News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका छन्।
- मन्त्री परियारले मौरीपालक किसानहरूसँग छलफल गरी विगतको सहमतिका आधारमा किसान प्रतिनिधिको रोहबरमा मह आयात गर्न दिएको जानकारी दिए।
- मन्त्री परियारले त्रिपक्षीय छलफल गरेर महको आयात र बजारीकरणका समस्याको उचित निर्णय लिइने आश्वासन दिएका छन्।
२४ कात्तिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका छन् ।
आज सिंहदरबारमा मौरीपालक किसानहरूसँगको छलफलमा मन्त्री परियालले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय नगरिने प्रतिबद्धता पनि जनाएका हुन् ।
बहुराष्ट्रिय कम्पनीहरूलाई मह आयात गर्न दिने निर्णय गरेपछि रुष्ट बनेका किसानहरूसँग उनले आज मन्त्रालयमै छलफल गर्दै विगतको सहमतिका आधारमा एक पटकका लागि किसान प्रतिनिधिकै रोहबरमा आयात गर्न दिएको जानकारी दिए ।
आगामी दिनमा पनि मौरीपालक किसानसँगको छलफलपछि मात्रै निर्णय गर्ने उनले आश्वासन दिए । उनले मौरीपालक किसानका समस्या र समाधानका उपाय खोज्न मन्त्रालयले एक समिति बनाएको र समितिले अध्ययन पनि गरिरहेको जानकारी दिए ।
मौरीपालक किसानहरूले भने महको आयात रोक्नुपर्ने र नेपाली किसानले उत्पादन गरेको मह बहुराष्ट्रिय कम्पनीहरूले खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।
सो विषयमा मन्त्री परियारले त्रिपक्षीय छलफल गरेर उचित निर्णय लिइने पनि बताए । उनले महको बजारीकरणका समस्या र समाधानका उपायका बारेमा सुझाव दिन पनि अनुरोध गरे ।
प्रतिक्रिया 4