२५ कात्तिक, काठमाडौं। सोमबार निर्वाचन आयोगमा उपस्थित थिए– प्रस्तावित दल नेपाल लिबरल पार्टीका महामन्त्री डा. सुशील पौडेल । यो दलको नेतृत्वमा छन् गोपीलाल न्यौपाने।
केन्द्रीय समितिको सनाखतका लागि निर्वाचन आयोगका उपस्थित भएका डा. पौडेल दल दर्ता प्रक्रिया लामो रहेछ भनेर दिक्दारी पोख्दै थिए। ‘पर्खिने बानी नै छ हैन!’ भन्दै पत्रकारहरूसमक्ष गफिन आए।
‘धेरै कुर्नु पर्यो?’ भन्दा उनले प्रश्न नै तेर्साए, ‘राज्यका निकायहरूले प्रदान गर्ने सेवा प्रवाह कस्तो छ भनेर यसले पनि देखाउँछ नि हैन र?’
सामान्य परिचयपछि उनले आफूहरूले यही कात्तिक २ गते दल दर्ताको निवेदन दिएको सुनाए। सोमबार केन्द्रीय समितिका सदस्यहरूको सनाखतका लागि बोलाइएको रहेछ।
दल दर्ताका लागि दलको संगठन संरचना, विधान, दलको नियमावली लगायतका प्रावधान त आवश्यक पर्छ नै। पाँच सयजनाले समर्थन गरेको स्वघोषणा पनि गर्नुपर्छ। उनीहरू मतदाता हुनुपर्छ। जसको नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीमा रहेको नामसहितको विवरण र स्वघोषणा एकसाथ उपलब्ध हुनुपर्छ। त्यसपछि निर्वाचन आयोगले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूमा पत्राचार गर्छ र जुन–जुन जिल्लाका समर्थक हुन उनीहरूलाई त्यहाँ भएर दल खोल्ने कार्यमा समर्थन गर्ने व्यक्ति आफू भएको प्रमाणित (सनाखत) गर्नुपर्छ।
‘पाँच सय जनाको सनाखत भयो त?,’ अनलाइनखबरकर्मीको जिज्ञासामा डा. पौडेल गम्भीर भए ‘त्यो बाँकी छ। आज यहाँ केन्द्रीय समितिको मात्रै सनाखत हो।’
‘अब चुनाव लड्ने, जित्ने र सबै सहज बनाउने नि’ दलहरूको स्वभाविक उद्देश्य हो भनेर डा. पौडेललाई सुझाउँदा उनी तर्किए। ‘त्यति सजिलो कहाँ छ र चुनाव जित्न ?’ उनले प्रश्न गरे।
‘यसको जवाफ त हजुरले दिनुपर्छ। किनभने चुनाव कसरी जित्ने भनेर योजना बनाएरै दल दर्ता गर्न आउनु भएको होला,’ हाम्रो स्वभाविक प्रश्न थियो।
तर, उनले चुनाव जित्न गाह्रो रहेको निष्कर्ष दोहोर्याए।
उसो भए चुनाव नै नलड्ने? डा. पौडेलले जवाफ दिए, ‘लड्ने, सबैतिर लड्ने। उम्मेदवार मार्फत भए पनि आफ्नो कुरा जनताकहाँ पुर्याउने।’
चुनाव नजित्ने भए किन चुनाव लड्ने त ?
पौडेल थप्छन्, ‘अहिलेकै अवस्थामा चुनाव जित्न सकिँदैन्। तर, चुनाव जित्न नसके पनि एजेण्डा जनताकहाँ पुग्छ र त्यसले जनतालाई सुसूचित गराउँछ। जसले दीर्घकालीन रूपमा अर्थ राख्छ।’
जनतालाई सुसूचित गराउने उद्देश्य राखेर दर्ता हुन लागेको दलको उद्देश्य के हो? स्वभाविक प्रश्न छ।
डा. पौडेलका अनुसार नेपाल अहिले समाजवाद उन्मुख अर्थ व्यवस्थामा छ। उनी भन्छन्, ‘अहिले समाजवादी अर्थ व्यवस्था छ। यसले मुलुकलाई सही गति दिँदैन। यसकारण उदारवादी पूँजीवादमा जानुपर्छ। यही निष्कर्ष जनतालाई सुनाउन खोज्दैछौं।’
‘जेनजीले आन्दोलन गर्दा व्यवस्था होइन अवस्था बदलियोस् भनेका थिए। तपाईंहरूको निष्कर्ष अर्को रहेछ?’ भन्ने प्रश्नमा उनले जनताको अवस्था बदल्नकै लागि उदारवादी पूजीवाद आवश्यक रहेको तर्क गरे।
डा. पौडेलका अनुसार उदारवादी पूँजीवादमा व्यक्तिगत स्वतन्त्रता, निजी स्वामित्व हुन्छ। जसमार्फत मानिसहरूले आफ्नो प्रयास र पूँजी प्रयोग गरेर आफैं आफ्नो अवस्था बदल्न सक्छन्। लिबरल पार्टीका महामन्त्रीले भने जस्तो व्यवस्थाको अभ्यास पश्चिमा देशहरूमा छ।
हामीले प्रश्न गर्यौं, ‘अमेरिकाबाट परिचालित रहेछ भन्लान नि फेरि?’ डा. पौडेलले जवाफ दिइहाले, ‘होइन, होइन। हामी नेपालमै जन्मेका र नेपालको माटोलाई माया गर्ने नेपालीहरू नै हौं।’
…………
नेपाल लिबरल पार्टी जस्ता एजेन्डा जनतामा स्थापित गर्ने उद्देश्य राखेर कति वटा दल दर्ता भएका छन् र कति दर्ता प्रक्रियामा छन् त्यो यकिन छैन। किनभने, कतिपय दल दर्ता मात्रै छन्, जसबारे धेरै नागरिकले उनीहरूका उद्देश्यहरू थाहा पाउन सकेका छैनन्।
कतिपय दल यस्ता छन् जो दल दर्तामा जान्छन् र नाम कब्जा गरेर बस्छन्। त्यही नाम खोजेर कोही आयो भने बार्गेनिङ गर्छन्।
एउटा उदाहरण हो– उज्यालो नेपाल पार्टी नामक दल दर्ताको निवेदन।
नेपाल विद्युत प्राधिकरणको कार्यकारीबाट निकालिएपछि धेरैले अनुमान गरेजस्तै अन्तत: कुलमान घिसिङ दल खोल्ने निर्णयमा पुगेका छन्। उनले राख्न सक्ने नाम र चुनाव चिह्न अनुमान गरेर घिसिङ अगाडि नै निर्वाचन आयोगमा भने दल दर्ताको निवेदन पुगिसकेको छ।
यसअघि आयोगले आवश्यक कागजात लिएर आऊ भनेर पत्राचार नै गर्नु परेको थियो। त्यसलाई बेवास्ता गरी बसेको दलको अवस्था थियो। आयोगमा दर्ता गर्न जानुअघि नै त्यसका प्रतिनिधिले कुलमान घिसिङको पार्टी भनेर प्रचार गर्दै आएका थिए। त्यसउपर कुलमानले खण्डन गर्नुपरेको थियो।
भलै, कुलमानले जे दावी गरे पनि उनकै प्रयासमा, उनकै चाहनामा यो दल दर्ता भएको खुल्न बाँकी रहेन। उनी वर्तमान सरकारको मन्त्री भएका कारण दलीय गतिविधिमा तत्काल सक्रिय नहुने भएका छन्। तर, उनले आफ्ना विश्वस्तहरुलाई समेटेर दल दर्ताको प्रक्रिया करिब टुंगोमा पुर्याएका छन्।
मंगलबार त्यो प्रक्रिया टुंग्याइए पनि यो दल दर्ताका लागि निवेदन भने २७ साउनमै पुगेको थियो। अर्थात्, जेन–जी आन्दोलन हुनुभन्दा पनि एक महिनाअघि । दल दर्ताको निवेदन दर्ता भएको ठीक एक महिनापछि घिसिङ मन्त्री नियुक्त भएका थिए।
निर्वाचन आयोगमा पहिले नै पुगेको नाम लिने भए सम्बन्धित निवेदनकर्ता सहमत हुनुपर्छ। यस्तोमा बार्गेनिङ नमिले अर्को नाम लिनुपर्छ।
निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएर अन्य दलसँग संवादमा जाने अन्य दलहरू पनि छन्।
यही कात्तिक २ गते निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुग्यो। तर, निवेदनमा दर्ताका लागि आवश्यक विवरण (विधान, दलको नियमावली, घोषणापत्र) थिएन। आयोगले कात्तिक १२ गते पत्राचार गर्यो र भन्यो– आवश्यक कागजात लिएर आउनू। तर, यो दलका कोही आयोग पुगेका छैनन्।
यो दलका प्रमुख व्यक्ति हिरा प्रसाद सेती वैकल्पिक शक्तिहरू एक हुनुपर्छ भन्ने अभियानमा छन्। कुलमान घिसिङसँग पनि संवादमा रहेका उनी अन्तत: त्यही अभियानमा जोडिन पुगेका छन्।
सुमना श्रेष्ठ, पुकार बम, सागर ढकाल, मिलन पाण्डे, निश्चल बस्नेत लगायतले वैकल्पिक शक्तिहरू एक हुनुपर्छ भनेर गर्दै आएको अनौपचारिक छलफलमा पनि सेती सहभागी हुँदै आएका थिए।
दल दर्ताको झण्झटबाट मुक्त हुन निर्वाचन आयोगमा पहिले नै दर्ता रहेको पार्टीसँग एकता गर्नेहरू पनि छन्। पछिल्लो उदाहरण हुन– वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी।
वरिष्ठ अधिवक्ता भण्डारीले गत असोज ९ गते ‘नेपाल नागरिक पार्टी’ नामक दल दर्ताको निवेदन दिएका थिए। तर, १४ कात्तिकमा दल दर्ताको निवेदन फिर्ताका लागि निवेदन दिए।
दल दर्ताका लागि निवेदन दिँदा ५४ जना सदस्य थिए। देशभक्ति, नागरिकतन्त्र र प्रगतिशीलताको सिद्धान्तमा विश्वास गर्ने नागरिकहरू भेला भएर मूलधारको राजनीतिक दल गठन गरिएको दाबी गर्दै निर्वाचन आयोग पुगेका थिए।
२१ औँ शताब्दीमा गरिबी सैह्य नहुने र राजनीति संविधानवादको सिमानाभित्र सीमित हुनुपर्ने भन्दै दल दर्ता गर्न अगाडि सरेका भण्डारी केही दिनमै दल दर्ताको निर्णयबाट पछाडि हटे।
दल दर्ताको झण्झटबाट मुक्त हुन भण्डारी अभियन्ता युवराज पौडेल सफलसँग सहकार्य गर्न तयार भए। सफल नेतृत्वमा निर्वाचन आयोगमा पहिले नै ‘समाजवादी केन्द्र नेपाल’ नामक दल दर्ता थियो। सफलसँग सहमति गरेर सफल नेतृत्वमा रहेको पार्टीको नाम फेरेर नेपाल नागरिक पार्टी राखेर वरिष्ठ अधिवक्ता भण्डारी अगाडि बढे। भण्डारी सहकार्यमा आएपछि सफल पनि नेतृत्व छाडेर उपसभापति बस्न तयार भए। भण्डारी सभापति भए।
सफलले आफू नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभेर एउटै बनाउने सहमति जनाएपछि कात्तिक ११ गते निवेदन फिर्ता लिएका थिए। महामन्त्रीमा पुजनजंग गुरुग र कोषाध्यक्ष दिपलाल जोशीलाई राखे। २८ सदस्यीय केन्द्रीय समिति बनाएर अगाडि बढे।
थरिथरि नाम, थरिथरि चिह्न
जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमणमा अनेकौं नयाँ दलहरू जन्मिँदै छन्। निर्वाचन आयोगमा दर्ताका लागि पुगेका दलहरूका नामहरू हेर्दा नाममा राष्ट्रियता, चुनाव चिह्नमा स्थानीयता भेटिन्छ। पार्टीको नाममै ‘जन’, ‘राष्ट्रिय’, ‘लोकतान्त्रिक’, ‘स्वराज’ जस्ता शब्दहरू राखिएका छन्। चुनाव चिह्नमा बाँसुरी, जाँतो, क्रस खुकुरी, चापाकल, डोजर आदि छन्।
दलहरूका प्रस्तावित नामहरू संगठनको पहिचान मात्रै होइन, जनताको भावना जित्ने प्रयास हुन्। अझ जनतामा रहेको निराशा नामबाटै चिर्न सकिन्छ कि भनेर प्रयत्न गर्नेहरू पनि छन्। यसका धेरै उदाहरण छन्।
गणेशकुमार मण्डलले ‘सार्वभौम नागरिक पार्टी’ नामक दल दर्ताको निवेदन दिएका छन्। जसको चुनाव चिह्न चौबिस कोण भएको चक्र प्रस्तावित छ।
रत्नप्रसाद श्रेष्ठ नेतृत्वमा ‘नागरिक सर्वोच्चता पार्टी नेपाल’ नामक दल दर्ताको प्रक्रियामा छ। यो पार्टीको चुनाव चिह्न मुठ्ठीमा धानको बाला छ।
कविर सोपले आफ्नै नेतृत्वमा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक दल दर्ताको प्रक्रिया अगाडि बढाएका छन्। चुनाज चिह्न जाँतो राखेका छन्।
अभियन्ता खगेन्द्र सुनारले ‘हाम्रो नेपाल पार्टी’ दर्ता गर्दैछन्। चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न छ।
नामबाटै निराशा चिर्ने प्रयास
पुराना राजनीतिक दलहरूप्रति असन्तोष बढ्दै गएको बेला जनताको ध्यान तान्न नाममै सन्देश राख्ने प्रयास गर्नेहरू छन्।
चन्द्रप्रकाश सुवेदी नेतृत्वमा निर्वाचन आयोग पुगेको दलको नाम नै ‘सुन्दर नेपाल निर्माण पार्टी’ छ। जसको चुनाव चिन्ह ‘फलेको केराको बोट’ प्रस्तावित छ।
सविन सिग्देलनको नेतृत्वमा ‘राष्ट्र निर्माण पार्टी’ दर्ता प्रक्रियामा छ। चुनाव चिह्न ‘तीन पात’ राखिएको छ।
‘राष्ट्र निर्माण दल नेपाल’ नाम राखेर अकबर खान दल दर्ता प्रक्रियामा छन्। उनले चुनाव चिह्न प्रस्ताव नै गरेका छैनन्।
माधवप्रसाद खतिवडाले त ‘नागरिक बचाउ दल नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका छन्। तर, चुनाव चिह्न प्रस्ताव गरेका छैनन्।
स्वाभिमानसँग जोडिने नामहरू पनि प्रस्तावित छन्। रियाज अहमद शेषको नेतृत्वमा ‘राष्ट्रिय स्वराज पार्टी’ दर्ता प्रक्रियामा छ। यसको चुनाव चिह्न ‘मुठ्ठी वा डोजर’ प्रस्तावित छ।
हिमालयबहादुर चन्दले युवाहरू राजनीतिमा छन् भन्ने सन्देश नामबाट दिन खोजेका छन्। उनी ‘नेपाल राष्ट्रिय युवा पार्टी’ नामक दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन्। उनले पार्टीको चुनाव चिह्न गोलो घडीभित्र कलमको लेख्ने टुप्पो सुइको रूपमा रहने प्रस्ताव गरेका छन्।
नागरिकलाई सुसूचित गर्न नामबाटै प्रयास गर्नेहरू पनि छन्। सुन्दरराम बोहराले पार्टीको नाम नै ‘आवाज पार्टी’ राखेका छन्। चुनाव चिह्न ‘सुनिरहेको कान’ राख्न प्रस्ताव गरेका छन्।
अजयकुमार राईले पार्टीको नाम ‘राष्ट्रिय परिवर्तन पार्टी’ राखेका छन्। चुनाव चिह्न बाँसुरी छ।
नवराज सुवेदीको नेतृत्वमा ‘जनयुग पार्टी’ दर्ता प्रक्रियामा छ।
नाममै नीतिको सन्देश
पार्टीको नीति के हो भनेर नाममै सन्देश दिन खोज्नेहरू पनि छन्। यस अन्तर्गत कतिपयमा व्यक्तिको ब्रन्डिङ समेत जोडिएको छ।
धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा ‘श्रम संस्कृत पार्टी’ दर्ता भइसकेको छ। चुनाव चिह्न माटो छ। दिनेशराज प्रसाईंको नेतृत्वमा ‘गतिशिल लोकतान्त्रिक पार्टी’दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनयता चार वटा दल दर्ता भएका छन्। जसमा श्रम संस्कृत पार्टी र गतिशिल लोकतान्त्रिक पार्टीको अलावा राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी छन्।
जेनजी आन्दोलनपछि दल दर्ताका पुगेका १९ वटा दल दर्ताको प्रक्रियामा छ। जेनजी आन्दोलन अगाडि नै दर्ता प्रक्रियामा सहभागी भएका ९ दलले पनि आधिकारिता पाउन बाँकी छ। यसरी २८ वटा पार्टी दल दर्ता प्रक्रियामा रहेका हुन्।
दर्ता प्रक्रिायमा रहेका अन्य दलहरूले पनि आफ्नो उदेश्य नाममै प्रष्ट्याउने प्रयास गरेका छन्। नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नामक दल दर्ता प्रक्रियामा छ।
नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र) दर्ता प्रक्रियामा छ। यसको संयोजकमा राजकुमार कक्षपति छन्।

समाजशास्त्री डा. शुक्रराज अधिकारीका बुझाइमा राजनीतिमा नाम केवल परिचय होइन, प्रतीक पनि हो। यसकारण नयाँ जन्मिन लागेका दलहरूले जनताको मनोविज्ञान बुझेर नाममा राष्ट्रवाद र स्वतन्त्रताको भाव मिसाउने प्रयास गरेका हुन्।
आकर्षक नाम र चुनाव चिह्नले जनतालाई तत्काल आकर्षण दिलाए पनि लामो समयसम्म टिक्न भने व्यवहार र कार्यशैली नै महत्वपूर्ण हुन्छ।
‘२०६२/०६३ साल पछाडि नयाँ दर्ता हुन पुगेका दलहरूका नाम हेर्दा कतै न कतै समावेशितासँग जोडिएका थिए। ति कति स्थापित भए वा भएनन् अध्ययनको विषय हो,’ उनी भन्छन्, ‘अहिले जेनजी आन्दोलनको पृष्ठभूमिअनुसार नागरिकको मनोविज्ञान नयाँ दलले ख्याल गर्न खोजेको देखिन्छ।’
उनका अनुसार जेनजी आन्दोलनपछि आउन खोजेका दलका नाममा सुख, समृद्धि, सुन्दर नेपालको सपना देखाउन खोजिएको छ। बाह्य हस्तक्षेपका पनि कुरा भइराखेका छन्। यसकारण राष्ट्रियता र स्वाभिमानको विषय नयाँ दलका नाम र चुनाव चिह्नमा आएका हुन्। यो जनताको मनोविज्ञान अनुसार दलको नाम र चुनाव चिह्न राख्ने प्रयास हो।
डा. अधिकारी थप्छन्, ‘जनताको मत बिना दल सत्तामा पुग्दैन। यसकारण नयाँ दल खोल्दा जनतासँग सहजै जोड्न सकिने नाम र चुनाव चिह्न रोज्नु नौलो कुरा रहेन। किनभने, हाम्रो पार्टीकै नाम नै नेपालीत्व, नेपाली संस्कृति र संस्कारको प्रतिनिधित्व गर्छ भन्न पाइयोस् भन्ने चाहना स्वभाविक छ।’
प्रतिक्रिया 4