२४ कात्तिक, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी अगाडि बढ्न सुझाएका छन् ।
निर्वाचन आयोगका अधिकारीहरूसँग भएको छलफलमा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।
सोमबार निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त, पूर्वनिर्वाचन आयुक्त एवम् पूर्वसचिवहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको थियो ।
छलफलमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेती, पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त डा. रामभक्त पीबी ठाकुर थिए । निर्वाचन आयोगका पूर्व सचिवहरू मधुप्रसाद रेग्मी, रविलाल पन्थ, सुरेश अधिकारी र भरतमणि सुवेदीको पनि सहभागिता रहेको थियो ।
जहाँ विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय उठेको थियो । पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने बताए ।
बरु २१ फागुनको चुनाव सारेर वैशाखमा निर्वाचन गर्न सकिने उल्लेख गर्दै उनीहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार भने दिनुपर्ने बताए । विदेशमा रहेकालाई भोटिङ अधिकार दिन अनलाइन भोटिङमा जानुपर्ने पनि उनीहरूको सुझाव छ ।
छलफलमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको बताए ।
साथै उनले युवा पुस्ताको आन्दोलनको माग बमोजिम सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आधार तयार गर्ने तथा राजनीतिक दलहरूको माग बमोजिम जनप्रतिनिधिमूलक शासन कायम गर्ने उपाय नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन भएको धारणा राखे ।
नेपालको संविधान र मौजुदा कानुन बमोजिम तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको दायित्व रहेको स्मरण गरे ।
प्रतिक्रिया 4