News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘परान’ दोस्रो सातामा दर्शक लोभ्याउँदै सुपरहिट बन्ने बाटोमा उन्मुख छ र सामाजिक मूल्य र सन्तान-अभिभावकबीचको कथामा बनेको छ।
- वरिष्ठ अभिनेता नीर शाहले ‘परान’ लाई आफ्नो अभिनय यात्राको क्लाइमेक्स भनेका छन् र यसले अहिलेसम्मको उत्कृष्ट प्रतिक्रिया पाएको बताए।
- शाहले नेपाली चलचित्र उद्योगको विकास र प्राविधिक पक्षमा सुधार भएको उल्लेख गर्दै नेपाली कलाकार र प्राविधिकले विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए।
काठमाडौं । फिल्म ‘परान’ यतिबेला फिल्म हलमा बुर्कुसी मारिरहेको छ । धन्यवाद- बलियो ‘वर्ड अफ माउथ’ लाई । सुरुका केही दिनमा दर्शक नदेखेको फिल्मले दोस्रो सातामा दर्शक लोभ्याइरहेको छ ।
प्रतिक्रिया ‘उत्साहप्रद’ छ । फिल्म सुपरहिट बन्ने बाटोमा उन्मुख देखिन्छ । रेमिट्यान्स पछाडिको सामाजिक मूल्य र सन्तान-अभिाभावकबीचको अपेक्षाको कथावस्तुमा बनेको फिल्मले घरेलु फिल्मको ‘सूत्र’ कथाकथन शैलीलाई चुनौती दिएको छ ।
‘परान’ व्यवसायिक हिट बनिरहँदा वरिष्ठ अभिनेता तथा मुख्य पात्र नीर शाहले अनलाइनखबरसँग संक्षिप्त संवाद गरे । उनले ‘परान’ लाई आफ्नो अभिनय यात्राको क्लाइमेक्सको रुपमा चर्चा गरेका छन् ।
उनले भने, ‘परान चाहिँ झण्डै एकप्रकारको क्लाइमेक्स नै हो । यत्तिको लामो अभिनय यात्रामा अहिलेसम्मको विन्दुमा आइपुगेर यसले क्लाइमेक्स भेटेको छ ।’
‘मेरो अभिनय यात्राले भेटेको क्लाइमेक्स हो’ उनी सुनिए ।
उनले यो तहको प्रतिक्रिया यसअघिका फिल्ममा आफूले नपाएको बताए । ‘उत्साहप्रद छ प्रतिक्रिया । धेरै मानिसले प्रतिक्रिया दिनुभएको छ । राम्रो छ । यो लेभलको रेस्पोन्स यसअघि अनुभव गर्न पाएको थिइँन’ उनले भने ।
आफूले अभिनय गरेको चलचित्र हेर्दा पर्दामा आफू नभएर उक्त पात्रको अस्तित्वको अनुभव गरेको स्मरण शाहले गरे । ‘पात्रमै कसरी हराउन सकियो र पात्रलाई निर्वाह गर्ने जुन कलाकारले आफ्नो अस्तित्वसँग त्यो पात्रको अस्तित्वलाई कति अलग राख्न सक्यो भन्ने कुरा आउँछ’ भन्छन्, ‘पछिल्लो २०/२५ मिनेट हेर्दा अरु नै कोही मानिसँगलाई हेरेको अनुभव मलाई भयो । म आफै पनि त्यो पात्रमा हराएँ । अन्त्यतिर आएर भावनात्मकरुपमा अट्याच भएँ । दृश्यमा देखिएको पात्रसँग जोडिन पुगेँ ।’
उनले यो फिल्म हेर्दा राम्रो फिल्म हेरेको अनुभूति भएको बताए ।

आफूले निर्वाह गरेको धर्मनाथको चरित्रलाई दर्शकले लामो समयसम्म सम्झने उनको भनाइ छ । ‘मानिसले यो पात्रलाई धेरै लामो समयसम्म सम्झन्छन्’ भन्छन्, ‘निर्देशकले जुन मिहेनत गरेर यो फिल्म बनाउनुभयो, उहाँले धर्मनाथलाई चित्रण गर्नुभएको थियो, त्यसलाई चित्रण गर्न उहाँ खरो उत्रनुभयो ।’
फिल्म राम्रो हुन दर्शक रुनैपर्छ भन्ने शाहलाई लाग्दैन । यस सन्दर्भमा उनले हाँसोले चलेका कमेडी फिल्मको व्यवसायिक सफलताका उदाहरण पनि दिए ।
‘हाँसोले चलेका फिल्म पनि छन् । रेकर्ड राख्न सफल छन् । हाँसो र आँसु मानवीय संवेदनशिलताका महत्वपूर्ण पाटा हुन् । अवचेतन मनबाट उत्पन्न भएका तरंग न हुन्’ शाह भन्छन्, ‘तिनलाई सिनेमाले कति इमान्दारीपूर्वक भन्न सकेको छ, त्यसमा निर्भर हुने हो । त्यसरी भनेका हर तरंगले भनेका फिल्मले दर्शकको मन छुने हो ।’
अघि भन्छन्, ‘आमदर्शकको हृदयभित्र प्रवेश गर्न हामीले यही एउटा तरंग समाउनुपर्छ भन्ने हुँदैन । बलियोसँग भनिएका हर तरंग दर्शकको हृदयभित्र छिर्न सक्छन्, आँसु मात्र होइन ।’
निर्देशक इमान्दारी र निष्ठापूर्वक भनेका कथालाई दर्शकले रुचाउने शाहले बताए । ‘दर्शक सिनेमा इन्डष्ट्रिको महत्वपूर्ण पक्ष हुनुहुन्छ । यसको अर्थ, तपाईंले दर्शकलाई न्यायपूर्ण ढंगले व्यवहार गर्नुभएको छ कि छैन भन्ने आउँछ । तपाईंका प्रयत्न पनि उत्तिकै इमान्दारीपूर्ण ढंगबाट पस्कन सक्नुपर्यो’ उनले भने ।
निर्माताको कामतर्फ संकेत गर्दै उनले भने, ‘तपाईंका काम पनि निष्ठापूर्वक गरिनुपर्यो र निष्ठापूर्वक गरिएका कामलाई विवेकशील दर्शकले अप्रिसिएट गर्नुहुन्छ ।’
‘राम्रो सिनेमा विश्वभर यसरी कौतुहलताका साथ अघि बढ्न लागेको क्षण देख्न पाउँदा राष्ट्रिय चलचित्र उद्योगको एउटा पक्षको मान्छेका दृष्टिले खुसी लाग्नु स्वभाविक हो’ उनले भने ।
उनले नेपाली सिनेमाले अभिनय र प्राविधिक पक्षमा विकास गरेको प्रसंग उप्काउँदै हरेक नेपाली सिनेमा यसरी नै अघि बढ्नुपर्ने बताए । ‘हरेक नेपाली सिनेमा यसरी नै अघि बढ्नुपर्छ । हामीसँग एकसेएक प्रतिभाशाली कलाकार र प्राविधिक छन्’ उनले भने ।
उनले नेपाली प्राविधिक र कलाकारको प्रशंसा गर्दै विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए । नेपाली कलाकार र प्राविधिकले विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताउँदै प्रशंसा गरे ।
प्रतिक्रिया 4