News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच भएको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- स्थानीय प्रशासनले सिमरामा उत्पन्न तनाव सामान्य पार्दै शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल गरिरहेको मन्त्रालयका सहप्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए।
- मन्त्रालयले सबै पक्षलाई शान्तिपूर्वक कार्यक्रम सञ्चालन गर्न स्थानीय प्रशासनसँग समन्वय गर्न र संयमता अपनाउन हार्दिक अपिल गरेको छ।
३ मंसिर, काठमाडौं । गृह मन्त्रालयले बाराको सिमरामा बुधबार एमाले कार्यकर्ता र जेनजी युवाहरूबीच झडप भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिमरामा उत्पन्न तनावको अवस्थालाई सामान्य बनाउँदै शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल लिइरहेको मन्त्रालयका सह प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए ।
साथै अहिले त्यहाँको स्थिति सामान्य बन्दै गएको जानकारी मन्त्रालयले दिएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कार्यक्रम गर्नु पूर्व स्थानीय प्रशासनसँग समन्वय गर्न, र शान्तिपूर्वक कार्यक्रम सञ्चालन गर्न सबै पक्षसँग आग्रह गरेको छ ।
सरकार तोकिएको मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउँदै गृह मन्त्रालयले त्यसका लागि सबै पक्षबीच आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको उल्लेख गरेको छ ।
‘शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी, संवाद, समन्वय र सहमति आवश्यक रहेकोले यसतर्फ गम्भीर रहन सबैपक्षसँग मन्त्रालय हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायतका नेता बुधबार बाराको सिमरामा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा जाने तयारीमा थिए ।
तर, एमाले नेताहरू सिमरा आउन लागेको थाहा पाएपछि स्थानीय जेनजी युवाहरूले विमानस्थल क्षेत्रमै विरोध प्रदर्शन सुरु गरेका थिए ।
पछि मुडभेडको स्थिति हुँदा जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।
प्रतिक्रिया 4