२९ कात्तिक, गुल्मी । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन एमालेबाट नै निर्माण भएको उल्लेख गर्दै स्मृतिमा र विमृतिमा सधैं एमालेसँगै रहेको बताएकी छिन् ।
नेकपा एमाले गुल्मीले शनिबार गुल्मी सदरमुकाम तम्घासमा नेकपा एमाले गुल्मीले आयोजना गरेको जनसभामा बोल्दै झाँक्रीले विगतका केही वर्षहरूमा भन्दै आफ्नो मन्तव्य सुरु गरेकी थिइन् ।
उनले पछिल्लो समय उठाइएका जेनजी विद्रोह सम्बन्धी मुद्दाहरूलाई स्पष्ट गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरिन् । झाँक्रीले जेनजी विद्रोहको नाममा भुलभुलैयामा नपर्न आग्रह गरिन् ।
‘हामी जेनजीका जायज मागका पक्षमा छौँ, तर जेनजी नाममा भएको सार्वजनिक सम्पत्तिको क्षति र सार्वभौम सत्तामाथि भएको अपराध क्षम्य कुनै नेपालीले गर्न सक्दैन,’ उनले भनिन् ।
उनले नागरिक जीवन मजबुत बनाउन घर–घरमा रहेका जेनजी पुस्तासँग संवाद र बुझाइ आवश्यक रहेको उल्लेख गरिन् । उनले थपिन्, ‘जेनजीले सार्वजनिक सम्पत्ति क्षति गर्दैनन्, तर केही समूहले विद्रोहको नाममा देशभर भएको विध्वंस अपराधिक क्रियाकलाप हो ।’
कार्यक्रममा झांक्रीले संविधान र सार्वभौमसत्ताको रक्षा गर्नु एमालेको प्रमुख दायित्व भएको बताइन् । संविधानको रक्षा र राष्ट्रिय सार्वभौमसत्ता जोगाउने काम एमालेले गर्ने उनको तर्क छ ।
‘पछिल्ला दिनहरूमा सिंहदरबार, संसद्देखि अदालतसम्म राष्ट्रिय झण्डा बोकेर हिंसात्मक गतिविधि गर्नेहरूलाई नेपाली समाजले गम्भीर रूपमा प्रश्न गर्नुपर्ने बताइन ।’ ‘हामीले कस्तो समाज बनायौँ ? घाँटीमा राष्ट्रिय झण्डा बाँधेरै दनदनी आगो लगाउनेलाई नेपाली भन्न सकिन्छ ?,’ उनले भनिन् ।
प्रतिक्रिया 4