News Summary
Generated by OK AI. Editorially reviewed.- औषधिको पत्ता, प्याकेट वा बट्टामा नाम, ब्रान्ड, रासायनिक नाम, सक्रिय र सहायक तत्व, प्रकार, प्रयोग विधि र मात्रा उल्लेख हुन्छ।
- औषधिको भण्डारण, म्याद समाप्ति, निर्माता विवरण र ओभरडोज जोखिमसम्बन्धी निर्देशनहरू औषधिको पत्तामा स्पष्ट रूपमा दिइन्छ।
हामीले प्रयोग गर्ने औषधिको पत्ता, प्याकेट, बट्टा वा बट्टाभित्रको कागजमा धेरै महत्वपूर्ण जानकारीहरू हुन्छन् । यी जानकारीहरूले औषधि किन, कसरी, कहिले र कति मात्रामा प्रयोग गर्ने भन्ने कुरा बुझ्न मद्दत गर्छन् । त्यसैले औषधि प्रयोग गर्नुअघि यी विवरणहरू ध्यानपूर्वक पढ्ने बानी बसाल्न जरुरी छ।
यसमा औषधिको नाम, त्यसको ब्रान्ड नाम र रासायनिक (जेनेरिक) नाम हुन्छ । औषधिभित्र के-के पदार्थ (सक्रिय तत्व र सहायक तत्व) प्रयोग भएको छ भन्ने पनि उल्लेख हुन्छ । औषधि कुन प्रकारको हो- जस्तै एन्टिबायोटिक, दुखाइ कम गर्ने वा सुन्निएको कम गर्ने जस्ता कुरा पनि त्यहाँ उल्लेख गरिएको हुन्छ।
औषधि कसरी र कहिले खानुपर्छ, कति मात्रामा दिनमा कति पटक लिनुपर्छ, खाना अघि वा पछि लिनु उपयुक्त हुन्छ कि हुँदैन, र कति दिनसम्म चलाउनुपर्छ भन्ने सबै निर्देशन त्यही पत्तामा हुन्छ । साथै औषधि कुन समस्यामा प्रयोग गरिन्छ भन्ने जानकारी पनि पाइन्छ।
कसलाई यो औषधि प्रयोग गर्न नहुने, कुनै पदार्थमा एलर्जी भएको छ कि छैन वा शरीरले नसहने अवस्था छ कि छैन भन्ने चेतावनीहरू पनि उल्लेख गरिएका हुन्छन् । गर्भावस्था, स्तनपान, दीर्घरोग वा अन्य विशेष अवस्थामा के-कस्तो सावधानी अपनाउनुपर्छ भन्ने जस्ता अत्यन्त महत्वपूर्ण जानकारी पनि हुन्छ।
औषधिले देखाउन सक्ने साधारण र गम्भीर दुष्प्रभाव, अन्य औषधिसँग तथा खाना-पेय पदार्थसँग हुने अन्तरक्रिया र ती अन्तरक्रियाले शरीरमा पार्न सक्ने असरहरूको स्पष्ट विवरण त्यहाँ पाइन्छ । यदि औषधि धेरै मात्रामा खाइयो भने के-कस्ता लक्षण देखिन सक्छन्, त्यसको उपचार कसरी गर्नुपर्छ, र ओभरडोज अत्यधिक खतरनाक किन हुन्छ भन्ने कुरा पनि उल्लेख हुन्छ ।
त्यसबाहेक औषधि कसरी र कहाँ भण्डारण गर्ने, कति तापक्रममा राख्ने, बालबालिकाबाट टाढा राख्ने, सूर्यको किरणबाट जोगाउने, जस्ता निर्देशन पनि त्यहाँ हुन्छन् । निर्माण कम्पनीको नाम, ठेगाना, सम्पर्क विवरण, साथै निर्माण मिति र म्याद सकिने मिति पनि उल्लेख गरिएको हुन्छ, जुन जाँच्न सदैव आवश्यक हुन्छ।
कहिलेकाहीँ औषधि कसरी फाल्ने भन्ने विशेष निर्देशन तथा सरकारी निकायले दिएको अनुमति र दर्ता नम्बरजस्ता आधिकारिक जानकारी पनि सामेल हुन्छन् । बिरामीका लागि छुट्टै महत्त्वपूर्ण सूचना र प्रयोग गर्दा ध्यान दिनुपर्ने नोटहरू पनि त्यही कागजमा दिइएका हुन्छन् ।
अन्त्यमा, यी सबै जानकारीहरूले औषधि सही तरिकाले, सुरक्षित रूपमा र चिकित्सक वा फार्मासिस्टको सल्लाह अनुसार प्रयोग गर्न सहयोग गर्छन् । औषधिको पत्ता पढ्नु अत्यन्त महत्वपूर्ण छ।
यी सबै जानकारीहरूले औषधिको सही प्रयोग र सम्भावित जोखिमहरूको बारेमा सूचित गर्न मद्दत गर्छ । औषधिको पत्ता पढ्नु र चिकित्सक वा फार्मासिस्टको सल्लाह अनुसार औषधिको प्रयोग गर्नु अत्यन्त महत्वपूर्ण छ।
औषधि स्तर नियमावली वि.सं २०४३ ले औषधिलाई निम्न समूह र उपसमूहमा विभाजन गरेको छ । औषधिको पत्तामा अथवा बट्टामा कुन समूहको औषधि हो भन्ने कुरा खुलाइएको हुन्छ । समूह ‘ग’ बाहेकका अरू औषधिहरू आफैँ किनेर खान मिल्दैन ।
समूह ‘क’ मा लागू र विषालु औषधिहरू पर्छन् । एकपटक वितरण भइसकेपछि चिकित्सकले लेखेको पत्रमा अनिवार्य ‘वितरण भएको’ भनेर छाप लगाउनुपर्छ । ताकि यसको फेरि खरिद गरेर दुरुपयोग हुन नसकोस्।
समूह ‘क’ को उपसमूह १ र २ मा परेका औषधिको लेबलमा ‘होसियार ! चिकित्सकको विष र प्रेस्क्रिप्सनबिना विक्री वितरण गर्न नमिल्ने’ भन्ने शब्द लेखिएको हुन्छ ।
समूह ‘ख’ मा एन्टिबायोटिक र हर्मोन आदि पर्छन् । समूह ‘ख’ मा पर्ने औषधिको लेबलमा ‘होसियार : चिकित्सकको प्रेस्क्रिप्सनबिना विक्री वितरण गर्न नमिल्ने’ भन्ने शब्द लेखिएको हुन्छ।
त्यसैले समूह क र ख मा पर्ने औषधिहरू विक्री वितरण गर्न चिकित्सकको निदानपत्र अनिवार्य आवश्यक पर्छ र फार्मासिस्टको निगरानीमा मात्र वितरण गर्न मिल्छ ।
समूह ग मा पर्ने औषधिहरू सहजै रूपमा विक्री वितरण गर्न सकिन्छ । चिकित्सकको निदानपत्र तथा फार्मासिस्टको उपस्थिति अनिवार्य छैन । यसको उपसमूह १ मा समूह क र ख मा भएका औषधिहरू निश्चित रूपमा तोकिएको थोरै मात्रामा भएकाहरू समावेश हुन्छन् । बाँकी दुखाइ कम गर्ने, ज्वरो, झाडापखाला आदिमा प्रयोग हुने औषधिहरू उपसमूह २ मा पर्छन्।
समूह क, ख र ग मा पर्ने औषधिहरू के-के छन् भनेर हेर्न औषधि स्तर नियमावली वि.सं २०४३ को अनुसूची ४ मा हेर्न सकिन्छ ।
अब उदाहारणबाट बुझौँ ।
नेपालमा सामान्यतया ट्याब्लेटको पत्तामा पाइने लेबलको एक नमुना हेरी बुझ्ने प्रयास गरौँ ।

माथि दिएको चित्रमा हेरौँ ‘Acetamol’ भनेको उत्पादन गर्ने कम्पनीले दिएको आफ्नो व्यापारिक नाम हो र यसको मूल तत्त्वको नाम ‘Acetaminophen’ (जेनेटिक नाम) हो ।
विश्वभरमा हजारौँ कम्पनीहरूले ‘Acetaminophen’ उत्पादन गर्छन् । तर हरेकले आ-आफ्नो व्यावसायिक नाम फरक-फरक दिन सक्छन् । त्यसैले तपाईँले कहिलेकाहीँ औषधि किन्नु पर्यो भने यदि कुनै व्यावसायिक नामको औषधि महँगो छ भने, अर्को कम्पनीको औषधि लिन सक्नुहुन्छ । तर माथि भनिएझैँ मूलतत्व अर्थात जेनेरिक नाम एउटै हुनुपर्यो।
त्यसैगरी त्यहाँ ‘USP’ लेखिएको छ, जुन भनेको ‘United States Pharmacopoeia’ अर्थात् अमेरिकी फार्माकोपिया भन्न खोजेको हो । यसको अर्थ यो औषधि ‘USP’ भन्ने पुस्तकमा लेखेअनुसार बनाइएको हो । त्यसैगरी विभिन्न औषधिहरू विभिन्न फार्माकोपिया अनुसार बनाइएका हुनसक्छन् । नेपालमा प्राय प्रयोग हुने फार्माकोपीहरू JP, IP, BP, USP, Ph.Int. आदि हुन्।
त्यसैगरी ५००mg भनेको यसको एउटा ट्याब्लेटमा हुने मूल तत्त्व ‘acetaminophen’ को मात्र हो ।
यसको तल Excipients q.s लेखेको छ । यसको अर्थ औषधिको मूलतत्त्वलाई निश्चित आकार दिन, लामो समयसम्म भण्डारण गर्न सक्ने, आदि प्रयोजना हेतु प्रयोग हुने गैर औषधिय तत्त्व (निष्क्रिय तत्त्व) हो । जसको प्रभाव शरीरमा हुँदैन ।
यसैगरी ‘Dosage’ मा ६ घण्टामा एक ट्याब्लेट खाने वा चिकित्सकको सल्लाह बमोजिम भनेको छ । तर २४ घण्टामा ६ ट्याब्लेटभन्दा बढी खान नमिल्ने निर्देशन छ ।
यस्ता कुराहरू पूर्णरूपमा पालना गरौ, यो औषधि धेरै खाएमा तपाईँको कलेजोमा क्षति पुर्याउँछ । यसैगरी ‘Storage’ मा कसरी भण्डारण गर्ने भन्नेबारे बताएको छ । चिसो, सुक्खा र अँध्यारो ठाउँमा राख्ने अनि बच्चाको पहुँचबाट टाढा राख्न भनेको छ । तापक्रम, आद्रता, सूर्यको प्रकाश आदिले औषधिको प्रभावकारिता घटाउन सक्छ ।
यसैगरी त्यसको तल उत्पादकको लाइसेन्स नम्बर, ब्याच नम्बर, उत्पादित मिति र म्याद समाप्त हुने मिति दिइएको छ ।
लाइसेन्स नम्बरले सरकारबाट अनुमति लिएर गरेको भन्ने बुझाउँछ । हमेशा म्याद समाप्ति जानकारीमा राख्ने गरौं । म्याद समाप्त भएको औषधि नखाऊँ । यसैगरी त्यसको तल उत्पादकको नाम र ठेगाना दिइएको छ । यदि कुनै औषधिका विरुद्ध उजुरी गर्न पर्यो भने यी कुराहरू जानकारीमा राखौं ।
प्रतिक्रिया 4