आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास यति उच्चस्तरमा पुगिसकेको छ कि यसले मरिसकेका व्यक्तिहरूको आवाज, कुराकानी र स्मरणहरूलाई पनि पुनः जीवित तुल्याउन सक्छ।
हो, तपाईंले सही सुन्नुभयो ! केही कम्पनीहरूले यस्ता एआई च्याटबोटहरू निर्माण गरिरहेका छन्, जसको मद्दतले मानिसहरूले आफ्ना बितिसकेका प्रियजनहरूको डिजिटल संस्करण बनाउन सक्छन् र उनीहरू जीवितै भएको जस्तो अनुभव प्राप्त गर्न सक्छन् ।
यो प्रविधिको नाम ‘डिजिटल आफ्टरलाइफु (मृत्युपछिको डिजिटल जीवन) वा ‘डेथबोट्स’ हो ।
‘डेथबोट्स’ के हुन् ?
‘डेथबोट्स’ भनेका यस्ता आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीहरू हुन् जसले कुनै दिवङ्गत व्यक्तिको बोल्ने तरिका, आवाज र व्यक्तित्वलाई पुनः सिर्जना गर्न सक्छन् ।
यी प्रणालीहरूले व्यक्तिको आवाज रेकर्डिङ, टेक्स्ट सन्देशहरू, ईमेलहरू र सामाजिक सञ्जाल पोस्टहरू जस्ता उपलब्ध डेटा सङ्कलन गर्छन् ।
यसरी सङ्कलित डेटाको आधारमा एआईले एउटा यस्तो डिजिटल अवतार तयार गर्छ जो व्यक्तिको मृत्युपश्चात् पनि बोल्न सक्छ । केही समयअघिसम्म यस्ता कुराहरू काल्पनिक लाग्थे, तर एआईको विकासले गर्दा यो अब वास्तविकता बन्न थालेको छ ।
रोमाञ्चक तर केही डरलाग्दो अनुभव
डेथबोट्ससँगको अनुभव रोमाञ्चक तर केही हदसम्म डरलाग्दो पनि पाइएको छ । वैज्ञानिक प्रयोगहरूले दुई प्रकारका अनुभव देखाएका छन् ( पहिलो, जहाँ प्रणालीहरूले केवल यादहरू (जस्तै बाल्यकालका कथाहरू वा सल्लाहहरू) लाई व्यवस्थित गरी डिजिटल डायरी वा अभिलेख बनाउँछन् । त्यस्तै दोस्रो चाहीँ त्यसभन्दा अत्याधुनिक च्याटबोट हुन् जसले मृत्यु भइसकेका व्यक्तिका डेटाबाट उही शैली र आवाजमा कुरा गर्छन् । मेसिन लर्निङको प्रयोगले गर्दा यी च्याटबोटहरू समयसँगै अझै स्मार्ट हुँदै जान्छन् ।
के वास्तविक रूपमा आफ्नै मान्छेसँग कुरा गरेजस्तो लाग्छ ?
च्याटबोटसँग पहिलो पटक कुरा गर्दाको अनुभव भावनात्मक र असामान्य हुन्छ । कहिलेकाहीँ एआईले ठ्याक्कै मिल्ने जवाफ दिन्छ भने, धेरै पटक त्यसका जवाफहरू नक्कली वा भावनाशून्य लाग्छन् ।
उदाहरणका लागि, ‘मलाई तिम्रो धेरै याद आउँछ’ भन्ने कुराको जवाफमा एआईबाट ‘म यहीं छु, तिम्रो साथ दिन सधैँ तयार छु’ भन्ने जस्तो जवाफ सुन्दा राम्रो लागे पनि त्यसमा मानिसमा हुने वास्तविक भावनाको कमी देखिन्छ ।
कहिलेकाहीँ त एआईले गम्भीर विषयमा पनि हाँसोको इमोजी पठाउने जस्ता आश्चचर्यजनक व्यवहार देखाउँछ, जसले प्रयोगकर्तालाई अप्ठेरो महसुस गराउँछ ।
मृत्युको अर्थतन्त्र
वास्तवमा यो प्रविधि द्रूत गतिमा ठूलो व्यवसाय बन्दै गएको छ । धेरै स्टार्टअप कम्पनीहरूले ‘डिजिटल आफ्टरलाइफ सेवा’ को नाममा मानिसहरूबाट शुल्क लिइरहेका छन् । उनीहरू यो प्रविधिलाई आफ्नो कहानी सधैँका लागि सङ्ग्रह गर्ने माध्यमका रूपमा प्रचार गर्छन् ।
तर विज्ञहरूको भनाइ अनुसार यी कम्पनीहरूले मुख्य रूपमा मानिसका व्यक्तिगत डाटा जम्मा गरेर त्यसबाट आम्दानी गरिरहेका छन् ।
यसरी यो प्रविधि एक नयाँ मृत्युको अर्थतन्त्रको रूपमा विकास भइरहेको छ, जसले व्यक्तिको मृत्युपछि पनि उसको डेटाको माध्यमबाट पैसा कमाउने बाटो खोलिदिएको छ । एजेन्सी
प्रतिक्रिया 4