४ मंसिर, काठमाडौं । बिहीबार दिनभरि अशान्त बनेको बाराको सिमराको जनजीवन अहिले सामान्य बन्दै गएको छ ।
जेनजी प्रदर्शनकारीहरूले दिउँसो ४ बजेपछि सडक खाली गरेपछि पथलैया-वीरगञ्ज सडकमा गाडीहरू गुड्न थालेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।
प्रजिअ मिश्रले अनलाइनखबरसँग भने, ‘जिल्ला सुरक्षा समितिले जेनजीका अगुवाहरूलाई छलफलका लागि डाकेका छौं । तर उहाँहरू विविध कारणले छलफलका लागि आइसक्नु भएको छैन । सम्भवतः भोलि मात्रै छलफल हुन्छ होला ।’
दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जिल्ला सुरक्षा समितिबाट भइसकेको भन्दै उनले आफूहरू जेनजी अगुवाहरूसँग छलफल गर्न तयारी अवस्थामा रहेको सुनाए ।
उनले भने, ‘छलफलका लागि हामी जतिखेर पनि तयार छौं । हामी जेनजी अगुवाहरूलाई कुरेर बसिरहेका छौं ।’
बिहानैदेखि सिमरा चोकलाई केन्द्रित बनाएर प्रदर्शन गरेका जेनजी अगुवाहरू दिउँसो ४ बजेपछि आ-आफ्नो घर फर्किसकेका कारण वीरगञ्ज-पथलैया सडकमा गाडी गुड्न थालेको प्रजिअ मिश्रले बताए ।
बाराका जेनजी अगुवा अविनाश अधिकारीका अनुसार भोलि शुक्रबार बिहान १० बजे पुनः आन्दोलन गर्ने गरी बिहीबारको आन्दोलन स्थगित गरिएको छ ।
जेनजीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेकपा एमालेबाट निर्वाचित दुई वडाध्यक्षहरू ४१ वर्षीय धनबहादुर श्रेष्ठ र ३८ वर्षीय क्यमुदिन अन्सारीलाई पक्राउ गरिसकेको छ ।
तर, जेनजीलाई आक्रमण गर्ने अरवीन्द साह अझै पक्राउ नगरेको भन्दै जेनजीहरू आक्रोशित छन् । साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान उनीहरूले राख्दै आएका छन् ।
बुधबार एमालेको युवा संघको मधेशस्तरीय कार्यक्रम थियो । काठमाडौंबाट महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता जाने कार्यक्रम थियो ।
यता जेनजी अगुवा सम्राट उपाध्यायले बुधबार नै एक जुट हुन भन्दै आह्वान गरेका थिए । जेनजीहरू सिमरा एयरपोर्ट अगाडि पुगेका थिए भने बाराका एमालेहरू पनि नेताहरू स्वागत गर्न एयरपोर्ट पुगेका थिए ।
त्यसपछि दुई पक्षबीच विवाद भएको थियो । विवादको क्रममा सुरुमा एमालेका बाराका नेता अरवीन्द साहले जेनजीलाई सुरुमा हिर्काएका थिए । त्यसयता सिमरा तनावपूर्ण बन्दै आएको छ ।
आजको प्रदर्शन उग्रबन्दा प्रहरीले लाठी चार्जका साथै ३ राउन्ड हवाई फायर र ६ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो ।
प्रदर्शन तनावपूर्ण बन्दा डीएसपीसहित ९ जना प्रहरी घाइते भएका थिए भने केही प्रदर्शनकारी समेत घाइते भएका थिए ।
-बाराबाट पत्रकार सुनिल गाउँलेको सहयोगमा
प्रतिक्रिया 4