+
+
Shares

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा एमालेको हस्ताक्षर संकलन जारी  

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १२:१८
एमालेका तत्कालीन सांसदहरुको बैठक । फाइल फोटो

२१ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी छ ।

नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो ।

एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका थिए ।

काठमाडौंमा उपलब्ध भएकाहरूको हस्ताक्षर संकलन सुरु गरेको र त्यो आज पनि जारी रहने विघटित प्रतिनिधिसभाका सदस्य हेमराज राईले बिहीबार नै जानकारी दिएका थिए ।

संकलित हस्ताक्षर कसरी प्रयोग गर्ने भन्नेमा भने एमालेका नेताहरूले प्रष्ट केही भनेका छैनन् । सांसदहरू निवेदन लिएर अदालत जाने कि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा भनेर मत प्रकट मात्रै गर्ने भन्ने प्रश्नमा नेताहरूले जवाफ दिएका छैनन् ।

सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । त्यसउपर छलफल भएर कारण देखाउ आदेश जारी भइसकेको छ ।

कारण देखाउ आदेश जारी हुनु अगाडिको बहसमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनको विषयमा कतिजना सांसद अदालत आए भनेर प्रश्न समेत गरेका थिए ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्ष वा माग राखेर कति जना सांसद आए भनेर खोजी भएको अवस्थामा सांसदहरूले हामी विघटनको पक्षमा छौं भनेर देखाउन खोज्नु स्वभाविक भएको एमालेका नेताहरू बताउँछन् ।

जेनजी आन्दोलन चर्किएपछि गत भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?