आफ्नै तरिकाले भयो, त्यसरी नै समूह-उपसमूह गठन हुने प्रक्रिया पनि अघि बढिराख्यो । हामीले जुन प्रकारले एउटा विश्वास राखेको थियौं, विचार थियो, त्यो विचार चाहिँ यी समूहहरूमा रिफ्लेक्ट नभएको अवस्था देख्यौं ।
त्यसपछि हाम्रै साथीहरूले अब एउटा फोरम खोलौं, जसमा समान विचार हुनेहरू संगठिन भएर जानुपर्छ भन्ने कुरा उठाउनुभयो । त्यसपछि जेनजी फ्रन्टको जन्म भयो ।
तपाईंहरूको विचार चाहिँ के हो ?
अहिलेको अवस्थामा वर्तमान संविधानलाई मानेर अगाडि बढ्ने र यही व्यवस्थालाई सुदृढ बनाउनेहरू एक ठाउँमा आएका हौँ । सुशासनका कुराहरूमा आवाज उठाउने त सबैको एजेन्डा छँदैछ । तर यो संविधानका आधारभूत पक्षहरू जस्तो- हाम्रो लोकतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र संघीयताको विषयहरूमा हामी दृढ छौँ ।
यी विषयहरूमा सहमत हुने साथीहरू सँगै भएर काम गरौं । यो संविधानको कति विषयहरूमा हाम्रो असहमति होला, विमति होला, तपाईंको छुट्टै धारणा होला, मेरो छुट्टै धारणा होला । ती धारणाहरूलाई अब हुने निर्वाचनपछि नयाँ जनमतले ‘इन्डोर्स’ गरेको एउटा नयाँ प्रतिनिधिसभा आउँछ, त्यसमा हाम्रो कुराहरू राखौं ।
प्रतिनिधिसभा निर्वाचनमा जो समूह, जो व्यक्तिले त्यो मुद्दाहरू बोक्नुहुन्छ, उहाँहरूलाई हामी मतदानमार्फत अगाडि बढाउन सहयोग गरौँ ।

निर्वाचन केन्द्रित अभियान त थालिसक्नुभयो हैन ?
शनिबारबाटै सुरु भएको हो । देशका विभिन्न ठाउँमा पनि हाम्रा साथीहरूले त्यो काम गरिराख्नुभएको छ ।
यो अभियानको काम मतदाताहरूलाई अलिकति जागरुक बनाउने र जनचेतना फैलाउने हो । कतिपय हाम्रै पुस्ताका साथीहरूले मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छैन होला, त्यसको लागि पनि आह्वान गर्छौँ । मतदाता नामावलीमा आफ्नो नाम कसरी दर्ता गर्ने ? कसरी त्यो प्रक्रियामा सामेल हुने भन्ने कुराहरूबारे शिक्षित गर्दै अगाडि बढ्नका लागि साथीहरू फिल्डमा खटिनुभएको छ ।
तपाईंहरूलाई सबै तत्कालीन विवेकशील पार्टीमा जोडिएका वा त्यसको स्कुलिङबाट आएका मात्र जेनजी फ्रन्टमा छन् भन्ने आरोप छ नि ?
विवेकशील आन्दोलन सुरु भएको लगभग १३-१४ वर्ष भयो होला । स्वर्गीय उज्ज्वल थापाले सुरु गर्नुभयो । त्यहाँ वैकल्पिक राजनीति वा भिन्न सोचले अगाडि बढ्नुपर्छ भनेर विचारोपण भई आजसम्म आइपुग्दा ‘अहिले विवेकशील कहाँ छैन ?’ भन्ने प्रश्न महत्वपूर्ण होला बरू ।
जुन एउटा विवेकशील स्कुलिङ थियो, विवेकशील आन्दोलन थियो त्यो स्कुलिङबाट आएका साथीहरू कहाँ छैनन् भन्ने होला । अनि विवेकशील पार्टीको भन्दा पनि विवेकशील चेतनाको कुरा गर्दा ठिक होला ।
जेनजी फ्रन्ट राजनीतिक दल बन्ने सम्भावना कति छ ?
पहिला त हामीले राजनीति गर्ने भनेर वा दल खोल्ने भनेर आन्दोलन गरेका थिएनौं । त्यसबेला हामीले नै भनेका थियौँ, सबैजना यो आन्दोलनमा सरिक हुन सक्नुहुन्छ, तर यदि तपाईंहरू दलगत रूपमा लाग्नुभएको छ भने नआउनुहोला । तर आजसम्म आइपुग्दा परिस्थिति अर्को बाटोमा लागिसक्यो ।
२३ गतेको नरसंहारपछि घटना वा परिघटनाले राजनीतिक दिशा अर्कै मोडमा लगेको छ । तसर्थ, यो फ्रन्ट भोलिका दिनमा के हुन्छ भन्ने कुरा आवश्यकताले नै बताउला । आजको दिनमा हामी सबैसँग संवादको लागि खुला छौं भनेर आह्वान पनि गरेका छौं । हाम्रो २१ पृष्ठको दस्तावेज नै सार्वजनिक गरेका छौं र दुई पृष्ठको सारांश पनि प्रकाशित गरेका छौं । त्यसमा हामीसँग विचार मिल्ने साथीहरूलाई सँगै काम गरौं, संवादको लागि खुला छौं भनेर आह्वान गरेका छौं ।
यो समूह दलमा रुपान्तरण हुने सम्भावनाबारे अहिले नै भन्न हतार हुन्छ । समय र आवश्यकताले जे माग्छ, हामी त्यसको लागि तयार छौँ । तत्कालको लागि भने यसलाई एउटा संवादको थालनी गर्ने लुज फोरमको रूपमा हेरिदिनुहोला ।
जेनजीका थरीथरी माग छन् । प्रत्यक्ष कार्यकारीदेखि संविधान नै परिमार्जन गर्नुपर्छ भन्नेसम्मका समूह छन् । कसरी मिलाउनुहुन्छ ?
अहिले अनेक माग देखिए पनि आन्दोलन सुरु गर्दा सबैको माग सुशासन थियो । हामीले तिरेको कर कहाँ गयो त ? त्यो हामी सबैले सोधेकै हौँ । भ्रष्टाचाररहित समाज हुनुपर्यो भनेको हो ।
अर्को, बन्देज लगाइएको सामाजिक सञ्जाल खुलाउनुपर्ने माग पनि थियो । व्यवस्था फेर्ने कुरा उठेको थिएन । हामी यो व्यवस्था प्रति दृढ छौं । यो कुरामा सहमत हुनेहरू नै मिल्ने भनेका हौँ ।
‘नेपाल अहिले एउटा जटिल र संवेदनशील यथार्थको चौबाटोमा उभिएको छ’ भनेर जेनजी फ्रन्टको दस्तावेजमा लेख्नुभएको छ ।
त्यो चौबाटोले केलाई संकेत गर्न खोज्नुभएको हो ?
अहिलेको अवस्था एकदमै तरल छ । हामी संक्रमणकालको दोस्रो चरणमा छौं । पहिलो चरण, सुशीला कार्की प्रधानमन्त्री नियुक्ति हुन्जेलसम्म थियो । दोस्रो चरण, चुनाव सम्पन्न नभएसम्म हुनेछ ।

यस्तो तरल अवस्थामा राजनीतिक दिशा जसरी पनि अघि बढ्न सक्छ । अनेक सम्भावना हुन्छन् । हामी आन्दोलनकर्मी वा विद्रोही, मिडियाकर्मी, सरकार र पोलिटिकल पार्टी सबै सचेत भएर अहिलेको तरल अवस्थालाई कसरी निकास दिने हो भन्नेमा लाग्नुपर्ने देखिन्छ । सबैले आफ्नो भागमा परेको जिम्मेवारी ग्रहण गरेर निकास दिनुपर्ने अवस्था छ । हामीले भन्न खोजेको यही हो ।
राजनीतिक सत्ता मात्र होइन, शासन र प्रणाली परिवर्तन विद्रोहको लक्ष्य थियो भन्ने कुरा पनि दस्तावेजमा छ नि । के भन्न खोज्नुभएको हो ?
हामीले सिस्टम रिफर्म हुनुपर्छ भनेका हौँ । यो पाँच महिनाको अवधिमा सबै कुरा त सम्भव नहोला । अन्तरिम नागरिक सरकारको मुख्य काम समयमा चुनाव गराउनु हो ।
त्यसैले आन्दोलनको म्यान्डेटअनुसार सुशासनका मुद्दालाई अगाडि बढाउन राम्रोसँग चुनाव भएर त्यसपछि बन्ने सरकारले यसलाई सम्बोधन गर्नुपर्छ । यस्ता आधारभूत कुराहरूमा सुधार गरेर देश सिस्टममा हिँड्नुपर्छ भन्ने हाम्रो आसय हो ।
भदौ २४ को घटनालाई केन्द्रमा राखेर आन्दोलनको अपराधीकरण गर्न केही पुराना शक्तिहरू लागेको पनि देखिन्छ । के भन्नुहुन्छ ?
हामीले २३ गतेलाई छुट्टै रूपमा हेर्नुपर्छ, २४ गतेलाई छुट्टै । २३ गते राज्यपक्षबाट आन्दोलनमा दमन भएको सत्य हो । त्यो घटनापछि जेनजी पुस्ता मात्र होइन, सम्पूर्ण नेपाली जनताले आन्दोलनलाई आफ्नो ठानिसकेको अवस्था थियो । एकदमै क्रोधित थियो, आक्रोशित थियो । हरेक मान्छेलाई छोएको थियो ।
त्यसैले २४ गते सम्पूर्ण नेपाली जनता उत्रिए, जुन कसैको नेतृत्व र नियन्त्रणमा थिएन । यी दुवै घटनालाई छुट्याएर हेर्नुपर्छ । आयोग बनेको छ, त्यसले छानबिन गरेपछि सत्यतथ्य बाहिर आउला । यो विद्रोहलाई आफ्नो अनुकूलतामा लान खोज्ने, घुसपैठ गर्न खोज्ने र आन्दोलनरत पक्षलाई छुट्याइनुपर्छ ।
यो विषयमा सरकारलाई दबाब दिन जेनजी फ्रन्टले के गर्छ ?
हामी आयोगलाई सघाउँछौँ । हस्तक्षप वा विवाद गर्दैनौँ । आयोगले निष्कर्ष निकालेपछि नै थाहा हुन्छ बाँकी कुरा ।
केही समयअघि एरेस्ट ओली-लेखक जस्ता अभियान चलाउनुभयो । त्यो किन त ? आयोगप्रति पूर्ण विश्वास नभएर हो ?
त्यतिखेर कतिपय साथीहरूलाई आक्रोश थियो, यी किन बाहिर छन् भनेर । त्यत्रो नरसंहार भइसकेपछि स्वाभाविक रूपमा अलिकति आक्रोश त हुन्छ नै । अनुसन्धान पनि छिटो होस् भन्ने चाहना हुन्छ ।
आयोगले काम पनि चाँडो गरोस् भन्ने हिसाबले पनि त्यस्ता अभियान चलाइएको थियो । हामी आयोगमाथि विश्वास गर्छौं तर चाँडो त्यसको निर्क्योल होस् भन्ने पनि चाहन्छौं ।
तपाईंहरू र सरकारबीच लिखित सहमति अहिलेसम्म भएको छैन । यसले जोखिम निम्त्याउँदैन ? कसरी काम भइरहेको छ ?
आन्दोलन संस्थागत हुने कुरामा जेनजी पुस्ता एक ठाउँमा छ । र, छिट्टै नै सहमति भएर आन्दोलन संस्थागत हुन्छ । त्यसमा काम भइरहेको छ ।
अब चुनावको प्रसंगमा जाऔँ । चुनावको तयारी कसरी भइरहेको छ ?
पहिला त समयमा चुनाव हुनुपर्छ भन्नेमै हामी छौँ । जेनजी फ्रन्टले त्यसमा सघाउँछ । जेनजी फ्रन्टका साथीहरूले चुनाव लक्षित अभियानहरू गरिनै राख्नुभएको छ । त्यहाँबाट नयाँ म्यान्डेट लिएर प्रतिनिधिसभा आउनुपर्छ ।
हाम्रो उद्देश्य भनेको यो आन्दोलनलाई बुझेका, आन्दोलनप्रति सद्भाव राखेका व्यक्तित्वहरू अबको प्रतिनिधिसभामा जितेर आउनुपर्छ भन्ने हो । यसमा हामी सहयोग गर्छौँ । चुनाव लड्ने कुरामा हामी र हाम्रा साथीहरू कसरी चुनावमा जानुहुन्छ, त्यो समयले बताउँछ ।
फेरि पुरानै दल जितेर पुरानै शैलीमा आए भने यो आन्दोलनको अर्थ रहँदैन । दलहरूबाट रुपान्तरणको अपेक्षा छ ?
दलहरू रूपान्तरण हुनैपर्छ । हुन्छन् भन्ने अपेक्षा उहाँहरूबाट राख्नुपर्छ । पक्कै सुध्रिएर र रिफर्म गरेर चुनावमा जानुहोला । म सिभिल इन्जिनियरिङको विद्यार्थी हुँ, हामीले स्ट्याटिक र डाइनामिकबारे पढ्नुपर्छ । हाम्रो समाज एकदमै डाइनामिक भइसक्यो । अड्किएको समाज चलायमान भएको छ । प्रविधिसँग यति नजिकबाट काम गरेको पुस्ता आइसक्यो ।
तर, अहिले भइरहेको परम्परागत राजनीतिक दल त स्ट्याटिक्स छ । त्यहाँ चलायमान नै भएन । नेतृत्व एकै ठाउँमा घुमिरह्यो । यसले समस्या ल्याएको थियो । त्यसैले उहाँहरूलाई हाम्रो अनुरोध छ- तपाईंहरू सुध्रिनुस्, रूपान्तरणको पक्षमा उभिनुस्, अहिलेको पुस्ताले के मागेको छ त्यो कुरालाई अनुमोदन गर्नुस्, आत्मसात गर्नुस् । पुरानै शैलीमा राजनीति गर्न र दल टिकाउन अब गाह्रो छ । जेनजी आन्दोलनको यो सन्देश उहाँहरूले बुझ्नु भएकै होला ।
प्रतिक्रिया 4