+
+
Shares
विचार :

न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू

धनाढ्यहरूको मन्दिरतिर गरिबहरूको काँधमा चढेर दर्शन गर्न जाने बाटो लिएकैले यो दुर्घटनासम्म पुग्नुपरेको हो । बरु सीमान्त वर्गलाई ईश्वर सम्झेर या मानव सम्झेर सेवा गरे चैं ममदानी बनिन्छ ।

झलक सुवेदी झलक सुवेदी
२०८२ कात्तिक २१ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युयोर्कको मेयरमा ३४ वर्षीय जोहरन ममदानीले धनाढ्यहरूको शहरमा मध्यम र सीमान्त वर्गको पक्षमा समाजवादी कार्यसूची लिएर ऐतिहासिक जित हासिल गरे।
  • नेपालमा कम्युनिस्ट भनिने दलहरू विघटन, पुनर्गठन र आपसी विवादमा फसेका छन्, तर सीमान्त वर्गका लागि ठोस कार्यक्रम प्रस्तुत गर्न सकेका छैनन्।
  • ममदानीको जितले विश्वभरका वामपन्थीहरूलाई प्रेरणा दिएको छ र स्पष्ट कार्यसूची र विश्वसनीय नेतृत्वले जनताको विश्वास जित्न सकिने देखाएको छ।

यो साता काठमाडौंका डबलीहरूमा कम्युनिस्ट भनिने पार्टीहरूको विघटन, पुनर्गठन, बहिर्गमन सहित आपसमा हेलाँ, घृणा र अपमान छ्यापाछ्याप गरेका अनेक दृश्यहरू मञ्चन भए । लामो समय संसद्, संघीय र प्रदेश तथा स्थानीय सरकार, देशका मुख्य–मुख्य सबै सार्वजनिक संस्था चलाएका र आफ्नो कार्यकालमा समाज रूपान्तरणका लागि उल्लेख्य हस्तक्षेप गर्न नसकेका यी दल र नेताहरू भदौ २४ का घटनाबाट मूर्च्छित भएर ब्युँझदै थिए । 

अग्रभागमा थिए ६५ देखि ८० बीचको उमेर समूहका प्रचण्ड, केपी, झलनाथदेखि घनश्याम र राम कार्कीसम्मका ज्येष्ठ कम्युनिस्टहरू । राम कार्की र घनश्यामहरू आफ्नो दलका शीर्ष नेताहरूले सबथोक बिगारे भन्दै नयाँ अभियान आह्वान गरिरहेका बेला उता प्रचण्ड, माधव र झलनाथहरू १० वटा कम्युनिस्ट पार्टी एकीकरण गरेर आफूलाई सान्दर्भिक देखाउने प्रयास गर्दैथिए । कमरेड ओली गुण्डुमा रामकुमारी र किसान श्रेष्ठहरूलाई स्वागत गर्दैथिए । र सबै थिए परीक्षितहरू । तोला मासाको फरक सहित यतिका वर्ष कसको सेवामा काम गरेका थिए भन्ने पारदर्शिता सहितका अनुहारहरू ।

ठिक त्यहीबेला सवा सय वर्षदेखि विश्व पूँजीवादको केन्द्र रहेको न्युयोर्कमा मेयरको निर्वाचन हुँदैथियो । त्यसको अग्रपंक्तिमा थिए ३४ वर्षीय जोहरन ममदानी । डेमोक्रेटिक पार्टीभित्र रहेको सोसलिस्टहरूको समूहका एक जना सक्रिय कार्यकर्ता रहेका ममदानीले मेयरको चुनावमा पूर्व गभर्नर तथा राष्ट्रपति ट्रम्पको समेत समर्थन पाएका संस्थापन पक्षका घरानियाँ डेमोक्र्याट स्वतन्त्र उम्मेदवार कुमो । रिपब्लिकन पार्टी तेस्रो तहमा धकेलिएको यो निर्वाचन परिणामले अमेरिकाको मात्र हैन विश्वका सन्दर्भमा पनि आफ्नो जबरजस्त छाप छाडेको छ । 

यहाँ उताका सोसलिस्ट मध्यमार्गी ममदानी र यता आफूलाई कम्युनिस्ट नै भनेर दाबी गर्ने दल, तिनको नेतृत्व र कार्यसूची बीच तुलनाको प्रयास गरिनेछ । मिलेनियल पुस्ताका सोसलिस्ट ममदानी कसरी कुन एजेण्डाले युवा र जेनजी पुस्ताका प्रतिनिधि बने अनि यता आफूलाई मार्क्सवादका अनुयायी भन्ने बेबी बुमर पुस्ताका कम्युनिस्ट प्रधानमन्त्री र नेताहरू जेनजी र युवा आक्रोशको सामना गर्न नसकेर सेनाको सुरक्षामा आश्रय खोजेर बस्न कसरी बाध्य भए अहिलेको बहसको विषय पनि हो यो ।

वामपन्थका आजका कार्यसूची

बिहीबार बिहान नेपाली अनलाइनहरूमा ममदानीले न्युयोर्कको नेपाली रेष्टुरेन्टमा म:म खाइरहेको तस्बिर प्राथमिकताका साथ छापियो । उनको अगाडि टेबल शेयर गर्ने चैं न्युयोर्कबाट डेमोक्रेटिक सोसलिस्टहरूकै प्रतिनिधित्व गर्ने सांसद एओसी (अलेक्जाण्ड्रिया ओकासीयो कुर्टेज) थिइन् । मेयरले आफ्नो खाजा घर र नेपालीको लोकप्रिय खाजा म:म रोज्नु अवश्य पनि नेपालीहरूका लागि खुशीको कुरा हो, यसले विशाल न्युयोर्क शहरमा नेपालीहरूलाई पहिचान दिएको छ । तर त्योभन्दा बढी चैं यो घटना यी सांसद र मेयर कसरी यो मेट्रोपोलिसका सामान्य मानिसहरूसँग जोडिन पुग्छन् भन्ने सन्देश पनि हो । 

एङ्ग्लो स्याक्सन भन्दा बाहिरका, संसारका विभिन्न भागबाट अमेरिका प्रवेश गरेर न्युयोर्कलाई आफ्नो आधार बनाएका आम मानिसका जीवनसँग जोडिनु र त्यसका आधारमा राजनीतिका मुद्दाहरू तय गर्नु उनीहरूले आफ्नो राजनीतिको एउटा आधार बनाएका छन् । सामाजिक न्यायका पक्षमा र विभेद विरुद्धका संघर्षका उदाहरण हुन पुगेकी एओसी अमेरिकी कामदार वर्ग, गैरगोरा आप्रवासीका दुःख–सुखकी वाणी बनेकी छन् । अमेरिकी समाज अहिले आप्रवासीहरूप्रति घृणा फैलाउने एक जना उद्दण्ड व्यक्ति र उनको विचारको सेपमा परेको छ । 

दक्षिण एशियाली मूलको, युगाण्डामा जन्मेर न्युयोर्कमा हुर्के–पढेको बौद्धिक परिवारको मुस्लिम समुदायको ३४ वर्षीय युवा, जसकी पत्नी सिरियाली हुन् । उनी प्यालेस्टाइनीहरूको पक्षमा खुलेर वकालत गर्छन् । जो संसारका सबैभन्दा ठूला धनाढ्यहरू बस्ने शहरमा तिनै धनाढ्यलाई कर लगाएर गरिबहरूका लागि शिक्षा, स्वास्थ्य, बालबालिकाको हेरचाह, आवासको सुविधा र निःशुल्क सार्वजनिक यातायात व्यवस्थाको उद्घोष गरेर उदाएका छन् । उनको राजनीतिक कार्यसूचीकै कारण अन्तिमसम्म पनि बाराक ओबामाले समेत उनलाई समर्थन गरेर सार्वजनिक वक्तव्य दिएनन् । प्राइमरीमा उनले जिते तर प्रतिस्पर्धी कुमोले उनका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिए । अर्थात् उनी डेमोक्र्याट्सहरूका पनि पूर्ण समर्थन पाएका उम्मेदवार थिएनन् ।

र पनि यो धनाढ्यहरूको शहरको मेयर पदमा मध्यम तथा सीमान्त वर्गको पक्षमा वकालत गर्ने ममदानीले जिते र एकैपटक अनेक इतिहास रचे । युवा, आप्रवासी, अफ्रिकी, दक्षिण एशियाली, मुस्लिम, मार्क्सवादी, बौद्धिक वामपन्थीहरू सबैको साथ पाए । ९० हजार स्वयंसेवक खटे । परिवर्तनका पक्षमा उभिन घरघरमा पुगेर अपिल गरे, मतदानसम्म आउन उत्प्रेरित गरे । 

यस्तो अपिल तिनलाई गरे जो अमेरिकी राजनीतिले आफ्नो पक्षमा काम गर्छ भन्नेमा खासै विश्वास गर्दैनथे । सीमान्तमा थिए । दैनिक जीवनसँग संघर्ष गरिरहेका थिए ।

हो, तिनै काम गरिखाने वर्गका नयाँ पुराना पुस्ताका नागरिकहरूले ममदानीका वामपन्थी कार्यसूचीमा आफ्नो जीवन र भविष्य देखे । उनीहरूले नै ममदानीलाई जिताए । नत्र त धनाढ्यहरूका प्रतिनिधि राष्ट्रपति ट्रम्प र एलन मस्कहरूले कम्युनिस्ट भएको आरोप लगाउँदै ममदानीले जसरी पनि हार्नुपर्ने भनेका थिए । उनले जिते भने संघीय बजेट कटौती गरिने धम्की दिएका थिए । कर बढाइयो भने धनाढ्यहरूले न्युयोर्क छाड्छन् र ममदानीका कार्यसूची लागू हुँदैनन् भन्ने प्रचार आतंक फैलाइएको थियो । ठूला मूलधारे स्थापित मिडिया र पोलिटिकल एलिटहरू ममदानीका विपक्षमा मत निर्माण गर्न मनोवैज्ञानिक युद्धमा जुटेका थिए ।

उनले देखाए सही कार्यसूची लिएर जनतासँग संवाद गर्न सके शक्ति र धनसम्भ्रान्तहरूका न्यारेटिभलाई भत्काउन र सबै चुनौतीलाई पन्छाउन सकिन्छ । उनले अमेरिकी समाजलाई समाजवादी कार्यसूची मध्यमवर्ग र कामदार वर्गको हो, सीमान्त वर्गको हो र सामाजिक न्याय र समानताका पक्षधरको हो भनेर विश्वस्त पार्न र ध्रुवीकरणमा लैजान सके । आफूलाई कम्युनिस्ट भनेर हेप्ने, होच्याउने, तिरस्कार गर्नेहरूलाई लोप्पा ख्वाए । कम्युनिस्ट या वामपन्थी हुनु कुनै अपराध होइन भन्ने बुझाए । सीमान्तवर्गले आफ्नो विजयको झण्डा गाड्यो । 

ममदानीको यो जित अमेरिका मात्र होइन विश्वभरका वामपन्थी झुकाव राख्नेहरूका लागि प्रेरणाको स्रोत बनेको छ । जस्तो कि बेलायतको लेवर पार्टीबाट अलग्गिएर योर पार्टी गठन गरेका जेरेमी कोर्बिन र जारा सुल्तानाहरू ममदानीको विजयबाट उत्साहित भएका छन् । ममदानीको विजय अभियानमा उनीहरू लण्डनबाटै जोडिएका पनि थिए । उक्त पार्टीले भनेको छः ममदानीको जितले स्पष्ट पार्छ कि पुरानो मध्यपन्थी राजनीतिको टाट उल्टिसक्यो, समाजवादी राजनीतिको भविष्य छ । 

ममदानीको जित अमेरिका भित्रै अमेरिकी साम्राज्यवादको हार थियो । न्युयोर्कभित्रै वासिंटन सहमतिका नवउदारवादी नीतिहरूको पराजय थियो । यो यहुदी जातिवाद, अमेरिकामा हुर्कंदो एङ्ग्लो स्याक्सन नश्लवाद, आप्रवासन विरुद्धको घृणा र द्वेषको पनि हार थियो । मुस्लिम  र अल्पसंख्यकलाई घृणा गर्नेहरूको पनि हार थियो । सीमान्त वर्गको अमानवीयकरणको पनि हार थियो । समग्रमा मानव जातिको जितको झिल्को थियो ।

यसको सन्देश के हो भने स्पष्ट कार्यसूची र विश्वसनीय नेतृत्व हुने हो भने, जनतालाई नेतृत्वप्रति भरोसा दिलाउने हो भने जस्तै पुराना शासकहरूलाई, सबैखाले उल्टा कथन र वैचारिक वर्चस्वलाई परास्त गर्न सम्भव छ । नयाँ कथन निर्माण गर्न र नयाँ वैचारिक वर्चस्व स्थापित गर्न सम्भव छ । पैसालाई पनि जित्न सकिन्छ । धम्कीलाई पनि हराउन सकिन्छ । 

आक्रोशको अभिव्यक्ति शैली विध्वंसात्मक भएकैले यसको नैतिक बल अवश्य कमजोर भएको थियो तर त्यसको अर्थ विद्रोहले जे–जे परिवर्तनको माग गरेको थियो या जसलाई नेपालीका दुःखको कारण मानेको थियो त्यो विचारको वैधानिकता कमजोर हुँदैनन् ।

ममदानीका मुख्य कार्यसूची थिए – घरभाडा दर बढ्न दिइने छैन, आउने १० वर्षमा २ लाख सस्तो आवासहरूको निर्माण गरिनेछ, शहरभित्र सार्वजनिक बसहरूलाई निःशुल्क बनाइनेछ, खाद्य मूल्य नियन्त्रणका लागि नगरपालिकाले खाद्य पसलहरू सञ्चालन गर्नेछ, बालबालिकाको हेरचाह सबैको पहुँचमा पुग्नेछ, न्यूनतम ज्याला सन् २०३० सम्ममा बढाएर प्रतिघन्टा ३० डलर बनाइनेछ । 

यी कार्यसूची लागू गर्दा बढ्ने खर्चको जोहो गर्न ठूला पूँजीपतिहरूलाई कर बढाइनेछ । उनले राखेका यिनै कार्यसूचीलाई न्युयोर्कवासीले अनुमोदन गरेका छन् । धनीको भन्दा गरिबकै संख्या बढी छ, करोडपति भन्दा मध्यमवर्गकै संख्या बढी छ, गरिबको र मध्यमवर्गको कार्यसूची अघि सार्नुस्, चुनाव जित्नुस् । 

एङ्गेल्सले वर्किङ क्लास अफ लण्डन लेख्ने बेलाको सर्वहाराले लड्दै बलिदान गर्दै पूँजीवादी व्यवस्थाभित्रै ल्याएको रूपान्तरण पछि ऊ बेलाको सर्वहारा वर्ग अहिलेको कामदार वर्गमा खोजेर पाइने विषय होइन । कमसेकम विकसित पूँजीवादका केन्द्रहरूमा चरम असमानताका बावजुद मानिसहरू न्यूनतम जीविकाका स्रोतहरूबाट वञ्चित हुन्नन् भन्ने विश्वास गरिन्छ । तर न्युयोर्कमै आम कामदार वर्गलाई बालबच्चा स्याहार्न, सहज यातायातमा पहुँच राख्न र आवासका लागि समस्या रहेछ । 

समाजवादी कार्यक्रमले त्यो वर्गको माग सम्बोधन गरेको हुनुपर्ने रहेछ । ममदानीले अमेरिकी राजनीतिमा रहेका ग्याप ठम्याए । सोसलिस्ट झुकाव राख्ने डेमोक्र्याटहरूले अहिले अरूलाई समेत पाठ पढाए । आफ्नै दलका उदारवादीहरूलाई समेत भविष्य कसको हो भनेर पाठ पढाए ।

नेपाली कम्युनिस्टको हालखबर

यो साताका घटनाहरू भदौ २३ र २४ को धक्काबाट ब्युँझने प्रयास थिए । तर यी घटनामा देखिएका कम्युनिस्ट गतिविधिले ठ्याक्कै त्यही कुरा बिर्सिरहेका थिए जसको माग २३ र २४ का घटनाहरू मार्फत नेपाली युवाले व्यक्त गरेका थिए । 

युवा आक्रोशको आगोमा घिउ थप्ने र त्यसलाई आफ्ना हितमा प्रयोग गर्ने प्रयास अनेक स्वार्थ समूहले गरेको साँचो हो तर त्यसले नेपाली समाजमा गुम्सिएर बसेको आक्रोशका कारणहरू थिए र आम मानिसहरू त्यसका विरुद्ध सडकमा उत्रेका थिए भन्ने तर्कलाई कत्ति पनि कमजोर बनाउँदैन । 

आक्रोशको अभिव्यक्ति शैली विध्वंसात्मक भएकैले यसको नैतिक बल अवश्य कमजोर भएको थियो तर त्यसको अर्थ विद्रोहले जे–जे परिवर्तनको माग गरेको थियो या जसलाई नेपालीका दुःखको कारण मानेको थियो त्यो विचारको वैधानिकता कमजोर हुँदैनन् । 

काठमाडौंको चकाचौंध उज्यालो, बढिरहेका मल र क्याफेहरू, अग्ला अपार्टमेन्ट विल्डिङ र थपिंदा पाँचतारे होटलहरू, आयात भइरहेका ईभी लगायतका सवारी साधनहरू हेर्दा यस्तो देखिन्छ कि काठमाडौं धनीहरूको शहर हो । सडकमा सलल बगिरहेका सवारी साधनहरू र रात्रि जीवनमा रमाइरहेका युवा युवती, विद्यालय युनिफर्ममा फुरफुर गरिरहेका किशोरकिशोरी या युवायुवती देख्दा जीवन सहज रूपमै चलिरहेको जस्तो लाग्नु स्वाभाविक हो । 

न्युरोड, दरबारमार्ग, ठमेल या झम्सिखेलतिर डुल्दा देशको झण्डै ५० प्रतिशत भन्दा बढी आर्थिक कारोबार र आधाभन्दा बढी आम्दानी ओगटेर बसेको काठमाडौं खाल्डोभित्र बसेर जीवनका आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका आम मान्छे देखिएर पनि देखिंदैनन् । भेटिएर पनि भेटिंदैनन् । किनभने काठमाडौं आफैंमा दुई वटा काठमाडौं मिलेर बनेको छ । जो साना खाजाघरमा, सस्ता चिया पसलमा, साना र उधारो पनि पाइने पसलहरूमा भेटिन्छ त्यो ठूला क्याफेमा, रात्रि क्लबमा, तारे होटलमा, सुविधासम्पन्न स्कूल कलेज र अस्पतालमा भेटिंदैन । दुई वर्गका बीच भेट हुन छाडेको छ । भेटिए पनि चिनिन छाडेको छ । कथा एउटै शहरको हो तर दुईथरी मानिसहरूको ।

अनौपचारिक क्षेत्रमा काम गर्ने र जीवनको भविष्य जहिले पनि अनिश्चित रहेका, सडकमा सानो सानो पसल थापेर चिसा छिंडीमा वास बसेका, सुकुम्वासी बस्तीमा ओत लागेका, शिक्षा, स्वास्थ्य र वृद्धावस्थाका सामाजिक सुरक्षाबाट वञ्चित रहेका, लागू पदार्थका कारोबारीले शिकार गरेका, यौनलाई जीवनको आधार बनाउन बाध्य पारिएका हजारौं परिवार अहिले पनि संघीय, प्रदेश र स्थानीय सरकारको योजनाले समेटेका छैनन् । देशभरबाट जिजीविषाको खोजीमा यता भौंतारिएका युवायुवतीले कुनै राजनीतिक दलको नारा र योजनामा स्थान पाएका छैनन् । 

ममदानीले यस्तै साधारण मानिसका जीवनका दैनिक दुःखलाई आफ्नो राजनीतिको मूल उद्देश्य बनाए । उनीहरूसँग जोडिए । न्युयोर्कको झिलिमिलीभित्र कर्नरमा परेकाहरूलाई उज्यालो देखाउने आशा जगाए । उनी सफल भए । कम्ता गाह्रो छ न्युयोर्कको समाजलाई यसको महत्व बुझाउन, समाजवादी, मुस्लिम र गरिबको पक्षधर भएकैले हुने अवरोधहरू भत्काएर जनतासम्म पुग्न ? तर उनी पुगे र सफल भए ।

तर हामीकहाँ त राज्यको स्रोतसाधन हातमा लिएर संघ, प्रदेश र स्थानीय सरकार चलाउँदा पनि कम्युनिस्ट पार्टीहरूले यी आधारभूत तहका जनताका दैनिक जीवनसँग जोडिन खासै प्रयास गरेनन् । तिनका युवा संगठनहरू, श्रमिक संगठन, पार्टीका स्थानीय इकाइहरू जनताको यस्तो तप्कासम्म होइन मध्यम र उच्च मध्यमवर्गका परिवारसँग लसपस गर्न पुगे । ठगिने र शोषणमा पर्नेहरूबाट राजनीतिक दल टाढिंदै गए । 

पार्टीका कार्यकर्ताहरूले उपल्लो वर्गतिर हेर्ने र तलको वर्गलाई सिंढी बनाएर कुल्चने सहज बाटो समाते । मध्यमवर्गकैहरूले भोगिरहेका समस्या उजागर गर्ने बानेश्वरको आत्मदाह काण्डपछि पनि यिनीहरूले आफूलाई बदल्ने चेष्टासम्म गरेनन् । त्यही बेवास्ता गरिएको वर्गले हुरीको एक झोक्का सिर्जना गर्‍यो र धेरै तासका महलहरू ढलाइदियो । 

उसले आफ्नो काम गर्‍यो । 

अब त्यसप्रति फर्केर धारे हात लगाउँदैमा या आफ्ना अल्पकालीन हितका लागि कसैलाई दोष थोपर्दैमा हाम्रा खास अर्थ–राजनीतिक समस्या छिमलिंदैनन् । 

हालैको साता कम्युनिस्ट भनिने या मार्क्सवादी भनिने दल र समूह या व्यक्तिहरूले गरिरहेको पुनर्गठन र पुन: एकताको प्रयासपछि पनि सीमान्त वर्गका पक्षमा ठोस कार्यक्रम, नारा या नीतिहरू अगाडि सारेको देखिंदैन । सबैलाई आफ्नो गिरेको साख पुनर्पाप्ति गर्ने तारतम्य मिलाउनको हतारो छ । केपी ओली गुमेको सत्ता पुन: प्राप्तिका लागि देशलाई अनिश्चिततातिर धकेल्ने खालको संसद् पुनर्स्थापनाको नारा लिएर सडकमा ओर्लंदै छन् । 

त्यही संसद् जसले आफ्नो भूमिका पूरा गर्न नसकेर आक्रोशको तारो बनेको थियो । प्रचण्डहरू आधा डढेका दाउरा मुढा जम्मा गर्दै धुनी जगाइरहने ध्याउन्नमा छन् । अमिवाको शरीरबाट नयाँ पलाउँदै गरेकाहरूले आफ्नो आकार स्पष्ट पार्न बाँकी नै छ । सच्याएर सच्चिएर फेरि उठ्नु नराम्रो होइन आउन उनीहरू पनि प्रतिस्पर्धा गरेर जनताको विश्वास आर्जन गरुन् । तर यस्तो पुनरागमन कसका लागि हो ? यो चैं स्पष्ट भनेर आउन् । 

स्पष्ट व्याख्या र खाका सहित कमसेकम कम्युनिस्ट भनिने, मार्क्सवादी या वामपन्थी भनिने दलहरू अगाडि नआएकाले सबै कुरा गञ्जागोल भयो । जोसँग धन छ उसले नीतिनिर्माण तहमा एकलौटी हस्तक्षेप गरेको गर्‍यै, सीमान्त वर्ग जताततैबाट चुसिने लुटिने मात्र भयो ।

सबैसँग अवसर छ सिधा–सिधा भाषामा जनताको आधारभूत तहका पक्षमा हामी यस्तो यस्तो गर्छौं भनेर स्पष्ट बताउने । उनीहरूमा आशाको दियो जगाउने । उनीहरूलाई नै विश्वासमा लिने । उनीहरूकै सहभागितामा नारा र माग तय गर्दै उनीहरूसँगै हिंड्ने । सीमान्त वर्गको पक्ष लिंदा कुनै व्यवसायी या धनाढ्यहरूको विरोध गर्नु पर्दैन, धनाढ्य या व्यवासायीले तर्सिनुपर्दैन, तर्साउन पनि पाइँदैन । 

पारदर्शी ढंगले व्यापार व्यवसाय गर, धन कमाउ, धन कमाउनु, उद्योग खोल्नु, व्यवसाय फैलाउनु नराम्रो होइन, खालि त्यसले राज्यका नियमहरू भित्र रहेर मुनाफा आर्जन गरोस्, सार्वजनिक हितलाई कमजोर नबनाओस् भन्ने मात्र हो, राजनीतिक नेतृत्वसँग लसपस गरेर उसलाई खरिद गरेर राज्यका नीतिमा हस्तक्षेप नगरोस् भन्ने हो । 

यो कुरा त सीमान्त वर्गलाई पनि थाहा हुनुपर्छ । सबै परिवार एकैपटक धनी बन्न सम्भव हुँदैन । स्रोतको उचित वितरण भएन भने आम्दानीको खाडल बढ्दै जान्छ । राज्यका स्रोतहरू बलियो बनाउन कानून बमोजिम कर लिनु र त्यस्तो कर परिचालन गरेर सीमान्त वर्गलाई विस्तारै माथि उठाउँदै लैजानु । यही काम गर्ने त हो राज्यले । राज्यलाई यही बाटो हिंडाउन संगठित प्रयास गर्नुपर्ने त हो राजनीतिक दलहरूले ।

हामीकहाँ त्यसको स्पष्ट व्याख्या र खाका सहित कमसेकम कम्युनिस्ट भनिने, मार्क्सवादी या वामपन्थी भनिने दलहरू अगाडि नआएकाले सबै कुरा गञ्जागोल भयो । जोसँग धन छ उसले नीतिनिर्माण तहमा एकलौटी हस्तक्षेप गरेको गर्‍यै, सीमान्त वर्ग जताततैबाट चुसिने लुटिने मात्र भयो । राज्यले जे सुविधा दिएको छ त्यसको उपभोग गर्नेसम्मको पनि संस्था र संरचनाहरू बनेनन् । सबैको पहुँच हुने अवसर सिर्जना गर्न सकिएन ।

अहिले केही नवयुवाहरू वामपन्थी कार्यसूची लिएर अघि बढ्न खोजिरहेका छन् । केहीले पुरानोबाट विद्रोह गर्दै नयाँ गर्ने वाचा गरेका छन् । जसले गरे पनि ममदानीबाट यति सिक : जनताको दैनिक जीवनसँग सिधा जोडिएका प्रश्नको सिधा उत्तर देऊ र उनीहरूसँग पहिलेका गल्तीका लागि माफी माग । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताबाट पनि सिक्दा हुन्छ । धनाढ्यहरूको मन्दिरतिर गरिबहरूको काँधमा चढेर दर्शन गर्न जाने बाटो लिएकैले यो दुर्घटनासम्म पुग्नुपरेको हो । बरु सीमान्त वर्गलाई ईश्वर सम्झेर या मानव सम्झेर सेवा गरे चैं ममदानी बनिन्छ ।

फर्क फर्क हे ! जाउ समाऊ,

मानिसहरूको पाउ ।

मल्हम लगाउ आर्तहरूको, 

चहराइरहेको घाउ ।।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?