News Summary
Generated by OK AI. Editorially reviewed.- डा.पुकारचन्द्र श्रेष्ठलाई बेलायतको \'रोयल कलेज अफ सर्जनस अफ एडिनवर्ग\'ले एमआरसीएस उपाधिबाट सम्मान गरेको छ।
३० कार्तिक, काठमाडौं । नेपालका वरिष्ठ प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठलाई बेलायतमा सम्मान गरिएको छ । डा.श्रेष्ठलाई शुक्रबार ‘रोयल कलेज अफ सर्जनस अफ एडिनवर्ग’ले सम्मान गरेको हो ।
श्रेष्ठ बेलायतमा प्रत्यारोपण सम्बन्धी अध्ययन पूरा गरी नेपाल आएका थिए । बेलायतमा अनुभव लिएर नेपाल आएपछि यहाँको मिर्गाैला र कलेजो प्रत्यारोपण सेवालाई विश्वस्तरको बनाउन योगदान पुर्याएको भन्दै एमआरसीएस उपाधिबाट सम्मान गरिएको डा.श्रेष्ठले जानकारी दिए ।
उनलाई उक्त कलेजकी अध्यक्ष डा.क्लेयर म्याकनटले उपाधि प्रदान गरेकी थिइन् ।
डा. श्रेष्ठले एडिनवर्गबाट सन् २००० मा प्रत्यारोपण सम्बन्धी तालिम सुरु गरेका थिए । यसै कलेजबाट एमआरसीएस कलेजको मेम्बरसिप उपाधि पाएका थिए । साथै बेलायतको प्रतिष्ठत फ्रिम्यान अस्पताल लगायत अन्य अस्पतालबाट समेत प्रत्यारोपण सम्बन्धी तालिम लिएका थिए ।
नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट मिर्गाैला प्रत्यारोपण सेवा सुरु गरेका थिए । सन २०१२ मा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएदेखि त्यहाँको नेतृत्वमा रही काम गरेका उनले १२ वर्ष भन्दा बढी यही संस्थाको नेतृत्व गरेका थिए । प्रत्यारोपण केन्द्रको नेतृत्वमा रहँदा उनले मिर्गाैला प्रत्यारोपण सेवालाई बिस्तार गर्न र पहुँचयोग्य बनाउन विशेष भूमिका खेलेका थिए । साथै नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु गरी त्यसलाई निरन्तरता दिन पनि योगदान गरेका थिए ।
डा.श्रेष्ठले दुई महिनाअघि सरकारी सेवाबाट अवकास पाएका हुन् ।
आगामी दिनमा गैरनाफा मुलक संस्था स्थापना गरी नेपालमा प्रत्यारोपण सेवालाई अझ सशक्त र सर्वसाधारणको पहुँचसम्म थप योगदान गर्ने योजना रहेको डा.श्रेष्ठले सुनाए ।
प्रतिक्रिया 4