+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

एमालेमा सुरु भयो ओली-पोखरेल प्रतिस्पर्धा

नेताहरूको मनसाय बुझेपछि ओलीले पनि अब आफ्नो प्रतिस्पर्धा ईश्वर पोखरेलसँग हुनसक्ने प्रष्ट संकेत दिए । ‘सहमति हुँदैन भने प्रतिस्पर्धालाई कसले रोक्न सक्छ र !,’ ओलीले नेतृत्वमा प्रतिस्पर्धा हुने सन्देश दिए ।

सइन्द्र राई सइन्द्र राई
२०८२ मंसिर ४ गते २३:३३

४ मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्काजस्तै भएको छ ।

महाधिवेशन तयारीका निम्ति उपसमितिहरू गठन गर्ने मुख्य एजेण्डा रहेको आजको सचिवालय बैठकमा नेताहरूले लिएको अडानले सर्वसम्मत नेतृत्व चयनको सम्भावना लगभग सकिएको हो । ‘केपी ओलीले अध्यक्ष छोड्न सकिन्नँ भन्नुभयो, ईश्वर पोखरेलले म प्रतिस्पर्धा गर्छु, र परिणाम स्वीकार्छु भन्नुभयो,’ एक पदाधिकारी भन्छन्, ‘आजको बैठकपछि अब औपचारिक रुपमै नेतृत्वको संघर्ष सुरु भयो ।’

आठ घण्टा लामो बैठक सकिएपछि निर्णयहरू सुनाउने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले पनि स्वस्थ प्रतिस्पर्धालाई स्वीकारेर जानेबारे छलफल भएको बताए । ‘एकताको महाधिवशनका रुपमा लैजाऔं भन्नुभएको छ (ओलीले) । एकताबद्ध भएर अगाडि बढ्ने कुरामा नै सबैको कल्याण छ । आम पार्टीपंक्तिले चाहेको, कार्यकर्ताले चाहेको, देशले पनि चाहेको त्यही हो,’ ज्ञवालीले भने, ‘त्यति हुँदाहुँदै पनि कसैले प्रतिस्पर्धा गर्नुहुन्छ भने त्यसलाई स्वस्थ प्रतिस्पधा गर्न सकिन्छ भन्ने कुरा बैठकमा छलफल भएको छ ।’

स्रोतका अनुसार, बैठकमा ओलीले राजनीतिक परिस्थितिबारे व्याख्या गर्दै एकताबद्ध हुनुपर्ने निष्कर्ष सुनाएका थिए । एकताबद्ध हुनलाई नेतृत्वमा सहमति आवश्यकता रहेको उनको भनाइ थियो ।

‘परिस्थितिलाई काबुमा ल्याउन मिलिटेन्सी चाहिन्छ, पार्टीपंक्तिलाई जुझारु बनाएर लैजानुपर्छ,’ ओलीको अडान थियो, ‘अब मैले अध्यक्ष छोडेर त्यो सम्भावना छैन, छोड्ने कुरा हुन्नँ ।’

म अध्यक्षका निम्ति डिजर्ब गर्छु, प्रतिस्पर्धामा आउने परिणाम स्वीकार्छ- ईश्वर पोखरेल

तर ओलीको अडान र आग्रहमा वरिष्ठ उपाध्यक्ष पोखरेल सहमत भएनन् । आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्दा पार्टी कमजोर नहुने तर्क गरेका थिए । ‘प्रतिस्पर्धाले पार्टी कमजोर हुन्छ भन्ने ठान्नु बेठीक हो,’ पोखरेलले तर्क गरे, ‘प्रतिस्पर्धाले पार्टी कमजोर हुँदैन । संगठन गतिशील हुन्छ, नेता–कार्यकर्ता सक्रिय हुन्छन् ।’

आन्तरिक प्रतिस्पर्धाले पार्टी एकता कमजोर नहुने विश्लेषण गर्दै पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने जानकारी पनि दिए । ‘मैले प्रतिस्पर्धा गर्ने कुराले पार्टी बलियो हुन्छ,’ पोखरेलले भने, ‘म अध्यक्षका निम्ति डिजर्ब गर्छु, प्रतिस्पर्धामा आउने परिणाम स्वीकार्छ ।’

एघारौं महाधिवेशनपछि आफूले नेतृत्व लिने दावी प्रस्तुत गर्दा उनले ओलीका कमजोरीहरू पनि औल्याए । ‘तपाईंका सार्वजनिक अभिव्यक्ति, तपाईंका कतिपय तौरतरिकाले पनि पार्टीभित्र समस्या पैदा भएको छ,’ पोखरेलले ओलीलाई नेतृत्वबाट विश्राम लिन संकेत गरेका थिए ।

विशेषगरी कमजोरी सच्याउन नचाहने ओलीको शैलीप्रति पोखरेलको टिप्पणी थियो । ‘आफ्ना कमजोरीहरूको समीक्षा गर्न नचाहने कुराले अगाडि बढ्न सकिँदैन । कमजोरीलाई देख्न सक्नुपर्छ,’ पोखरेलले भनेका  छन्, ‘अनि मात्र सच्याएर जान सकिन्छ ।’

स्रोतका अनुसार आगामी नेतृत्वबारे ओली र पोखरेलबीचको अडानमा अरु पदाधिकारीले पनि आफ्नो पक्षधरता लुकाएका थिएनन् । विगतका बैठकहरूमा जस्तै महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले ओलीलाई सहयोग पुग्नेगरी धारणा राखेका थिए ।

विगतमा प्रतिस्पर्धा गर्ने कतिपय साथीहरू पार्टीको एकतामा रहनु भएन । उदाहरणका निम्ति माधवकुमार नेपाल या भीम रावल । त्यो स्थिति नबनोस्- केपी शर्मा ओली

‘नेतृत्वलाई संकट परेका बेला सहयोग गरेर जानुपर्छ भन्ने निष्कर्ष पुष्टि गर्नेगरी शंकर पोखरेलले आफ्नो सम्बोधन राख्नुभयो,’ बैठक स्रोत भन्छ, ‘प्रदीप ज्ञवालीले पार्टीभित्रको अन्तरसंघर्ष छरपष्ट पार्नुहुँदैन, फरक कोण आउनेगरी नेताहरू सार्वजनिक रुपमा बोल्नुहुन्न भन्ने कुरा राख्नुभयो ।’

अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने जेनजी आन्दोलनबाट सत्ता गुम्दाका अनुभव र निष्कर्षहरू सुनाएका थिए । गुरुङले सुरक्षा निकायहरूको लोकतान्त्रिकरण कसरी गर्ने जस्ता कुरामा जोड दिँदै ओलीलाई बल पुग्ने तर्क गरेका थिए ।

उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलष्मी शाक्य, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठले भने ईश्वर पोखरेललाई साथ दिनेगरी बोलेका थिए ।

‘बैठकमा राजनीतिक परिस्थिति, मधेश सरकारमा देखिएको समस्या, पार्टीले बनाउन लागेको राष्ट्रिय स्वयंसेवक फोर्स जस्ता विषयमा धेरै छलफल भयो,’ स्रोत भन्छ, ‘धेरैजसो पदाधिकारीले अहिलेकै तौरतरिकाले हुन्नँ, सच्चिनुपर्छ भन्नुभयो ।’

नेताहरूको मनसाय बुझेपछि ओलीले पनि अब आफ्नो प्रतिस्पर्धा ईश्वर पोखरेलसँग हुनसक्ने प्रष्ट संकेत दिए । ‘सहमति हुँदैन भने प्रतिस्पर्धालाई कसले रोक्न सक्छ र !,’ ओलीले नेतृत्वमा प्रतिस्पर्धा हुने सन्देश दिए ।

बैठकपछि ओली निकट नेता प्रदीप ज्ञवालीले पनि अब प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुने संकेत दिएका छन् । ‘त्यहाँ कसैले त्यस्तो उम्मेद्वारीको घोषणा अथवा आफू बन्ने ढंगले त कुरा गर्नुभएन । तर यदि भएछ भने पनि हामीले स्वभाविक रुपमा लिन्छौं,’ ज्ञवालीले भनेका छन् ।

उपमहासचिव ज्ञवालीले चुनावी प्रतिस्पर्धामा ओलीले नै जित्ने आत्मविश्वास समेत दिलाउने प्रयास गरे । ‘अध्यक्ष कमरेडले थप एउटा कुरा पनि भन्नुभयो– अहिलेसम्म निरन्तर विभिन्न समयमा प्रतिस्पर्धा भयो । म आफू एक जना मात्र त्यस्तो पात्र रहे, जसले प्रतिस्पर्धामा पराजित भएपनि पार्टी एकताका निम्ति निरन्तर लागरहेँ,’ ओलीको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने, ‘तर विगतमा प्रतिस्पर्धा गर्ने कतिपय साथीहरू पार्टीको एकतामा रहनु भएन । उदाहरणका निम्ति माधवकुमार नेपाल या भीम रावल । त्यो स्थिति नबनोस् ।’

अर्थात् उनको भनाइ प्रष्ट थियो, स्वस्थ प्रतिस्पर्धा गर्न तयार छौं, तर हारेपछि कसैले पार्टी छोड्ने परिस्थिति नबनोस् ।

ईश्वर पोखरेल र उनलाई एमाले अध्यक्ष बनाउने अभियानमा जुटेका नेताहरूले यही सचिवालय बैठक कुरेका थिए । सचिवालय बैठकबाटै ओलीलाई बिदा लिन आग्रह गर्ने र सर्वसम्मत नेतृत्व परिवर्तनको प्रस्ताव गर्ने तयारी थियो । योजना अनुसारै पोखरेलले प्रस्ताव राखे, जसमा ओली सहमत भएनन् । उल्टै पराजित भएर पार्टी छोड्ने परिस्थिति नबनोस् भन्ने चेतावनी दिइएको छ ।

‘सर्वसम्मतिबाटै नेतृत्व परिवर्तनको प्रस्ताव हामीले राख्यौं । केपी कमरेड तयार हुनु भएन, अब हामी अगाडि बढ्छौं,’ पोखरेल निकट स्रोत भन्छ । यो समूहका नेताहरूले आगामी ८ मंसिरमा सार्वजनिक सभा राखेरै पोखरेलको उम्मेद्वारी घोषणा गर्ने तयारी गरिरहेको छ ।

ओलीको निष्कर्षमा असहमति

तेस्रोपटक आफैं अध्यक्ष भएर राजीतिक परिस्थिति सम्हाल्ने, पार्टी बनाउने र देश अगाडि बढाउने ओलीको प्रस्तावमा पोखरेलतर्फ उभिएका पदाधिकारीहरूले भने असहमति जनाएका थिए ।

उनीहरूले ओलीले भनेका र सुनाएका निष्कर्षहरूमा समस्या देखाएका थिए । पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने ओलीको तर्कप्रति उपाध्यक्ष युवराज ज्ञवालीले व्यवहारमा देखिनुपर्ने चुनौती दिएका थिए । ‘व्यवहारमा प्रतिबिम्बित हुनुपर्छ, एकता गर्ने भनेर मात्र हुँदैन,’ ज्ञवालीले भनेका थिए ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा देखिएको समस्याको हल आवेग र उत्तेजनाबाट नहुने बताएकी थिइन् । ‘पार्टीभित्र जे देखिएको छ, हामीले उत्तेजना र आवेग देखाएर समाधान हुँदैन । हाम्रा तौरतरिका सुधार्नुपर्छ,’ शाक्यले भनेकी थिइन् ।

अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको परिस्थिति बिग्रनेगरी नेताहरूको अभिव्यक्ति आइरहेको चिन्ता गरेका थिए । ‘हामीले जे निर्णय गर्न सक्छौं । त्यही हिसाबले मात्र बोल्नुपर्छ,’ उनले भनेका थिए ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकको परिस्थिति सोचेजस्तो नरहेको तथ्यबोध हुनुपर्ने बताएका थिए । ‘परिस्थिति अहिले जोखिमपूर्ण छ । सोचे जस्तो सजिलो छैन,’ पाण्डेको भनाइको सार थियो ।

सचिव गोकर्ण विष्टले अरु राजनीतिक दलहरूसँग एक्लिने बाटोमा एमाले हिँड्न नहुने बताएका थिए । ‘वर्तमान संकटबाट पार पाउन मुद्दा मिल्ने शक्तिहरूसँग मिलेर जानुपर्छ, यसले लोकतन्त्र बलियो हुन्छ,’ उनको तर्क थियो, ‘पञ्चायतविरुद्ध लड्दा होस्, या गणतन्त्र प्राप्तिमा वाम–लोकतान्त्रिक सहकार्यबाट सफल भएका छौं ।’

योगेश भट्टराई र रघुवीर महासेठले मधेश प्रदेश सरकारमा देखिएको संकटबारे चिन्ता गरेका थिए । ‘नेतृत्वले जसरी निर्णय लियो, त्यसले मधेशमा एमाले एक्लियो भन्ने चिन्ता गर्नुभएको थियो,’ स्रोत भन्छ ।

अर्का सचिव छविलाल विश्वकर्माले मुलुकको संकटप्रति गम्भीर हुन आग्रह गर्दै दलितका मुद्दाहरूमा पार्टीको ध्यानाकर्षण गराएका थिए । लेखराज भट्टले भने सुदूरपश्चिमको समस्याबारे कुरा उठाए ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?