News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं स्पोर्ट्स एण्ड इभेन्ट्सले कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
- प्रतियोगितामा १७ टिम सहभागी हुनेछन् र प्रत्येक टिममा ११ खेलाडी रहनेछन्, जसमा ८ खेलाडी प्लेइङ र ३ अतिरिक्त खेलाडी हुनेछन्।
- प्रतियोगिताको बजेट ४५ लाख रहेको छ।
२३ कात्तिक, काठमाडौं । काठमाडौं स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी २८ देखि फेब्रुअरी ४ (माघ १४ देखि २१ गते) सम्म काठमाडौको मुलपानी मैदानमा हुने जानकारी दिएको हो ।
टी-१० फर्म्याटमा खेलिने यस प्रतियोगितामा १७ टिमको सहभागिता रहने टुर्नामेन्ट डिरेक्टर ज्योती भण्डारीले जानकारी दिए । पहिले नाम दर्ता गर्ने टिमलाई प्राथमिकता दिइने भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुने प्रत्येक टिममा ११ खेलाडी रहनेछन् । जसमा ८ खेलाडी प्लेइङ र ३ जनालाई अतिरिक्त खेलाडीका रूपमा राख्न पाइनेछ । प्रत्येक टिमले कम्तिमा ३ खेल खेल्न पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको टेक्निकल डिइरेक्टर रबिन्द्र गुप्ताले प्रतियोगितामा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरेर खेलाइने र हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने बताए ।
विगतमा सुपर सिक्स आउटडोर क्रिकेट प्रतियोगिता हुँदै आएपछि कोभिड महामारीपछि त्यो बाद भएको र अहिले कर्पोरेट क्रिकेट धेरै जसो इन्डोरमा हुन थालेको गुप्ताले बताए ।
‘अहिले कर्पोरेट क्रिकेट इन्डोरमा हुन थालेको छ । धेरैजसो कर्पोरेट क्षेत्रले पनि आउटडोरमै कर्पोरेट क्रिकेट गरौँ भनेर सुझाव दिएपछि हामीले टी-१० फर्म्याटमा कर्पोरेट क्रिकेट आयोजना गर्न लागेका हौं’ उनले भने, ‘यो प्रतियोगिता मनोरञ्जनका लागि हो । नेपालमा अहिले क्रिकेटको चर्चा बढिरहेको छ । कर्पोरेटमा काम गर्नेहरुले पनि वर्षमा एकपटक मनोरञ्जन लिउँ भनेर प्रतियोगिता गर्न लागेको हो ।’
यस प्रतियोगिता आईसीसीकै नियम अनुसार खेलाइने र ड्युज बल प्रयोग हुने गुप्ताले जानकारी दिए । यस प्रतियोगिताका विजेता, उपविजेता टिम तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कारसहित सम्मान गरिने छ ।
प्रतियोगितामा टिम सहभागिताको लागि दर्ता शूल्क १ लाख रहेको आयोजकले जनाएको छ । यस्तै कर्पोरेट हाउसमा काम गर्ने र २५ वर्षमाथिका खेलाडीले मात्र यस कर्पोरेट टी-१० क्रिकेट खेल्न पाउने टेक्निकल डिरेक्टर गुप्ताले जानकारी दिए ।
आयोजकका अनुसार प्रतियोगिताको बजेट ४५ लाख रहेको छ ।
प्रतिक्रिया 4