News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपामा आन्तरिक प्रतिस्पर्धा बढ्ने भयले क्षमतावान नयाँ व्यक्तिहरु भित्र्याउन पहल नभएको महामन्त्री कविन्द्र बुर्लाकोटीले विश्लेषण गरेका छन्।
- पार्टी गठन भएको ४० महिनामा सदस्य संख्या २ लाख ४१ हजार ७९९ पुगेको छ, जसमा १४ प्रतिशत महिला सदस्य छन् र संगठन निर्माण अधूरो रहेको छ।
- केन्द्रीय समिति, आयोग र विभागहरु पूर्णता नपाएको, आर्थिक अवस्था कमजोर रहेको र सदस्यता शुल्कले आर्थिक व्यवस्थापन पर्याप्त नभएको बुर्लाकोटीको प्रतिवेदनमा उल्लेख छ।
२६ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा क्षमतावान् व्यक्ति प्रवेश गर्दा आन्तरिक प्रतिस्पर्धा बढ्ने भयले नयाँ व्यक्तिहरुलाई भित्र्याउन पहल नभएको विश्लेषण गरिएको छ।
पार्टी गठन भएको ४० महिनामा केन्द्रदेखि तल्लो तहसम्म समिति एवं विभागले पूर्णता प्राप्त गर्न नसकेपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त विश्लेषण गरेका हुन्। महामन्त्री बुर्लाकोटीले चितवनको सौराहामा भएको विस्तारित बैठकमा पेश गरेको सांगठनिक प्रतिवेदनमा आन्तरिक समस्याहरु उल्लेख गरेका छन्।
महामन्त्री बुर्लाकोटीले पार्टी संगठन निर्माणले तिव्रता नहुनु एवं सबै तहका संगठन र विभागले पूर्णता पाउन नसक्नुको कारण औंल्याएका छन्। उनी प्रतिवेदनमा लेख्छन्, ‘नेतृत्वमा राख्नुपर्ने व्यक्तिहरु आवश्यकता अनुसार ल्याउन सकिएको छैन। आंशिक रुपमा जसले ल्याउनुपर्ने हो, बाहिरको मान्छे आउँदा थप प्रतिस्पर्धा हुन्छ र अप्ठ्यारो पर्छ भन्ने महशुस गरी क्षमतावान नयाँ व्यक्तिहरु जोड्ने प्रयास नगरेको पनि देखिन्छ।’
सदस्यता प्रमाणीकरण ३० प्रतिशत हुन नसकेको, महिला सदस्यको संख्या १४ प्रतिशत हुनु, कर्णाली र मधेशमा संगठन निर्माण सुस्त, वडा तहको अधिवशेनमा ढिलाई, विधान समितिको निश्क्रियता, डाटा व्यवस्थापनमा पार्टीका कमजोरी रहेको बुर्लाकोटीले उल्लेख गरेका छन्।
बुर्लाकोटीका अनुसार पार्टी गठन भएको ४० महिनाको अवधिमा रास्वपाको सदस्य संख्या २ लाख ४१ हजार ७९९ पुगेको छ। ती मध्ये १ लाख ७३ हजार ५९ जनाको प्रमाणीकरण भएको छ। रास्वपाको सदस्यता लिने कूल संख्यामध्ये १४ प्रतिशत महिला छन्। आदिवासी जनजातिको संख्या १९.३ प्रतिशत छन्। डोल्पा मनाङ र मुस्ताङमा हालसम्म संगठन बन्न सकेको छैन। कूल ७५३ पालिकामध्ये २८९ पालिकामा र ७ हजार ६४३ वडामा ४ हजार ४८७ वडामा संगठन निर्माण गर्न सकेको छैन।
केन्द्रीय तहका संरचना समेत हालसम्म अपूर्ण छन्। केन्द्रीय समिति, आयोग, विभागहरुले पूर्णता पाउन सकेका छैनन्। विधान अनुसार केन्द्रीय समिति १२२ जना हुनुपर्नेमा हाल ५२ जना छन्। जनसंख्या र पार्टी सदस्यको आधारमा केन्द्रीय समिति समावेशी बनाउन नसकिएको बुर्लाकोटीको स्विकारेका छन्।
रास्वपाको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा विधान ११-११ जना हुने विधानको व्यवस्था छ। जिल्ला समिति, निर्वाचन समिति, गाउँपालिकादेखि महानगरसम्म ११ देखि २५ सदस्यीय। ती सबै आयोगले पूर्णता पाउन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीको प्रतिवेदनमा उल्लेख छ। अनुशासन आयोगमा ६, निर्वाचन आयोगमा ५ र लेखा आयोगमा २ जना छन्।
३९ वटा विभागले पूर्णता पाउन सकेका छैनन्। प्रत्येक विभागमा २१ जना हुने व्यवस्था अनुसार सबै पदपुर्ति हुँदा ८१९ जनाले जिम्मेवारी पाउने छन्। तर, हालसम्म २४६ जना अर्थात् ३० प्रतिशत मात्रै पदपुर्ति भएको छ। विभागमा पदपुर्ति हुन नसकेको समस्या बारे उल्लेख गर्दै महामन्त्री बुर्लाकोटी भन्छन्,‘नआएर पनि समस्या र आएर पनि समस्या देखिन्छ। हामीलाई हामीले नै खोजेर ल्याउने मान्छेमा पनि डर छ कि भन्ने देखिन्छ।’
जिल्लागत रुपमा संगठन बलियो र कार्यप्रगति गरेकाहरुमा चितवन प्रथम स्थानमा छ। चितवनपछि क्रमशः झापा, काठमाडौं, कञ्चनपुर, कास्की, र नवलपुर छन्। सांगठनिक रुपमा कमजोर रहेका स्थानमा कर्णाली र मधेसका जिल्लाहरु रहेको रास्वपाले जनाएको छ।
संगठन निर्माणमा कमजोरीको पक्षमा अन्तर संरचना समन्वय हुन नसक्नुलाई बुर्लाकोटीले कारण बनाएका छन्। अहिलेसम्मको अभ्यासको आधारमा संगठन निर्माण तिव्रता प्रदान गर्न सबै तहका संरचनाको सक्रियता बढाउनुपर्ने बुर्लाकोटीको ठहर छ।
पार्टीको आर्थिक अवस्थामा मजबुत हुन नसके र आर्थिक व्यवस्थापन मजबुत बनाउन अभियान नै सुरु गर्नुपर्ने बुर्लाकोटीको सुझाव छ। आर्थिक व्यवस्थापनका लागि हालको सदस्यता शुल्क, लेबी, स्वेच्छिक सहयोगले प्रर्याप्त हुन नसकेको महामन्त्री बुर्लाकोटीले जानकारी गराए।
केन्द्रदेखि प्रदेश र जिल्ला तहका कार्यालय सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्नका लागि विशेष अभियान सुरु गर्नुपर्ने बुर्लाकोटीको सुझाव छ। बुर्लाकोटीका अनुसार केन्द्रीय कार्यालयमा १७ जना कर्मचारी कार्यरत छन्। ती मध्ये तीन जना इन्टर्न गरिरहेका छन्।
पार्टी गठनदेखि हालसम्म चार वटा प्रदेशमा प्रशिक्षण राखिएको रास्वपाले जनाएको छ। कोशी, गण्डकी, बाग्मती र लुम्बिनीमा प्रशिक्षण भएको थियो। जिल्ला र स्थानीय तहमा प्रशिक्षण राख्नका लागि बुर्लाकोटीको विस्तारित बैठकमा जानकारी गराए।
प्रतिक्रिया 4