२५ कात्तिक, लन्डन । लन्डन नर्थ वेष्ट हेल्थ केयर (एनएचएस) ट्रष्टमा क्रिटिकल केयर आउटरिच स्पेसलिष्ट प्रसुना कंडेल झण्डै २० वर्षदेखि बेलायतमा नर्सिङ पेशामा छिन् । ‘कामको चाप र मानसिक तनाव छ तर आकर्षण पनि छ’, प्रसुनाले सुनाइन्, ‘यस पेशामा सम्मान र कमाइ लोभलाग्दो छ । त्यसकारण यसप्रति आकर्षित हुनेको संख्या बढिरहेको छ ।’
उनले यही पेशामा रहँदा बक्र्स र युडब्लुएल युनिभर्सिटीमा एसोसिएट लेक्चररको जिम्मेवारी पनि पाएकी छन् ।
बेलायती विश्वविद्यालयहरुले बर्सेनि उत्पादन गरिरहेका नर्स र अन्तर्राष्ट्रिय नर्सहरुको आगमनले अहिले काम पाउन भने अलिकति गाह्रो रहेको उनले बताइन् ।
‘स्वास्थ्य सेवा त सधैं खाँचो हुन्छ किनभने मानिस बिरामी भइरहन्छन्, नयाँ जन्मिरहेका छन्,’ उनको तर्क छ, ‘कोभिडपछि अझ हेल्थ केयर प्रोफेसन सधैं चाहिने रहेछ भन्ने महसुस भयो । कामको चाप बढी भए पनि डिमाण्ड समेत बढिरहेको छ ।’
पे–स्केल चित्तबुझ्दो छ । तर, बेलायतको महँगी दिनहुँ बढेकाले जीवनयापन थप कष्टकर बन्दै गएको अनुभव पनि उनीसँग छ ।
नेपालमा सन् १९९८ देखि र बेलायत आएर सन् २००४ देखि नर्सिङमा लागेकी सुनिता गौतम हाल अक्सलिज एनएचएस फाउण्डेसन ट्रष्टमा स्पेसलिष्ट नर्सका रुपमा कार्यरत छन् । उनी नर्सिङ आकर्षण बढ्नुमा चित्तबुझ्दो आर्थिक पक्ष (कमाइ), अवसर धेरै, आत्मसन्तुष्टि, विश्वसनीय जागिर र छुट्टै पहिचान प्रमुख कारण देख्छिन् ।
‘क्वालिफाइड भएपछि सजिलै जागिर पाउन सकिन्छ यद्यपि यतिखेर रिक्रुटमेन्ट प्रक्रिया स्लो छ’, उनले भनिन्, ‘कतिपय सरकारी निकायमा भ्यालिडेसनमा नर्सको हस्ताक्षर चल्ने हुँदा गर्व लाग्छ ।’ यही पेशामा २०० बढी सेक्टरमा काम गर्न पाइने अवसर रहेको उनले सुनाइन् ।
नेपलिज नर्सिङ एसोसिएसन यूकेकी पूर्व अध्यक्ष एवं हाल सल्लाहकार गौतमले बेलायतमा नर्सले अनुभव र कामका आधारमा मासिक ३ देखि ५ हजार पाउण्डसम्म कमाउन सक्ने जनाइन् ।
एनएचएसमा छन् २०० राष्ट्रका नागरिक
राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) इंगल्याण्डले अगष्ट २०२५ सम्म हेडकाउन्टको आधारमा लगभग १५ लाख मानिसलाई रोजगारी दिएको छ । यसमध्ये पूर्णकालीन कर्मचारी संख्या १४ लाख छ । यो तथ्यांकमा एम्बुलेन्स, कम्युनिटी, मानसिक स्वास्थ्य र अस्पताल सेवाका कर्मचारी साथै कमिसनिङ भूमिकामा रहेका एनएचएस इंगल्याण्ड जस्ता केन्द्रीय निकायमा काम गर्ने जनशक्ति पनि समावेश छ, जसले यसलाई इंगल्याण्डको सबैभन्दा ठूलो रोजगारदाता बनाएको छ ।
यसबाहेक, एनएचएसले रोजगारी नदिएका पनि यससँग आवद्ध भएर काम गर्छन् । जस्तै जनरल प्राक्टिस (जीपी) मा काम गर्ने लगभग एक लाख ५० हजार र दन्त चिकित्सक २५ हजार बढी छन् ।
एनएचएसमा इंगल्याण्डमा धेरैजसो कर्मचारी बेलायती छन्, तर लगभग १९ प्रतिशत गैरब्रिटिश रहेको तथ्यांक छ । एनएचएस वर्कफोर्स स्टाटिसटिक्सका अनुसार, गत जुन २०२३ सम्म १५ लाख कर्मचारीमध्ये लगभग २ लाख ६५ हजार गैर–ब्रिटिश थिए ।
ती कर्मचारी २०० भन्दा बढी राष्ट्रियता भएका हुन् । तथ्यांक अनुसार, एक लाख २२ हजार एसियाली नागरिक (८.६ प्रतिशत) छन् भने ७० हजार (५.२ प्रतिशत) युरोपियन युनियनका नागरिक छन् ।
उक्त तथ्यांकमा रजिष्टर्ड नेपाली नर्सहरुको संख्या ३ हजार ५ सय ६२ छ । यद्यपि, एनएचएस बाहेक अन्य केयर होमतिर काम गर्ने नेपाली नर्सहरु पनि उत्तिकै छन् । नर्स कन्सल्टेन्ट बनेका नेपालीहरुको संख्या पनि बढ्दो छ ।
गत वर्ष बेलायत र नेपाल सरकार (जीटुजी) बीच भएको श्रमसम्झौता अन्तर्गत मार्चदेखि मे अन्तिमसम्म विभिन्न चरण गरि नेपालबाट ४२ जना नर्स बेलायत आएका छन् ।
एनएचएसमा झन्डै १७ वर्ष वरिष्ठ व्यवस्थापकको रुपमा काम गरेर स्वेच्छिक अवकास लिएका डा. बच्चुकैलाश कैनी बेलायतका अरु सार्वजनिक सेवामा भन्दा एनएचएसमा काम गर्नु फरक रहेको बताउँछन् ।
‘एनएचएसमा स्वास्थ्यकर्मीहरुले गर्नुपर्ने कामको बोझ धेरै छ र अरु कामको तुलनामा उनीहरुको काम बढी तनाव र मानसिक बोझ थप्ने किसिमको छ’, कैनीले भने, ‘बेलायतमा जहिले पनि सेवाग्राही ठीक हुन्छन् अर्थात उनीहरुप्रति सबै किसिमले सन्तुष्ट पार्ने काम मात्र गर्नुपर्छ भन्ने मान्यता राखिन्छ, जुन आफैंमा चुनौतीपूर्ण मात्रै होइन् कठिन पनि छ ।’
कैनीको बुझाइमा जनसंख्या वृद्धि र रोगको प्रकार वा प्रकोपमा भएको वृद्धिले बेलायतको एनएचएसले दिनुपर्ने स्वास्थ्य सेवा विस्तार भए पनि त्यही अनुपातमा सरकारी लगानी अर्थात बजेट भने बढ्न सकेको छैन् । यसकारण सरकारी सेवा प्रदायक वा एनएचएस ट्रष्टहरु सीमित श्रोत साधनले काम गर्नुपर्ने अवस्थामा छन् । यसको सिधा नकारात्मक प्रभाव स्वास्थ्यकर्मीहरुको वृत्ति विकास, उनीहरुले पाउने सेवा र सुविधामा परिरहेको छ ।
एनएचएसमा अझै छ जनशक्ति अभाव
एनएचएसमा जनशक्ति वृद्धिका बाबजुद अहिले लगभग एक लाख पद रिक्त रहेको तथ्यांक छ । ब्रिटिश मेडिकल एसोसिएसनले एनएचएसमा पर्याप्त जनशक्ति अभाव रहेको बताएको छ ।
वर्षौंदेखिको अपर्याप्त जनशक्ति योजना, समस्या समाधानका लागि जवाफदेहीताको अभाव, कर्मचारीहरूको नगण्य मूल्यांकन र न्यून लगानीले राष्ट्रिय स्वास्थ्य सेवामा दीर्घकालीन जनशक्ति संकट रहेको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अनुसार, एनएचएसलाई आवश्यक पर्ने चिकित्सकहरुलाई राम्रोसँग तालिमको कुनै कदम नचाल्दा मागको तुलनामा कर्मचारी संख्या घट्दै गइरहेको छ, जसले गर्दा काम गर्ने अवस्था, बिरामीको पालो आउने अवधि र हेरचाहको गुणस्तरमा थप असर परिरहेको छ ।
डा. कैनीको भनाइमा बेलायतको एनएचएसमा काम गरेको स्वास्थ्यकर्मी संसारको जुनसुकै देशमा गएर काम गर्न सक्षम र सवल हुन्छ । त्यसैले पनि एनएचएसमा काम गर्दै गरेका हजारौं स्वास्थ्यकर्मी बेलायतबाट विश्वका अन्य विकसित मुलुकहरु जस्तै अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपका अन्य मुलुकमा पलायन भएका छन् । उदाहरणका लागि, बेलायतबाट हरेक वर्ष १५ सय बढी चिकित्सक अष्ट्रेलिया जाने गर्दछन् ।
हरेक ६ जना स्वास्थ्यकर्मीमा एकजना अर्थात १८ प्रतिशत जति एनएचएसमा काम गर्ने स्वास्थ्यकर्मीहरु विदेशी भूमिमा जन्मेर उतै पढेर बेलायत आएको तथ्यांक छ । उनीहरु एक निश्चित अवधि काम गरी आर्थिक रुपमा स्वावलम्बी भएपछि एनएचएसबाट स्वेच्छिक रुपमा अवकास लिन्छन् र आफ्नो रुचिको काम गर्छन् वा आफ्नै देश फर्कन्छन् ।
‘मैले पनि एनएचएसमा झन्डै १७ वर्ष वरिष्ठ व्यवस्थापकको रुपमा काम गरेपछि मेरो सेवा गर्ने र पूर्ण पेन्सन लिने उमेर बाँकी छँदै ‘अर्ली फिप्टिज’ मा स्वेच्छिक रुपमा पेन्सनमा अवकास लिएर प्राज्ञिक क्षेत्रमा काम सुरु गरें’, कैनी थप्छन्, ‘म जस्तै थुप्रै स्वास्थ्यकर्मी जीवनको उत्तरार्धमा एनएचएसको व्यस्त र तनावपूर्ण जागिर छोडेर आफूलाई मन पर्ने वा रुचिको काम गर्न थाल्छन् ।’
उल्लेखित कारण एनएचएसमा काम गर्ने स्वास्थ्यकर्मीहरुको भर्ना, उनीहरुलाई निरन्तर काममा लगाउन र लामो समय टिकाउन एनएचएसलाई गाह्रो परेको छ ।
यसका लागि हालको लेवर सरकारले नयाँ नीति जस्तै स्वास्थ्यकर्मीहरुको सेवा र सुविधामा पुनरावलोकन, मानसिक स्वास्थ्य ख्याल राख्न कार्यक्रम, उचित रुपमा स्वास्थ्यकर्मीहरु भर्ना गर्ने योजना आदि ल्याएर चुनौतीसँग लड्ने र समाधान गर्ने प्रयास गरेको छ ।
प्रतिक्रिया 4