१ मंसिर, जनकपुरधाम । एमाले नेता एवं खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको आरोप लगाएका छन् ।
सोमवार जनकपुरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अधिकारीले निर्वाचन गराउने आधार सरकारले नदिएको जिकिर गरे । ‘पूर्वाधार बनाएकै छैन । राजनीतिक दलका भेटनै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले चुनाव गराउन खोजेको हो भन्ने तपाईलाई लाग्छ र ?’ प्रश्न गर्दै उनले भने, ‘त्यसैले चुनाव गराउन खोजिएको कुनै आधार नै देखिएको छैन । र, चुनाव हुन्छ भन्ने कुरामा आम जनतालाई विश्वास पनि छैन ।’
उनले प्रहरीबाट लुटिएका हतियारले पनि चुनावमा भय रहेको जिकीर गरे । पूर्वगृहमन्त्री समेत रहेका अधिकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने सरकारको पहिलो कर्तव्य भएको बताए ।
‘हतियारहरु लुटिएका छन् । प्रहरीको पोशाक र लजिस्टिक सामानहरु पनि लुटिएका छन् । र कुनैपनि मतदान केन्द्रमा एसएलआर समेत प्रयोग गरेर प्रहरीकै पोशाकमा गोलाबारुद हुने सम्भावना छदैछ । त्यसलाई शान्ति, सुरक्षा, अमनचयन, भयरहित वातावरण बनाउनुपर्ने सरकारको पहिलो कर्तव्य हो,’ उनले भने ।
शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने काम नभएको उनको जिकीर छ । संविधान लिक बाहिर गएको भन्दै उनले त्यसलाई लिकमा ल्याउन संसद पुनर्स्थापना गर्नुपर्ने पनि बताए ।
साथै सुशासन र भ्रष्टाचार अन्त्य हुनुपर्ने युवा पुस्ताको मागलाई सम्बोधन गर्न पनि सरकारलाई अनुरोध गरे ।
प्रतिक्रिया 4