रेडियो नेपाल, एफएम रेडियोहरू र विभिन्न टेलिभिजनका पर्दामा ‘तीजको रहर आयो बरिलै …’ बोलको गीत बज्न थालेपछि नेपाली दिदीबहिनी तीज भित्रिएको महसुस गर्छन्। यो गीत नै तीज पर्वको प्रतीक (आइकोन) बनेको छ। हरेक वर्षको तीजका सन्दर्भमा आयोजना हुने दरखाने कार्यक्रम, स्कूल तथा कलेजमा आयोजना हुने कार्यक्रम, तीज गीत प्रतियोगितामा यो गीत बजेकै हुन्छ, बजेन भने तीजको कार्यक्रम नै होइन कि भन्ने भान हुन पुग्छ।
हरेक तीजमा बज्ने र यसै गीतमा दिदीबहिनी नाच्ने गीतका रचनाकार को होलान् ? गीतका सर्जक र गायकको त कुरै छाडौं, यस गीतको बोलमा नै कतिपय श्रोताहरू स्पष्ट हुन सकेका छैनन्। यस गीतमा प्रयुक्त शब्दहरूसँग पनि परिचित भएका छैनन्। यसका केही उदाहरण हेरौं तः
‘तीजको रहर आयो बरिलै, तीजको रहर आयो बरिलै’ बोलको स्थायीभन्दा अगाडिको हरफमा धेरैले सही शब्द बोलेको सुनिंदैन। ‘गाउँ शहर खोलेर दिदी र बहिनी, नाचौं न मिलेर दाम लिई सैनी’ भनेर गाउँदै नाचेको मैले देखेको छु। कतिपयले त ‘नाचौं न मिलेर दामली सैनी’ लाई ‘नाचौं न मिलेर नाम लिई सैनी’ र कतिपयले ‘नाचौं न मिलेर दाम लिई सैनी’ भनेर गाएको पनि सुनेको छु।
वास्तवमा यस तीज गीतका सर्जकले लेखेको स्थायीको पहिलो हरफ गीत भने यस्तो थियो, ‘गाऔं स्वर खोलेर दिदी र बहिनी, नाचौं न मिलेर दामली सैनी’। ‘स्वर’ लाई बोलीचालीको भाषामा ‘सोर’ पनि भनिन्छ। यस गीतमा प्रयुक्त ‘दामली’ शब्दको अर्थ ‘साथी, बाल्यकालमा सँगै खेलेको साथी, समवयस्क, दौंतरी’, र ‘सैनी’ शब्दको अर्थ ‘महिला महिलाका बीचमा गरिने मित्रता’ वा ‘पुरुष पुरुषबीच लगाइने मीत जस्तै महिला महिला बीच लगाइने मितेरी साइनो अर्थात् मितिनी’ हुन्छ।
तीजका गीत नेपाली लोक गीतका मूल प्रकार हुन्। लोक गीत भन्ने बित्तिकै लोकले गाउने गीत हुन्। आम जनताले गाउने गीत हुन्। त्यसले गर्दा यस्ता गीतमा लोकमा प्रयुक्त शब्दहरूको वर्चस्व हुने गर्छ। यस गीतमा पनि सोर, दामली, सैनी, बरिलै, आघुम, भदौरे भेल, कर्करे, छिड्केरी, दकस, निर्जल, बर्त जस्ता लोक तथा झर्रा शब्दको प्रयोग गरिएको छ।
गीतका शब्द नबुझे पनि नेपाली महिला दिदीबहिनीहरूले तीज भन्ने बित्तिकै सम्झने गीत हो यो। यस गीतका सर्जक थिए चेतन कार्की, सङ्गीत मनोहर सिंह र स्वर सुष्मा श्रेष्ठ र साथीहरूको। नेपाली कथानक चलचित्र कन्यादानका लागि छायाङ्कन गरिएको यस गीतमा चरित्र अभिनेत्री शुभद्रा अधिकारी, बसुन्धरा भुसाल र नायिका गौरी मल्ल लगायतको सामूहिक नृत्य देख्न सकिन्छ। चेतन कार्कीका शब्दमा ‘मनोहरि सिंहले त मेरो तीजको गीत (कन्यादान फिल्मका लागि लेखेको) ‘तीजको रहर आयो बरिलै’ लाई कालजयी बनाएर गाए, तीज लागेको सूचक गीत नै बनाएर गए भन्दा अतिशयोक्ति नहोला।’
००० ०००
चेतन कार्कीको जन्म २२ कात्तिक १९९५ सोमबार पूर्णिमा तिथि (७ नोभेम्बर १९३८) मा स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाको आरुखर्क–९ अन्तर्गत बहाँटारीमा भएको थियो। बहाँटारी पोखरादेखि दक्षिणपश्चिम सिद्धार्थ राजमार्गको दायाँतिर र सेतीखोलाको तीरमा पर्छ। यही बहाँटारीमा जन्मेका चेतन कार्की चार वर्षको उमेरमा पिता कप्तान जुद्धवीर कार्की र माता चन्द्रमाया कार्कीका माहिला छोरा पिताजीसँगै पढ्नका लागि दाजु सहित सन् १९४२ मा देहरादून गएका थिए। पिताजी कप्तान जुद्धवीर सन् १९२६ (वि.सं. १९८२) मा ब्रिटिश इन्डियन आर्मीमा भर्ती भएर कप्तानसम्मको पदमा पदोन्नति भएका थिए। स्याङ्जा जिल्लाको साविक आरुखर्क गाउँ विकास समिति बहाँटारीमा जन्मेर भारतको देहरादूनमा हुर्के पढेका चेतन कार्कीमा बाल्यकालदेखि नै कला, संस्कृतिप्रति गहिरो रुचि थियो।
पिताजीका साथ चौध वर्ष वीरपुर पछानीका विभिन्न क्वार्टरमा बिताएका चेतन कार्कीले देहरादूनस्थित गोर्खा मिलिटरी स्कूल र डी.ए.भी. कलेजमा अध्ययन गरे। देहरादून विश्वविद्यालयबाट हिन्दी साहित्यमा स्नातकोत्तर (एमए) गरेका थिए भने जीव विज्ञानमा बीएस्सी तथा फिसरी डिभलपमेन्ट एन्ड एड्मिनिस्टेसन (एफडिए) मा डिप्लोमा गरेका कार्कीले वि.सं. २०१८ मा पोखरा ताल विकास आयोजनामा प्रमुख भएर नोकरी शुरु गरेका थिए।
स्कूल तहदेखि नै गीत, सङ्गीत, नृत्य तथा अभिनयमा रुचि भएका चेतन कार्की संवत् २०२१ मङ्सिरमा काठमाडौं बानेश्वरको मीनभवनमा प्रदर्शन गरिएको सांस्कृतिक कार्यक्रममा पहिलो पटक रङ्गमञ्चमा एउटा गायक, नर्तक र अभिनेताका रूपमा उत्रेका थिए। भन्थी सानीले भन्ने गीतमा गीतकार चेतन कार्कीले आफू खासै गायक नभएको तर वचन राख्न मात्र गाउने गरेको कुरा यसरी लेखेका थिएः
‘अँधेरी खोला गुएली पाक्यो चरीले चाखेको
गीत र मैले गाउँथे र कैले वचन नै राखेको।’
पोखरामा पुगेपछि चेतन कार्कीको प्रतिभा व्यापक रूपमा प्रस्फुटन भएको थियो। पोखरामा हिमाञ्चल सांस्कृतिक परिषद्को स्थापनापछि काठमाडौंमा हुने लोकनृत्य र लोकगीत प्रतियोगितामा आउने गण्डकी अञ्चलको टोलीको नेतृत्व गर्ने, नाटक लेखन तथा निर्देशन गर्ने, रेडियो नेपालमा गीत रेकर्ड गराउने, गाउने, उपन्यास लेख्ने जस्ता साहित्यिक तथा गीत, सङ्गीत तथा नृत्यमा चुर्लुम्मै डुबेका थिए कार्की।
वि.सं. २०२६ मा कलकत्तामा अध्ययन गर्ने नेपाली विद्यार्थीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा कार्की, तीर्थ शेरचन र मित्रलाल शर्मा लोकगीत सहितको सांस्कृतिक प्रस्तुति दिएपछि विदेशमा समेत चर्चा हुन शुरु भयो।
रेडियो नेपालबाट प्रसारित चेतन कार्कीको पहिलो गीत रोइला भाकाको ‘दाइलाई बोलाऊँ भने, लेक स्वर पुग्दैन, बोलाइरहन हुँदैन’ भन्ने थियो। यो गीतमा नातिकाजीको सङ्गीत तथा तारादेवी र भुवन थापाको स्वर थियो। यो गीत विशेष गरी गण्डक क्षेत्रको मगर जातिमा लोकप्रिय भाका रोइला र ब्राह्मण क्षत्री जातिमा लोकप्रिय भजन शैलीको चुड्का शैलीमा यो गीत रचिएको थियो। दोस्रो गीत नातिकाजीको सङ्गीतमा तारादेवीको स्वरमा नै थियोः ‘जून निदाउन थाल्यो, तारा निदाउन थाले। धरतीका पनि, सारा निदाउन थाले।’
०००००
पोखरा ताल विकास आयोजनामा प्रमुखको जागिरमा चित्त नबुझेपछि छोडेर काठमाडौं आएर ‘चेतना’ नामक नेपाली कथानक चलचित्रको पटकथा, संवाद, गीत लेखनका साथै चलचित्रको मुख्य सहायक निर्देशकको रूपमा जिम्मेवारी पाएपछि चेतन कार्कीको चलचित्र यात्रा प्रारम्भ भएको हो। चलचित्रको शुरुको नाम ‘चेतना’ भए पनि पछि यसको नाम ‘परिवर्तन’ मा परिवर्तन भई प्रदर्शन भएको थियो। यस चलचित्रका निर्देशक हीरासिंह खत्री थिए। यिनै खत्रीले कार्कीलाई चलचित्र क्षेत्रमा प्रवेश गराए, पटकथा लेखन, चलचित्र निर्माण, निर्देशन, सङ्गीत रेकर्डिङ, अभिनय, छायाङ्कन, ध्वनि अङ्कन, कला निर्देशन, सम्पादन आदिका पक्षमा सिकाए। ‘परिवर्तन’ फिल्मका सङ्गीतकार भारतीय भी. बलसारा जसले चेतनलाई गीतको ट्युनिङ गर्न हौस्याएका थिए।
‘परिवर्तन’ चलचित्रमा नारायण गोपालले लोकगीत गाएका छन्। यस लोकगीतका सर्जक चेतन कार्की थिए। संभवतः स्वरसम्राट नारायण गोपालले गाएको पहिलो लोकगीत थियो योः ‘बैनीको दया छ भने, रोदी घर दाइ नाच्यो नभने’। यो गीत झ्याउरे चुड्का थियो। गायिका मीरा राणालाई चलचित्रमा पहिलो पटक गीत गाउने अवसर दिने पनि चेतन कार्की थिए। नेपाली चलचित्रमा क्याब्रे गीत लेख्ने पहिलो सर्जक पनि कार्की नै थिए।
‘सुन मौसमले के भन्छ, रंग भनेको यौवन हो। सुख र दुःख क्यै हैन, ठूलो कुरा आफ्नै मन हो।’ बोलको यो गीत नेपाली चलचित्रको पहिलो क्याब्रे गीत हो। चलचित्र ‘परिवर्तन’ बाट चेतन कार्कीले चलचित्रको गीत, पटकथा, संवाद लेखन तथा निर्देशनमा हात हालेका थिए। यस चलचित्रमा रहेका सबै (८ ओटा) गीत कार्कीले नै लेखेका थिए।
चेतन कार्कीले तत्कालीन शाही नेपाली चलचित्र संस्थानमा मुख्य निर्माण अधिकृतको जागिर पनि खाए। संस्थानले निर्माण गरेको जीवनरेखा र सिन्दूरमा संवाद लेखन गरे पनि गीत लेख्ने काममा व्यवस्थापनले नपत्याएपछि संस्थानको जागिरलाई त्यागिदिए। ‘कान्छी’ चलचित्रमा गीत र संवाद लेखनको जिम्मेवारी पाए। ‘कान्छी’ फिल्मका गीतहरू निकै लोकप्रिय भए। यसै चलचित्रले सर्वश्रेष्ठ गीतकारको पुरस्कार दिलायो। परिवर्तन, कान्छी, विश्वास, मायाप्रीति, भुमरी, पहिलो प्रेम, राँको, प्रायश्चित, परदेशी, जूनतारा, विद्रोही, मनका आँखा, शिखर आरोहण, नेपाल प्यारो छ, ममता जस्ता चलचित्रमा गीत लेखेका छन् चेतन कार्कीले। चेतनले लेखेका चलचित्रका गीतमा भी. बलसारा, गोपाल योञ्जन, मनोहर सिंह, दिव्या खालिङ, शम्भुजीत बास्कोटा जस्ता दिग्गज सङ्गीतकारहरूले सङ्गीत दिए।

सन् १९८६ मा चलचित्र ‘विश्वास’ बाट निर्देशकको भूमिकामा देखिएका चेतन कार्कीले तीन ओटा चलचित्रको निर्देशन गरेका थिए। ‘विश्वास’ चलचित्रपछि सन् १९८९ मा ‘भुमरी’ र सन् १९९६ मा ‘पहिलो प्रेम’ चलचित्रको निर्देशन गरेका थिए। समय समयमा कार्कीले आफूले निर्देशन गरेका चलचित्रमा आफू सफल नभएको पनि स्वीकार्थे।
कथा, पटकथा, संवादमा मात्र होइन, चलचित्रका गीत लेखनका कार्की अब्बल थिए। चलचित्र ‘परिवर्तन’ को ‘बैनीको दया छ भने, रोदी घर दाइ नाच्यो नभने’, चलचित्र ‘कान्छी’ को शीर्ष गीत ‘कान्छी हे कान्छी’ र ‘यी ओठ तिम्रै’, चलचित्र ‘कन्यादान’ को ‘तीजको लहर आयो बरिलै’ र ‘नजाऊ न मलाई छोडी’, चलचित्र ‘मायाप्रीति’ को शीर्ष गीत ‘‘मायाप्रीतिको चोखो कथा’, चलचित्र ‘राँको’ को ‘सलल पानी यो जिन्दगानी’ जस्ता गीत निकै चर्चित छन्।
वि.सं. २०२८ मा तत्कालीन शाही नेपाली चलचित्र संस्थानमा निर्माण अधिकृतका रूपमा काम शुरु गरेका कार्कीले मुख्य निर्माण अधिकृतसम्मको भूमिका निर्वाह गरे। चलचित्र संस्थानबाट निर्माण भएका धेरै चलचित्रमा निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका थिए। वि.सं. २०२८ देखि २०३८ सम्म उनले शाही नेपाली चलचित्र संस्थानमा काम गरे।
०००
बीसको दशकमा झण्डै पच्चीस ओटा लोकगीत गाएका चेतन कार्कीका तत्कालीन अवस्थामा रेकर्ड गर्ने चलन नभएकाले कार्यक्रममा गाइए मात्र, पछि केही गीत रेकर्ड भएका पनि थिए।
कार्कीले नेपाल प्रहरी र नेपाली सेनाका लागि गीति नाटक लेखेका थिए। उनका गीति नाटकमा गोपाल योञ्जन, दिव्या खालिङ, शुभबहादुर सुनाम, शिलाबहादुर मोक्तान जस्ता दिग्गज सङ्गीतकारहरूले सङ्गीत दिए। उनका दश वटा जति गीति नाटक मञ्चन भइसकेका छन्।
श्रोताले गीत त सुन्छन्, आनन्द लिन्छन्, मनमनै गुनगनाउँछन्, तर गीतका सर्जक को हुन् भन्नेमा न चासो दिन्छन्, न त जरूरी नै ठान्छन्। बरु, गायक को होला भनेर जिज्ञासा राख्ने गर्छन्। चेतन कार्कीका चलचित्रका मात्र होइन, अन्य गीतहरू पनि निकै लोकप्रिय छन्।
पहिला पहिला रचना, सङ्कलन तथा परिमार्जन चेतन कार्की रहेको ‘भन्थी सानीले’ बोलको गीत रेडियो नेपालबाट बज्ने गर्थ्यो :
‘असला मार्यो बुधुना मार्यो टिमुरको विषैले
बोलाउँदा पनि नबोली बस्छ्यौ कहिलेको रिसैले
जूनले बरु पोल्ला हजुर ताराले पोल्दैन
ढुंगा बरु बोल्ला हजुर मायालु बोल्दैन, भन्थी सानीले।’
यस गीतका वास्तविक गायक स्व. तीर्थ शेरचन थिए। यसै गीतको रिमिक्स भर्सन अहिले बजारमा छ। रिमिक्स गायन विधान श्रेष्ठ र साथीहरूले गाएको यस गीतका सर्जक र वास्तविक गायकको नाम प्रायः श्रोतालाई थाहा छैन होला। यसै गीतमा ‘हिलो लाग्छ हजुर नाइलनको सारीमा’ बोल पनि रहेको छ। यिनै जस्ता शब्दहरू प्रयोग भएका अन्य गीतमा पनि सुनिएको पाइन्छ, तर यी गीतका वास्तविक सर्जक चेतन कार्कीको नाम कसैले लिएको पाइँदैन। चेतन कार्कीका शब्दमा गीत यस्तो थियोः
‘आए है माया खुर्सानी बारी म पर्खिबसुँला
बाबा रिसाए केही परिआए मुग्लानै पसुँला
जान्न म त हजुर खुर्सानी बारीमा
हिलो लाग्छ हजुर नाइलनको सारीमा, भन्थी सानीले।’
कार्कीका गीतमा आफ्नो जन्मस्थल बहाँटारी नजिकको सेतीखोला, आफूले पहिलो जागिर गरेको पोखराको बैदामे ताललाई राँको चलचित्रमा यसरी उल्लेख गरेका छन्ः
‘सलल पानी यो जिन्दगानी बगेरै जाने भो चट्ट मायालु।
यो लाली जोवन यो लर्के बैंस कसले पो लाने हो चट्ट मायालु।
सेती है खोला त्यो चिसोपानी माछीको रमिता।
खेलौं कि बल्छी कि हानौं जाल अलमल हामी ता।’ ‘मायाप्रीतिको चोखो कथा’, २०७१ बाट।
चेतन कार्की गीत लेखनमा मात्र चर्चित नाम होइन, उनका आत्मा बेचेको छैन, २०२३/२०३०/२०७१ (उपन्यास) र हनिमुन, … (उपन्यास), ढलेको गिलास, …. (लघु उपन्यास), कल्पना टूट चुकी है, …. (हिन्दी, उर्दू कविता सङ्ग्रह), जून निदाउन थाल्यो, …. (गीत–कविता सङ्ग्रह), ‘हत्केलाले सधैंभरि सूर्य छेकिंदैन’, २०६८ (टुक्रा–टुक्री सङ्ग्रह), हो देश मेरो पनि, २०६८ (गजल सङ्ग्रह), बसी बियाँलो, २०७१ (कथा सङ्ग्रह), मायाप्रीतिको चोखो कथा, २०७१ (गीत–कविता सङ्ग्रह), दिल जिगर के टुकडे, २०७२ (बयाज, मिश्रित काव्य सङ्ग्रह उर्दू भाषामा)।
चेतन कार्की उर्दू भाषाका जानकार र उत्कट प्रशंसक थिए। उनले ‘दिल जिगर के टुकडे’, २०७३ (बयाज, मिश्रित काव्य सङ्ग्रह) उर्दू भाषामा लेखेका छन्। भारतको देहरादूनमा स्कूल शिक्षादेखि उच्च शिक्षा हासिल गरेका हुनाले उनमा हिन्दी, उर्दू तथा फारसी साहित्यप्रति अनुराग हुनु स्वाभाविकै हो। उनले उर्दूमा रुबाई, नज्म, गजल र कत्आत पनि लेखेका छन्। उनले वि.सं. २०१६ मङ्सिर (सन् १९५८) मा नै उर्दूमा रुबाई लेखेका छन्ः
‘दिल वालों से बुरा, दुनियाँ मे कोई नहीं।
रंग में कालों से बुरा, दुनियाँ मे काई नहीं।
मेरी मानिए तो गोरे गालों पर काले।
तिल वालों से बुरा, दुनियाँमा कोई नही।’ ‘दिल जिगर के टुकडे’, २०७३ बाट।
वि.सं. २०७३ मङ्सिरमा पनि कार्कीले रुबाईमा लेखेका छन्ः
‘अवाम के लिए जब ‘वाद’, मधुरा का पेडा हो गया।
जम्हूरियत के लिए ‘तन्त्र’, खासा बखेडा हो गया।
छत्तीस छत्तीस सालों तक, ‘पाइप’ में रखने पर भी।
लीडर तो सीधा न हुआ, ‘पाइप’ ही टेढा हो गया।’ ‘दिल जिगर के टुकडे’, २०७३ बाट
मुक्तक विधाका सशक्त हस्ताक्षर पनि हुन् चेतन कार्की। उनका फुटकर रूपमा मुक्तक धेरै नै प्रकाशित भए पनि ‘हत्केलाले सधैंभरि सूर्य छेकिंदैन’, २०६८ टुक्रा–टुक्री सङ्ग्रहका रूपमा प्रकाशित छ। ज्यादै धारिला मुक्तक पस्कने चेतन कार्कीको एउटा मुक्तक हेरौं तः
‘सोझ्याउँछु भन्नेले नै, डुंगाको माउलाई।
किनारमा डुबाइदियो, जीवनको नाउलाई।
तिमीले पनि लौ एउटा बान हानी हेर।
छ ठाउँ यस मुटुमा, अझै एउटा घाउलाई।’ ‘हत्केलाले सधैंभरि सूर्य छेकिंदैन’, २०६८ बाट
नेपाली, हिन्दी, फारसी र उर्दू भाषामा दख्खल राख्ने कार्कीले उर्दूमा समेत गजल लेखेका छन्। उनको नेपाली भाषामा लेखिएको ‘हो देश मेरो पनि’ २०६८ मा प्रकाशित गरेर नेपाली गजल साहित्यलाई समृद्ध बनाएका छन्। यस गजल सङ्ग्रहमा ५१ ओटा गजल सङ्ग्रहित छन्। फुटकर गजलको त हिसाबकिताब नै छैन उनको। उनको एउटा गजललाई हेरौं न तः
‘निठुरी जान्छ्यौ, जाउ छोडी; तर आँसु लुकाई जानु।
कसम तिमीलाई त्यो मायाको, टुना मोहनी फुकाई जानु।
मेरो सञ्चो बिसञ्चो क्यै कसैले सोधी हालेमा।
लिनु चुट्की खरानी हत्केलामा, अनि उडाई जानु।
के हुन्छ तिमीलाई त; जे हुनु मै दुःखीलाई होस्।
मसक्क मस्केर कर्के नजर दिई मुस्कुराई जानु।
फगत पानी हो तीन पानी; नशालु बैंसका सामु।
कि डुब्लान लाख म जस्ता प्रिये; आँखा झुकाई जानु।’ ‘हो देश मेरो पनि’ बाट
चेतन कार्कीले नेपाली साहित्यमा खासै चर्चा नभएको तर हिन्दी साहित्यमा अत्यन्त सशक्त, ललित र रोचक काव्य शैली ‘कुण्डली’ को प्रयोग गरेका छन्। कुण्डलीको प्रयोगका सन्दर्भमा कार्कीले भनेका छन्, ‘नेपाली साहित्यमा अरबी, फारसी र उर्दूबाट गजल र रुबाई शैली भित्र्याइए। जापानी हाइकु र तान्का तथा कोरियाली सिजो शैलीको पनि आयात भैसक्यो, तर हिन्दीको सशक्त कुण्डली शैलीले आजसम्म प्रवेश नपाएकोमा आश्चर्य लाग्दछ।’
कार्कीले आफ्नो जीवनमा पाँच ओटा कुण्डली लेखेका छन्। एउटा उदाहरणका रूपमा तल उल्लेख गरिएको छः
‘सृष्टि गरेर ईश्वरले, के के न गरें भनी ठान्यो।
पैसा रचेर मानिसले, ब्रह्मालाई गोली हान्यो।
ब्रह्मालाई गोली हान्यो, लागे लक्ष्मी–नारायण पाखा।
पैसा भनेपछि खुल्न थाल्यो, शिवको नि तेस्रो आँखा।
भन्छन् ‘चेतन’ कविकुलगौरव, पैसामै सबको दृष्टि।
मानिसले ईश्वरलाई पछार्यो, पैसाको गरेर सृष्टि।’ ‘बसी बियाँलो’, २०७१ बाट
हिन्दीको सशक्त काव्य शैली ‘कुण्डली’ का सम्बन्धमा कार्कीको विचार यस्तो छ, ‘यो छ पाउको (षट्पदी) हुन्छ, जुन बिन्दुबाट वृत्तको ‘अथ’ हुन्छ, त्यही बिन्दुमा पुगेर त्यसको ‘इति’ पनि हुन्छ, जुन शब्दबाट कुण्डलीको शुभारम्भ हुन्छ, त्यही शब्दबाट अन्त्य हुन्छ र दोस्रो पाउको उत्तरार्धलाई तेस्रो पाउको पूर्वार्ध हुनै पर्छ र पाँचौं पाउमा कविको नाउँ आउनै पर्छ।’
चेतन कार्की उपन्यासकार पनि हुन्। ‘आत्मा बेचेको छैन’ उपन्यास चेतन कार्कीको पुस्तकका रूपमा पहिलो प्रकाशित कृति हो। हुनतः यो कृति पोखराको मल्टी पर्पज हाईस्कूलका विद्यार्थीले मञ्चन गर्न वि.सं. २०२२ मा पूर्णाङ्की नाटकका रूपमा लेखिएको रहेछ। नाटक मञ्चनमा तत्कालीन सहायक अञ्चलाधीशको व्यवहारका कारण चेतन कार्कीले यस नाटकलाई उपन्यासको रूप दिएर प्रकाशन गरेका रहेछन्। त्यसपछि ‘हनिमुन’ उपन्यास र ‘ढलेको गिलास’ लघु उपन्यास समेत कार्कीले लेखेका छन्।
००० ०००
चेतन कार्कीद्वारा लिखित गीत, कथा, मुक्तक, उपन्यास, गजलका साथै उनीद्वारा निर्देशित चलचित्रको त्यति चर्चा परिचर्चा नभए पनि वर्षको एकपटक ‘तीजको रहर आयो बरिलै, तीजको रहर आयो बरिलै’ गीतसँग तीजको आगमन हुने गर्छ, तीजको आगमनपूर्वको एक महिनादेखि बज्ने गर्छ र यही गीत बजाउँदै तीज पनि बिदा हुन्छ।
नेपाली सांस्कृतिक क्षेत्रका बहुआयामिक व्यक्तित्व चेतन कार्कीलाई सन् २०१९ डिसेम्बरको अन्त्यबाट विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ ले आक्रान्त बनायो र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचाररत कार्कीलाई २ जेठ २०७८ मा आइतबार यस धर्तीबाट लिएर गयो।
चेतन कार्कीले नेपाली चलचित्र ‘मायाप्रीति’ फिल्मको गीतमा लेखेका थिए, ‘माया हो ईश्वर, ईश्वर हो माया, प्रभुकन पिरती कबै भूल हुँदैन’। हो, माया त ईश्वर नै हो, ईश्वरले चेतन कार्कीलाई माया गर्यो, प्रभुले कार्कीसँग पिरती लगायो, कार्कीले प्रभुसँग। फलतः प्रभुले कार्कीलाई यस धर्तीबाट तानेर लग्यो।
‘राँको’ फिल्ममा चेतन मामाले लेख्नुभएको थियो, ‘सलल पानी यो जिन्दगानी, बगेरै जाने हो चट्ट मायालु।’ चेतन कार्कीले आफूले लेखेको गीत झैं जीवन सलल पानी जस्तै बगाएर गए, नफर्किने गरी। नेपाली संस्कृतिकर्मीहरू चेतन कार्की सलल बगेको हेरेर बस्न बाध्य भए।
सांस्कृतिक क्षेत्रका बहुआयामिक व्यक्तित्व चेतन कार्कीलाई नेपाली सिनेमा जगत, नेपाली साहित्य जगत र नेपाली स्वाभिमानी नागरिकले गुमाएका छौं। उनी जन्मेको गाउँपालिका, गृह जिल्ला तथा गृह प्रदेश सरकारले चेतन कार्कीका नाममा केही उल्लेखनीय काम गरे जस्तो लाग्दैन। राष्ट्र तथा सरकारले चेतन कार्कीको योगदानलाई चिन्न नसके पनि नेपाली सङ्गीत जगतले सम्झिनै रहने छ; अरू बेलामा सम्झिन नभ्याए पनि हरेक वर्षको तीजमा भने उनीद्वारा रचित गीत बजाएर र यसै गीतमा नाचेर सम्झिरहने छन्।
प्रतिक्रिया 4