+
+
Shares

प्रशान्त किशोर : मोदीदेखि ममताको जितमा अहम रणनीतिकार, आफैं उत्रिदा ‘किशोर’ सावित

अधिकांश चुनावी क्षेत्रमा जसुपाका उम्मेदवारहरूको जमानतसम्म जोगिन सकेन । अर्थात अरूलाई चुनाव जिताउने प्रशान्त बिहारको राजनीतिमा ‘किशोर’ (बालक) साबित भए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २९ गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रशान्त किशोरले २०२५ को बिहार विधानसभा चुनावमा जनसुराज पार्टीबाट भाग लिएर एक पनि सिट जित्न सकेनन्।
  • उनले २०१४ देखि विभिन्न भारतीय चुनावमा सफल रणनीति बनाएका थिए, तर आफैं चुनावमा पराजित भए।
  • प्रशान्त किशोरले चुनावी नतिजापछि भने, 'यो त सुरुआत हो, हामी सिक्ने छौं।'

२९ कात्तिक, काठमाडौं । लोकसभा चुनाव २०१४ देखि भारतका विभिन्न राज्यमा सम्पन्न विधानसभा चुनावहरूमा कयौं दिग्गज नेताहरूका लागि प्रशान्त किशोर (पीके) अहम चुनावी रणनीतिकार रहे ।

उनी जो नेताका साथमा उभिए, उसलाई चुनावमा जिताउन पीकेको ‘स्ट्राइक रेट’ शतप्रतिशत रह्यो । सन् २०१४ मा नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउनेदेखि लिएर सन् २०२० को बिहार चुनावमा तेजस्वी यादवको आरजेडीलाई बलियो बनाउन होस् कि सन् २०२१ मा ममता बनर्जीको तृणमूल कांग्रेसलाई बंगालमा सत्तामा पुर्‍याउन पीकको चुनावी रणनीतिले सधैँ चर्चा पायो ।

छोटो समयमै प्रशान्त किशोर पीके नामबाट चर्चित भए । उनको गणना भारतका प्रमुख चुनावी रणनीतिकारहरूमा हुन लाग्यो । तर, सन् २०२५ को बिहार विधानसभा चुनावमा जब उनी आफैं दल खोलेर मैदानमा उत्रिए, पीकेको जनसुराज पार्टी (जसुपा) ले एक पनि सिट जित्न सकेन ।

त्यतिमात्रै नभएर अधिकांश चुनावी क्षेत्रमा जसुपाका उम्मेदवारहरूको जमानतसम्म जोगिन सकेन । अर्थात अरूलाई चुनाव जिताउने प्रशान्त बिहारको राजनीतिमा गरिएको जोडबलमा ‘किशोर’ (बालक) साबित भए ।

कहाँ चुके प्रशान्त किशोर ?

पीके र उनको पार्टीको पराजय केवल उनका भविष्यवाणीहरूलाई झुठा सावितमात्र गरिरहेको छैन, सामाजिक सञ्जालमा उनलाई ‘किशोर’ अर्थात राजनीतिमा अपरिपक्व साबित गरिँदैछ ।

प्रशान्त किशोरको यात्रा विचित्रको छ । आईआईटी कानपुरबाट ग्रयाजुएट र संयुक्त राष्ट्र संघमा काम गरिरहेका बेला सन् २०११ मा प्रशान्त किशोरले अन्ना हजारेको आन्दोलनबाट राजनीतिक रणनीतिको संसारमा कदम राखेका थिए ।

सन् २०१२ मा गुजरात चुनावमा नरेन्द्र मोदीका लागि उनले काम गरेका थिए । उनको ‘चाय पे चर्चा’ क्याम्पियनले भारतीय जनता पार्टी (भाजपा) लाई १८२ सिटको सफलता दिलाएको थियो ।

सन् २०१४ मा सम्पन्न लोकसभा चुनावमा पनि पीके मोदीकै साथमा रहे । त्यो बेला राष्ट्रिय स्तरमै उनको क्याम्पेनिङ चलाइयो । प्रशान्त किशोरको ‘सिटिजन्स फर अकाउन्टेबल गभर्नेन्स’ (सीएजी) ले ‘डेटा एनालिटिक्स’ र ‘ग्राउन्ड लेभल क्याम्पेन’ बाट चमत्कार नै गर्‍यो ।

तर, स्वयम् बिहारमा चुनावी मैदानमा उत्रिदा प्रशान्त किशोरले मैदानको सही आंकलन गर्न सकेनन्, जसका कारण उनी अनुत्तीर्ण हुनु पर्‍यो ।

चुनावी रणनीतिकार

प्रशान्त किशोरले सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीलाई सत्ताको शिखरमा पुर्‍याएपछि २०१५ मा सम्पन्न बिहार चुनावमा नीतीश–लालु गठबन्धनका लागि काम गरेका थिए । तत्कालीन समयमा उनी महागठबन्धनलाई जिताउन सफल भएका थिए ।

तर, सन् २०१७ मा नीतीशकुमारसँगको मतभेदपछि प्रशान्त किशोरले ‘इन्डियन पोलिटिकल एक्सन कमिटी’ (आईपीएसी) ‘लन्च’ गरे । आईपीएसीको ब्यानरमा उनले सन् २०१९ मा आन्ध्र प्रदेशमा युवजन श्रमिक रायथू कांग्रेस पार्टी (वाईएसआरसीपी) लाई सत्ता दिलाए र जगन मोहन रड्डीलाई मुख्यमन्त्रीको कुर्सीमा विराजमान गराए ।

प्रशान्त किशोरले सन् २०२१ मा पश्चिम बंगालमा ममता बनर्जीका लागि ‘घर घर तृणमूल’ क्याम्पेन चलाएर तृणमूल कांग्रेस (टीएमसी) लाई २१३ सिटमा जिताउन सफल भए । त्यही वर्ष उनले बिहार उपचुनावमा तेजस्वी यादवको दल राष्ट्रिय जनता दल (आरजेडी) लाई नराम्रो पराजयको स्वाद चखाए ।

घरदैलो अभियान र सामाजिक सञ्जालको भरोसा

यसपल्ट प्रशान्त किशोर ग्रामीण स्तरमा घरदैलो (डोर–टु–डोर क्याम्पेन) र सामाजिक सञ्जालको प्रयोगबाट बिहारका मतदाताहरूलाई आकर्षित गर्ने विश्वासमा थिए ।

विधानसभा चुनावमा उत्रिनु अघि उनले सन् २०२२ मा ‘जन सुराज’ अभियान चलाए । अभियान शिक्षा, स्वास्थ्य, रोजगार र पलायनजस्ता मुद्दामा केन्द्रित थियो । प्रशान्त किशोरले अक्टूबर २०२४ मा अभियानलाई पार्टीको रूप दिए ।

पार्टी गठन गर्दा पीकेले २०२५ को चुनावमा बिहारका सबै २४३ सिटमा उम्मेदवारी दिने घोषणा गरेका थिए । चुनावी घोषणाका क्रममा उनले अनेक दाबीहरू पनि गरे ।

नीतीश कुमारको जनता दल युनाइटेड (जेडीयू) ले २५ भन्दा बढी सिट नजित्ने र आरजेडी-कांग्रेस गठबन्धन पनि कमजोर हुने देखि जन सुराज पार्टीले ७५ भन्दा बढी सिट जितेर बिहारको राजनीतिमा परिवर्तन ल्याउने प्रशान्त किशोरको दाबी थियो ।

जनसुराज पार्टीले बिहारका २३४ सिटमा उम्मेदवार खडा गर्‍यो । प्रशन्त किशोर आफैं बक्सर विधानसभा क्षेत्रमा उम्मेदवार बने । १४ नोभेम्बरमा चुनावी नतिजा आउँदा उनी राजनीतिक रूपमा ‘किशोर’ साबित भए ।

पीकेको पार्टीले कतै पनि खातासम्म खोल्न सकेन । अधिकांश उम्मेदवारहरूले १० प्रतिशतभन्दा कम मत पाए । अर्थात उनीहरूको जमानत नै जफत भयो । चुनावी नतिजाले पीकेको रणनीतिमा ठूलो झट्का लाग्यो । बिहार विधानसभा चुनावामा लज्जास्पद पराजय वयहोरेपछि प्रशान्त किशोरले भने, ‘यो त सुरुआत हो, हामी सिक्ने छौं ।’

– भारतीय सञ्चारमाध्यमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?