यदि तपाईं आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर छ। अब चाँडै नै तपाईंले तपाइँको आइफोनमा मोबाइल नेटवर्क नभए पनि मेसेज पठाउन र एप्पल म्याप्सचलाउन सक्नुहुनेछ ।
एप्पलले स्याटेलाइटमा आधारित सञ्चारको नयाँ कनेक्टिभिटी फिचर विकास गर्दैछ, जसले प्रयोगकर्तालाई दुर्गम वा नेटवर्क नपुग्ने ठाउँहरूमा पनि फोन सम्पर्कमा रहन सहयोग पुर्याउनेछ ।
किन ल्याइँदैछ नयाँ फिचर ?
यो नयाँ सुविधा एप्पलले मुख्यतया आपतकालीन अवस्थाका लागि तयार पारेको हो। यद्यपि एप्पलले सन् २०२२ मा सार्वजनिक आइफोन १४ सिरिजबाटै स्याटेलाइटमार्फत ‘Emergency SOS’ सेवा सुरु गरेको थियो । यसले प्रयोगकर्तालाई मोबाइल नेटवर्क नभएका ठाउँहरूबाट पनि आपतकालीन सेवाहरू वा आफ्ना सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सहयोग पुर्याउँछ ।
पछि एप्पलले यसमा ‘Roadside Assistance’ फिचर पनि थपेको थियो । यो फिचरले सडकमा गाडी बिग्रिएर अलपत्र पर्दा सहयोग माग्नका लागि प्रयोगकर्तालाई सहज बनाएको थियो ।
अब एप्पलले यही प्रविधिलाई थप उन्नत बनाउँदै मेसेज र एप्पल म्याप्स जस्ता एपहरूमा पनि स्याटेलाइट कनेक्टिभिटीको सुविधा दिने तयारी गर्दैछ।
कसरी काम गर्नेछ नयाँ स्याटेलाइट फिचरले ?
समाचार अनुसार एप्पलले यसका लागि ग्लोबलस्टार नामक स्याटेलाइट अपरेटर कम्पनीसँग साझेदारी गरेको छ। यो कम्पनी एप्पलको विद्यमान Emergency SOS सेवामा पनि संलग्न छ ।
अब दुवै कम्पनी मिलेर यस्तो प्रविधि विकास गर्दैछन्, जसमा प्रयोगकर्ताले फोनलाई स्याटेलाइटको दिशामा मोड्नुपर्ने आवश्यकता हुने छैन । यसको अर्थ, तपाईंको आइफोन झोलामा, कारभित्र वा ज्याकेटको खल्तीमा भए पनि त्यो स्वचालित रूपमा स्याटेलाइटसँग कनेक्ट हुन सक्नेछ ।
स्रोतहरूका अनुसार, आगामी आइफोन मोडेलहरूमा फाइभ जी एनटिएन (Non-Terrestrial Network) प्रविधि पनि समावेश गरिनेछ। यो प्रविधिले मोबाइल टावर र स्याटेलाइट नेटवर्कलाई संयोजन गरेर अझ स्थिर र व्यापक कभरेज उपलब्ध गराउँछ ।
यसको अर्थ, भविष्यमा आइफोन प्रयोगकर्ताहरूले सहरमा मात्र होइन, पहाड, जंगल वा समुद्रमा पनि सजिलै फोन कल र मेसेज सेवा प्रयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया 4