+
+
Shares

दलहरूलाई निर्वाचन आयोगले भन्यो– मतदाता नामावली दर्ताको प्रचार गरिदिनू

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ११:४१

२१ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गरिदिन राजनीतिक दलहरूलाई अनुरोध गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले सूचना निकालेर आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई समेत यस्तो आग्रह गरेका छन् ।

‘मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गरिदिनुहुन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम लगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ’ सूचनामा उल्लेख छ ।

मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले मात्र मतदान गर्न पाउँछन् । हालसम्म पनि नामावलीमा नाम दर्ता गर्न छुट भएको भए आफ्नो नागरिकता सहित आयोगको वेभ ठेगानामा गएर प्रि–रजिष्ट्रेसन प्रणाली मार्फत आवेदन भर्न सकिन्छ । त्यसपछि तोकिएको दिन, समय र स्थानमा गई फोटो र बायोमेट्रिक दिन सकिन्छ । विवाह, बसाइँसराइ लगायतका कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने वा अन्य विवरण अद्यावधिक गर्नुपर्ने भएमा बसाइँसराइ वा अन्य सम्बन्धित कागजात सहित आवेदन दिन सकिन्छ ।

हालसम्म पनि मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि स्थानीय तहबाट प्रचार प्रसार र आवश्यक सहजीकरण गरिदिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ ।

पछिल्लो समयमा देशभर एक लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगका अनुसार विहीबार साँझ ८ बजेसम्मको तथ्यांक अनुसार थपिने मतदाताको संख्या एक लाख ३६ हजार ६० जना रहेको छ । विहीबार एक दिनमै ११ हजार बढी नयाँ मतदाता थपिएका थिए ।

हालसम्म थपिएका नयाँ मतदातामा ८१ हजार ८६४ पुरुष र ५४ हजार १७८, महिला र अन्य १८ जना रहेका छन् ।

निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता गराउन अध्यादेशमार्फत् कानुनी बाटो खुला गरेको थियो । अध्यादेशअनुसार गत असोज ९ गतेबाट सुरु भएको मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?