News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वर्तमान सरकार मान्ने राजनीतिक र नैतिक अधिकार नभएको बताएका छन्।
- प्रचण्डले ओलीकै सहमतिमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बताएका छन्।
- प्रचण्डले ओलीले सहमति नदिएको भनाइलाई राजनीतिक र नैतिक बेइमानी भन्दै 'ओलीजीले ब्ल्याङ्कचेक किन दिएको त?' प्रश्न उठाएका छन्।
३० कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वर्तमान सरकार मान्दिनँ भन्ने राजनीतिक र नैतिक अधिकार नभएको बताएका छन्।
हिमालयन टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’को तेस्रो सिजनको पहिलो अंकमा प्रचण्डले ओलीकै सहमतिमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बताएका हुन्।
‘यो सरकार कसले कसरी बनायो, संविधानविपरीत छैन भन्ने अधिकार ओलीजीलाई छैन। त्यसो भन्ने राजनीतिक र नैतिक हैसियत ओलीजीसँग छैन’ प्रचण्डले भने, ‘राष्ट्रपतिसँगको छलफलमा हामीले अन्तरिम सरकार गठन गर्दा कामचलाउ प्रधानमन्त्रीको पनि सहमति अनिवार्य हुन्छ भन्यौं, राष्ट्रपतिले ओलीजीलाई पहिले नै भेटिसक्नुभएको रहेछ । हामी छलफलमा बस्दाबस्दै केपीजीले पठाउनुभएको सिफारिस आयो । त्यसपछि राष्ट्रपतिले निर्णय लिनुभएको होे ।’
एमाले अध्यक्ष ओलीले कार्कीलाई प्रधानमन्त्री बनाउन आफ्नो सहमति थिएन भन्दै सार्वजनिक मन्तव्य दिइरहेका छन्।
त्यसलाई राजनीतिक र नैतिक बेइमानी भन्दै प्रचण्डले प्रश्न गरे, ‘यदि उहाँको सहमति थिएन भने त्यसबेला ओलीजीले ब्ल्याङ्कचेक किन दिएको त ?’

कामचलाउ प्रधानमन्त्रीले पठाएको सिफारिसमा कार्कीको नाम नै उल्लेख थियो त? भन्ने प्रश्नमा प्रचण्डले सिफारिस पत्रमा नाम उल्लेख नभए पनि राष्ट्रपतिलाई सुशीला कार्कीको नाममा ओलीले सहमति दिएको दावी गरे।
‘राष्ट्रपतिले हामीलाई गरेको ब्रिफिङ अनुसार ओलीसँगको भेटमा सुशीलाजीको नाममा छलफल भएको थियो र उहाँले सहमति दिनुभएको थियो। त्यसपछि ओलीजीसँगको त्यही सहमति अनुसार नै राष्ट्रपतिले नियुक्त गर्नुभएको हो।’
यक्ष प्रश्न हिमालय टेलिभिजनको स्थापनाकालदेखिको फ्ल्यागसिप टक शो हो । यसलाई सुरुमा नारायण पौडेल र त्यसपछि राजेन्द्र बानियाँले सञ्चालन गरेका थिए । यक्ष प्रश्न अब पत्रकार निमेष बन्जाडेले सञ्चालन गर्ने भएका छन् ।
हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले प्रस्तोता फेरिएसँगै कार्यक्रमको स्वरूपमा समेत समयानुकूल परिवर्तन गरी तेस्रो सिजनका रूपमा लन्च गर्न लागिएको बताए ।
प्रतिक्रिया 4