+
+
Shares

कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १४:२५
फाइल तस्वीर

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान परिस्थितिमा पार्टीले प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले २१ फागुनका लागि तय भएको निर्वाचनलाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।

‘निर्वाचनको बारेमा व्यापक चर्चा भएको छ । छलफल भएको छ,’ उनले भने, ‘म के आग्रह गर्न चाहन्छु भने अहिलेको परिस्थितिमा निर्वाचन नै पहिलो प्राथमिकतामा कांग्रेसले राख्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ ।’

वर्तमान सरकारको गठन र संसद् विघटनलाई संवैधानिक र लोकतान्त्रीकरणका लागि निर्वाचन र संसद् पुनर्स्थापना गरी दुई वटा विकल्प भए पनि कांग्रेस संसद् पुनर्स्थापनातिर जान नहुने लेखकको भनाइ थियो ।

‘अहिले हामी संसद् विघटन अथवा यो सरकारको गठन असंवैधानिक र अलोकतान्त्रिक हो भनिरहेका छौँ,’ उनले भने, ‘यसलाई संविधानसम्मत र लोकतान्त्रीकरण गर्ने दुई वटा उपाय छन्, एउटा निर्वाचन, अर्को पुनर्स्थापना तर, कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

केन्द्रीय सदस्य लेखकले महाधिवेशनका लागि महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले बैठकमा गरेका दुवै प्रस्तावलाई मिलाएर एउटा कार्यतालिका बनाएर जानुपर्ने पनि बताए ।

‘विशेष महाधिवशेनका लागि गरिएको हस्ताक्षर फिर्ता गरौँ । त्यसका लागि कुनै न कुनै विकल्प निकालौँ,’ उनले भने, ‘अथवा दुई वटा क्यालेन्डर आएको छ, दुईवटै क्यालेन्डरलाई मिलाएर एउटा क्यालेन्डर बनाएर जानेतिर काम गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?