२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तोसिमा कार्कीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्नुपर्ने लिखित सुझाव पार्टीमा राखेकी छिन् । हिजो र आज चलेको पार्टीको विस्तारित बैठकमा आफ्नो तर्फबाट लिखित सुझाव पेश गर्दै उनले महाधिवेशनलाई पार्टीको ‘अक्सिजन’ रुपमा अर्थ लगाएकी हुन् ।
पार्टी पुनर्गठनको एजेन्डा उठाउँदै आएकी उनले शुक्रबार नै आफ्ना कुरा बैठकमा राख्न खोजेकी थिइन् ।
यद्यपि उनलाई समयको कारण देखाउँदै रोकिएको थियो ।
आजको बैठकमा आफ्नो प्रस्ताव राख्दै कार्कीले भनेकी छिन्, ‘महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ ।’
महाधिवेशनले पार्टीमा व्यापक सहभागिता, पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता एवं नयाँ ऊर्जा थप्ने उनको बुझाइ छ ।
तर, आजमात्रै विस्तारित बैठकले निर्वाचनपछि ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय लिनका लागि केन्द्रीय समितिलाई तालिका ल्याउन आग्रहसति निर्णय गरेको छ ।
साथै, उनले पार्टीमा सचिवालय विस्तार भएकोप्रति पनि आपत्ति जनाएकी छिन् ।
‘महाअधिवेशन आयोजक समिती घोषणा पछि पनि केन्द्रीय सचिवालय र पदाधिकरी रहिरहनु र सचिवालय विस्तार समेत गरीनुको आधार स्पष्ट नभएको मेरो बुझाइ छ,’ उनले भनेकी छिन् ।
महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने उनको सुझाव छ ।
प्रतिक्रिया 4