News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहका समूहहरू २०–२५ पुगेको र सबै चिन्न कठिन भएको बताउनुभयो।
- जेनजी विद्रोहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालिदियो र सडकबाट सत्तामा पुर्यायो।
- जेनजी समूहहरू वैचारिक एकरूपता नपाएर विभाजित छन् र साझा लक्ष्यमा सहमति छैन।
दुई साताअघि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा हामीसँग भनिन्, ‘सुरुमा त जेनजीका दुई–तीन वटा समूह थिए। अब त २०–२५ वटा पुगिसके। कति जेनजीलाई त मै चिन्दिनँ।’
नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्कीलाई जेनजी विद्रोहले नेपालको पहिलो महिला प्रधानमन्त्री समेत बन्ने सुयोग जुराइदियो। जसले उनलाई सत्तामा पुर्यायो, त्यसकै अगुवा चिन्न कठिन पर्ने खण्ड किन आइलाग्यो, यसमा उनका जवाफहरू रोचक थिए।
जेनजी मुभमेन्ट आफैंमा छरिएको विद्रोह हो, जसको कुनै एउटा नेता थिएन। यो नेपाल मात्रै होइन, अन्यत्रका देशमा समेत देखिएको साझा विशेषता, वा भनौं समस्या हो। २३ र २४ भदौको विद्रोहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकार ढालिदियो। याद गरौं, ओली तिनै शक्तिशाली प्रधानमन्त्री थिए, जसलाई संसद्को सबैभन्दा ठूलो पार्टी कांग्रेसको समेत समर्थन थियो।
इतिहासमा विरलै हुने गठबन्धन नेपालमा बनेको थियो। आपसमा प्रतिस्पर्धा गर्ने गरेका ठूला दुई दल नै मिलेर आलोपालो सत्ता सहमति गरेका थिए। संसद्ले खण्डित गर्न नसकेको बलियो बहुमतलाई जेनजीले सडकबाट सडकमै ल्याइदिएका थिए।
जेनजीलाई के गर्ने, स्पष्ट थाहा थियो। जेनजीलाई कता जाने, पटक्कै थाहा थिएन। उनीहरूले सत्तामा रहेकाहरूलाई सुध्रन भनेका थिए, २७ घन्टापछि आफैं सत्ता चलाउन जानुपर्ला भन्ने कल्पना पनि गरेका थिएनन्।
जेनजी अगुवा रक्षा बमले अनौपचारिक कुराकानीका क्रममा सुनाए जस्तै, ‘प्रत्यक्ष कार्यकारीको माग सडकमा उठेको थिएन। भ्रष्टाचार अन्त्य, शासनशैलीमा सुधार, सुशासनको नारा प्रमुख थियो।’
रक्षा र उनका साथीहरू यतिबेला जेनजीका विभिन्न समूहसँग वैचारिक एकरूपता ल्याउन दैनिकजसो बैठक गरिरहेका छन्। त्यसले कुनै समाधान दिइरहेको छैन। बरु नयाँ–नयाँ समूह, नयाँ–नयाँ माग सहित उदाइरहेका छन्। ती सबैले आफूलाई जेनजी भन्छन्।
नेपाल यतिबेला चार वर्ण छत्तीस जातका जेनजीहरूको साझा फूलबारी बनेको छ। यिनलाई जोड्ने कसले ! कुलमान घिसिङ सबैलाई जोड्छु भन्थे, उनी आफ्नै बाटो लागिसकेका छन् उज्यालो नेपाल पार्टीको नाममा।
डा. स्वर्णिम वाग्ले लगायत रास्वपाका नेताहरूले संयोजनकारी पहल गर्न केही बैठक त राखे, तर यसमा पनि जेनजीहरूको सहमति भएन। रास्वपा छाडेकी सुमना श्रेष्ठले राखेका बैठकहरू पनि विना निष्कर्ष टुंगिए। अनि काठमाडौं मेयर बालेनले त फेसबुकमा लेख्ने बाहेक कुनै ठोस पहल गरेका छैनन्। उनलाई सहयोग गरिरहेको टिमसँग जेनजीका अरू समूह सन्तुष्ट देखिंदैनन्।
सुदन गुरुङको पारा बेग्लै छ। सुदन अरूलाई टेर्दैनन्, अरू सुदनलाई। बोलीमा ‘हामी नेपाल’ व्यवहारमा ‘म नेपाल।’ अहिले जेनजीका नाममा अनेक दलहरू दर्ता हुने क्रममा छन्। जसले दर्ता गर्न सकेका छैनन्, उनीहरू मोर्चा बनाउने तयारीमा छन्। जेनजीहरूको भनाइ छ– ‘पहिले मोर्चा बनाउँ न। पछि स्वतन्त्र उम्मेदवारहरू देशैभरि उठाउँला।’
खासमा उनीहरूको यो आइडिया त्यति गलत छैन, तर प्रभाव स्थापित गर्न भने कठिन हुनेछ। किनकि उनीहरूले उठाउने स्वतन्त्र उम्मेदवारसँग समानुपातिकतर्फको मत खिच्न असम्भव हुनेछ। संसद्मा जितेर पुगे नै भने पनि साझा कार्यक्रममा उनीहरू हिंड्न अवरोधहरू पैदा हुनेछन्।
अब जेनजी विद्रोहले अकस्मात् पुराना बनाइदिएका पार्टीलाई एक चरण हेरौं त, उनीहरू के गर्दैछन् ? रातभरि नसुती नसुती बैठक गर्दैछन्, कांग्रेस एमालेहरू। माओवादी, समाजवादी इत्यादिहरू। घनश्याम भूसालहरू, विप्लव, जनार्दन शर्माहरू। भीम रावलहरू, रामकुमारी झाँक्रीहरू। आदिहरू, इत्यादिहरू।
यस्तो लाग्छ, यति मिहिनेतको आधा मात्रै देश बनाउन लगाएको भए आज हामी यो दुर्गतिका उपभोक्ता हुने थिएनौं। तर उनीहरू साना दुःखले होइन, ठूलै मिहिनेतले पार्टी, मोर्चा बनाइरहन्छन्, भत्काइरहन्छन्। पुराना पार्टीका प्रौढ नेताहरूको तीक्ष्णता कदरयोग्य छ, उनीहरूले आफू चुनावी जनमतमा सकभर कमजोर नदेखियोस् भनेर छिटोछिटो आफ्नो कित्ता र किल्ला बलियो बनाउन लागिसके।
एकीकृत समाजवादीमा गएकाहरूको त मुखै हेर्दिनँ भन्ने केपी ओलीले घर फर्क अभियान थालिसके। उनी टोल सुरक्षा समितिका नाममा राज्यलाई चुनौती दिने समानान्तर संरचना खडा गर्न थालिसके।
प्रचण्ड र माधव नेपाललाई विसर्जनवादी भन्ने झलनाथ खनालले आफ्नो शब्द सुटुक्क फिर्ता लिइसके, उनीहरूका स्वयंसेवकको कडा पहरामा सुरक्षित हुँदै भृकुटीमण्डपमा कहिल्यै नहुने काल्पनिक जनवादी क्रान्तिको नयाँ शपथ खाइसके।
विप्लवदेखि वर्षमान पुनसम्म, माधव नेपालदेखि महेन्द्र लावतीसम्मलाई यतिबेला आफ्नो शक्ति सञ्चय गर्नुपर्ने दायित्व आइलागेको छ। थकाइ उनीहरूको शब्दकोशमा छैन। संघर्षका दिनहरू सकिए, उनीहरू जोसँग पनि सम्झौता गर्ने लाइनमा छन्।
र, कुरा गरौं कांग्रेसको, जसले इतिहासकै लामो बैठक राखेर झन्डै–झन्डै कम्युनिस्ट पार्टी बिर्साइदियो। एक महिनायता कांग्रेस यो वा त्यो नाममा बैठक राखेको राख्यै छ, सारेको सार्यै छ। कम्युनिस्टहरू बैठकमा बडो विश्वास गर्छन्, तर कांग्रेसले पनि कावा सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रमाणित गरिदियो, उसले साँच्चिकै मनबाट चाह्यो भने बैठक गरेको गर्यै गर्न सक्छ।
तर जेनजी मित्रहरू, हेर्नुस् त। पहिलेदेखि नै चलायमान पार्टीहरूको अस्तित्व रक्षाका लागि यो कत्रो मिहिनेत ! ज्ञानीहरूले विगतबाट के सिक्ने, के नसिक्ने भन्ने कुरा समेत सतर्कतापूर्वक सिक्छन्। तपाईंहरूले खै कुरो बुझेको ?
तपाईंहरूलाई आफ्नो सामर्थ्य त थाहा छ, तर विपक्षी कित्ताको जरा समाजको तल्लो तहसम्म कति गहिरोसँग गाडिएको छ भन्ने अलिकति हेक्का मात्रै भएको भए, यस्तो गर्नुहुने थिएन।
तपाईंहरू त भूपी शेरचनको कविताभन्दा पनि अघि बढ्नुभयो: आफू पनि मिल्न नसक्ने, अरूले मिलाउँदा पनि मिल्दिन नसक्ने। चुनाव आउनुभन्दा सय दिनअघि नै तपाईंका विपक्षीहरूको मोर्चाबन्दी भइसक्यो, तपाईंहरूले खै कुरो बुझेको ?
२३ भदौको युवा संहार राज्यको दायित्व थियो, २४ गते चाहिं केवल लुट र विध्वंस थियो भन्ने जसरी एकोहोरो न्यारेटिभ सेट गर्न एउटा वर्ग राम्रैसँग मिलेको देखियो, तपाईंहरूले खै कुरो बुझेको ?
सडकमा जति रगत र पसिना बगाए पनि आगामी चुनावबाट त्यो विद्रोहको जनादेशलाई मतादेशमा परिणत गर्न सकिएन भने हामी कोही र केही पनि सग्लो बच्ने छैनौं भनेर तपाईंहरूले खै कुरो बुझेको ?
हाम्रो एउटा सही निर्णयले हाम्रो नाम इतिहासमा लेखिन सक्छ, तर हाम्रो एउटा असावधानी र गलत निर्णय मात्रै होइन, ढिलो गरी गरिने सही निर्णयले हामी आतंककारीका रूपमा पनि दर्ज हुन सक्छौं भनेर जेनजीले खै कुरो बुझेको ?
आवेग देखाउन सजिलो छ मित्रहरू; विवेक देखाउन गाह्रो। आगो लगाउन सजिलो छ, आगो निभाउन गाह्रो। तपाईंहरूसँग समय त छ, तर एकदमै थोरै। सबका सबको कुरा त एकसाथ नमिल्ला, तर तपाईंहरूले साझा लक्ष्य चुनेको खै, तपाईंहरूले आपसमा मिलेर हिंडेको खै ?
सोक्रेट्स भन्दा पहिले ग्रीसमा जन्मेका दार्शनिक हेराक्लिट्स भन्छन्– ‘नो म्यान एभर् स्टेप्स इन् द सेम रिभर ट्वाइस, फर् इट इज् नट द सेम रिभर एन्ड हि इज् नट् द सेम म्यान।’
एउटा मान्छेले एउटै नदीमा दुईपल्ट हामफाल्न सक्दैन। दोस्रोपल्ट फाल हाने पनि उसका लागि त्यो नदी उही होइन, कतिसम्म भने, त्यही फाल हान्ने मान्छे पनि अघिकै मान्छे होइन।
यस दृष्टान्तलाई म आफ्नै अनुभवसँग जोडेर अझ स्पष्ट गर्छुः ६ वर्षअघि सगरमाथा आधारशिविर पैदल जाँदा ५६०० मिटरमा पनि मलाई लेक लागेन। तर पोहोर ताप्लेजुङको लोदेन जाँदा ४८०० मिटरमै लेक लाग्यो। उचाइ त्यही थिएन, म त्यही थिइनँ।
जेनजीहरू, अहिले एकअर्कासँग इगो देखाउँदा होस् या अर्कालाई धुलोको कण बराबर गन्न बिर्संदा, याद राख्नुहोस्, यो विद्रोह हामीले नै गरेको हो, उस्तै परे फेरि दोहोर्याएर विद्रोह गरे भइहाल्छ नि भन्ठान्ने गल्ती नगर्नुहोस्।
तपाईंहरू त्यही जेनजी रहनुहुने छैन, जो पहिले हुनुहुन्थ्यो। कतिसम्म भने, त्यही विद्रोह पनि ठ्याक्कै पहिलेको विद्रोह जसरी हुबहु दोहोरिने छैन। नबिर्सनुस्, तपाईंहरूले घोडाबाट खसाल्यौं भन्ठानेका प्रचण्ड, ओली, देउवाहरू आफ्नो समयका क्रान्तिकारी थिए। उनीहरू उस्तै रहेनन्, जो पहिले थिए। उनीहरू मिल्न थालिसके, तपाईंहरू पनि मिल्न सकिने साझा विन्दु पहिल्याउनुस्, न्यूनतम समझदारी गर्नुहोस्।
प्रतिक्रिया 4