२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीमा जेनजी पुस्ताको सहभागिता सुनिश्चित गर्न विधान संशोधन आवश्यक रहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा धारणा राख्ने क्रममा उनले विधान संशोधनका लागि आगामी पुसभित्र पार्टीको विधान अधिवेशन आयोजना गरिनुपर्ने बताए ।
‘मंसिर–पुसभित्रै पार्टीको विधान अधिवेशन गरी पार्टीको स्थानीय नेतृत्वदेखि केन्द्रीय नेतृत्वसम्मका आठै तह तथा क्रियाशील वितरणमा जेनजी र युवाको न्यूनतम ३० प्रतिशत सहभागिता सुनिश्चित हुने गरी विधानमा आवश्यक संसोधन परिमार्जन गरौँ,’ नेता पराजुलीले भने ।
उनले आगाम्ी पुसभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरेर केन्द्रीय कार्यसमिति बैठकबाछ २१ फागुनमा निर्वाचन हुने नहुने आकलन गरेर महाधिवेशनको मिति निर्धारण गनुपर्ने पनि धारणा राखे ।
‘पुसभित्र क्रियाशील नवीकरण गर्ने तथा नयाँ क्रियाशील वितरण सम्पन्न गरौं,’ केन्द्रीय सदस्य पराजुलीले भने, ‘तत्पश्चात केन्द्रीय कार्यसमितिको बैठक डाकी आगामी फागुन २१ मा आमनिर्वाचन हुने–नहुने परिस्थिति आकलन गरी केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरौँ ।’
प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले आफ्ना मुद्दाहरू लिएर जनतामाझ जान ढिलो भइसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया 4