१ मंसिर, काठमाडौं । साढे दुई वर्षअघि अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकारको एउटा समूह समातियो । त्यतिबेला चर्चित कलाकारहरु राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ पवन खड्का (म्याकुरी) प्रयांकस्टार एलिश राईसहितका व्यक्ति समातिएका थिए । यो अपरेशन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन एसएसपी (हाल एआईजीपी) डा. मनोज केसीले गरे ।
त्यतिबेला डा. केसीले उनीहरुले युट्युबमार्फत वानएक्स बेट एपको प्रचारप्रसार गरेर बेटिङ गर्न सर्वसाधारणलाई उक्साएको बताएका थिए । अझ प्रसार-प्रसारमा के सम्म भनिएको थियो भने– ‘युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने ।’
३२ जेठ २०८० मा पक्राउ परेका उनीहरु केही समयको हिरासत बसाईपछि सामान्य धरौटीमा छुटे । कलाकारहरुले त्यतिबेला यसरी प्रचारप्रसार गर्न नहुनेबारे थाहा नभएको प्रहरीसमक्ष बताएका थिए ।
ठ्याक्कै कलाकारकै शैलीमा यस्तै प्रकृतिको बेटिङ प्रचारप्रसार क्रिकेटमा पनि भयो । पहिलो चरणको नेपाल प्रिमियर लिग (एनपीएल)मा यस्तै शैलीको बेटिङ प्रचारप्रसार भयो । नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ ।
तर यस विपरीत स्पोन्सरको नाममा बेटिङको प्रचारप्रसार एनपीएलमा ब्यापक भयो । कतिसम्म भने खेलाडीले लगाएका जर्सीदेखि ग्राउण्डमा राखिएका बोर्डसम्म बेटिङको प्रचारप्रसार भयो । खेलाडीको जर्सीमा बाबु ८८, बिजे ८८ लगायत बेटिङको प्रचारप्रसार गरिएको थियो । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले स्वीकृतिमा ‘वुल्भ ७७७’ बेटिङको प्रचारप्रसार भयो ।
तर यसरी प्रचारप्रसार गरेको आरोपमा कोही पनि कानुनी दायरामा आएनन् । उनीहरु कानुनी दायरामा नआउनुको पछाडि भने कुनै गतिलो जवाफ सम्बन्धित निकायले दिएका छन् । स्पोन्सर गर्ने कम्पनीहरुले नेपाल बाहिरलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै पन्छिने किसिमको जवाफ दिँदै आएका छन् ।
त्यतिबेला बेटिङको प्रचार-प्रसार बारेमा कुरा उठे पनि सामान्य चासो राख्नुबाहेक केही कारबाही हुन सकेन । अहिले यस्तो कानुन विपरीत गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख उनै केसी छन् ।
उनै केसीले यसअघि बेटिङको प्रचारप्रसार गरेको भन्दै कलाकारलाई पक्राउ गरेर मुद्दा चलाएका थिए । केसी अहिले सीआईबी प्रमुख रहेकाले कानुन विपरीत बेटिङको प्रचारप्रसार गर्ने र खेलाउने विरुद्ध कसरी कारबाही अघि बढाउँछन् भन्ने चासोका साथ हेरिएको छ ।
यसबारे सीआईबी प्रमुख डा केसी भन्छन्, ‘हाम्रो टोली फिल्डमै गएर अनुगमन गर्छ, गरिरहेकै छ । कानुन विपरीतका गतिविधि देखिए कारबाही गर्छ ।’
सीआईबीको टोली फिल्डमै गएर निगरानी
एनपीएलको पहिलो संस्करणमा बेटिङको प्रचारप्रसार गर्ने कारबाहीको दायरामा नआए पनि बेटिङ खेलाएको आरोपमा भने केही व्यक्तिलाई पक्राउ गरेर कारबाही गरिएको थियो । प्रहरीले त्यतिबेला एक दर्जन व्यक्ति पक्राउ परेका थिए । भारतीय नागरिक प्रतिक कुमार, सुमन धोष, अमित यादव, सुमन्त कुमार र ब्रजेश कुमारलगायत पक्राउ परेका थिए ।
उनीहरुले स्पोर्ट बाजी, प्रोबोलगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको खुलेको थियो । पक्राउ परेका उनीहरुलाई सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान गरेर मुद्दा चलाइयो । पछि सबैजसो सामान्य धरौटीमा छुटे ।
एनपीएलमा मुख्यगरी बेटिङ पनि टाउको दुखाईको बिषय बन्दै आएको छ । भारतबाट बेटिङ खेलाउनका लागि एक महिनादेखि उनीहरु काठमाडौं आएको अनुसन्धानबाट खुलेको थियो ।
अघिल्लो वर्षजस्तै यो वर्ष पनि बेटिङ हुनसक्ने भन्दै प्रहरीले निगरानी अघि बढाएको छ । सीआईबीका एआईजी केसीले बेटिङका बारेमा सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताउँछन् ।

फिल्डमै खटिएर सीआईबीको टोलीले बेटिङका बारेमा अनुगमन गरिरहेको उनले बताए । ‘बेटिङ खेलाउनेलाई कारबाहीका लागि हामीले एउटा टोली नै बनाएर फिल्डमै खटाएका छौं । उनीहरुले यसबारेमा केही सूचना पाए कारबाही गर्छन्’ एआईजी केसीले भने ।
सीआईबीका साथै प्रहरीका अन्य युनिटबाट पनि टोली परिचालन भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट पनि सादा पोशाकका टोली परिचालन गरिएको छ । उनीहरुले पनि बेटिङ खेलाउनको अनुगमन गरेर कारबाही गर्ने बताइएको छ ।
प्रहरी निरीक्षक इन्स्पेक्टरको कमाण्डमा २० जनाको टोलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फिल्डमै खटाएको छ ।
यो टोलीमा प्राविधिक ज्ञान भएकाहरु प्रहरीहरु रहने अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्य बताउँछन् । ‘हाम्रो प्राविधिक ज्ञान भएको टोली छद्म रुपमा फिल्डमा खटिन्छ । केही संकास्पद गतिविधि देखिएमा नियन्त्रणमा लिएर अनुसन्धान गर्छ’ आचार्यले भने ।
प्रत्येक टिममा एक प्रहरी
बेटिङ तथा फिक्सिङ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आईसीसी, क्यानदेखि प्रहरीसम्मले कारबाही अघि बढाएको बताएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एन्टी करप्सन युनिट (एसीयु)को तर्फबाट पनि मनिटरिङ भइरहेको क्यानले बताएको छ ।
एसीयुमा नेपाल प्रहरीका पूर्वडीआईजी इश्वर बाबु कार्की छन् । कार्कीको टिमले आईसीसीको प्रोटोकलअनुसार मनिटरिङ गरिरहेको क्यानका प्रवक्ता छुम्बी लामा बताउँछन् ।

खेलाडीहरुदेखि हरेक टिम, म्यानेजमेन्ट तथा अफिसियललाई एसीयुले ब्रिफिङ गरेको छ । उनीहरुको गतिविधि मनिटरिङ गरिएको छ ।
एनपीएल खेल्ने आठ वटै टिममा एक जना प्रहरीको अफिसर समेत खटाइएको छ । ती प्रहरीले टिमभित्रको कुनै त्यस्तो संकास्पद गतिविधि भएर निगरानी खबर गर्ने र थप कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ ।
१२२३ प्रहरी परिचालन, ४१ सीसीक्यामेराबाट मनिटरिङ
आजबाट सुरु हुने एनपीएल गत वर्षको भन्दा केही भिन्न छ । पहिलो पटक फ्लड लाइटमा रातिको समयमा एनपीएल हुने भएकाले रोमाञ्कतासँगै यसको सुरक्षा चुनौती पनि उत्तिकै छ । रंगशालाभित्रै हुने पाकेटमारदेखि टिमको समर्थन हुनसक्ने विवाद, झगडा र रंगशाला बाहिरका उच्छृखंल गतिविधिले सुरक्षा चुनौती थपिएको छ ।
एनपीएलमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आइतबार मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा चुस्त पार्न निर्देशन नै दिएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख (सीडीओ) इश्वरराज पौडेल र काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग आइतबार सुरक्षाबारे ब्रिफिङ लिँदै मन्त्री अर्यालले यस्तो निर्देशन दिए ।
यता प्रहरीले पनि सम्पूर्ण चुनौतीहरुको सामान गर्न सुरक्षाको पूर्ण तयारी भएको बताएको छ । एनपीएलकै सुरक्षाका लागि डेडिकेटेड रुपमा १ हजार २२३ प्रहरी जनशक्ति खटाइने परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताउँछन् । यो टोलीले एनपीएल अवधिभर अर्थात २७ मंसिरसम्म सुरक्षा प्रदान गर्नेछ ।
सुरक्षाकै लागि त्रिवि क्रिकेट रंगशाला वरपर ४१ वटा सीसीक्यामेरा जडान समेत भइसकेको उनले बताए । उक्त सीसीक्यामेराबाट निगरानी गरेर उच्छृंखल गतिविधि गर्नेलाई कारबाही गर्ने बताइएको छ ।
रातको समयमा समेत एनपीएल हुने भएकाले प्रहरीले सीसी क्यामेरामार्फत पनि विशेष निगरानी गर्ने गरी सुरक्षा योजना बनाएको हो ।
रंगशालामा स्ट्याण्डबाई रुपमा प्रहरीका अन्य टोलीहरु पनि खटाइएको छ । स्क्यानिङ टोलीदेखि, बम डिस्पोजल टोली, वाटर क्यानन, एम्बुलेन्सलाई पनि स्ट्याण्डबाई राखिएको एसपी भट्टराईले बताए ।
‘केही भई हालेमा स्ट्याण्डबाईको रुपमा एम्बुलेन्सदेखि बम डिस्पोजल टोलीसम्म राखिएको छ’ एसपी भट्टराईले भने ।
यसअघि टिकट भएका व्यक्ति समेत मैदानको नजिकै गएर ठूलो भीड भएर हेर्ने गरेकाले टिकट नभएका व्यक्तिलाई यस पटक परै रोक्ने व्यवस्था गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4