News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको मनकामना मन्दिर जाने सडकखण्डमा गण्डकी प्रदेश सरकारले ७ करोड ५९ लाख ३० हजारमा मोटरेवल पुल बनाउने योजना अघि बढाएको छ।
- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुलको शिलन्यास गर्दै काम समयमै सक्नुपर्ने र बजेटका कारण काम रोकिँदैन भने।
- पुल बनेपछि शहीद लखन गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीयलाई आवागमन र कृषि उपज बजार व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।
५ मंसिर, गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने सडकखण्डमा मोटरेवल पुल बन्ने भएको छ ।
गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोलामाथि गण्डकी प्रदेश सरकारको लगानीमा पुल बन्न लागेको हो ।
पुलको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलन्यास गरेका छन् ।
स्याउली बजार–भट्ट फाँट हुदै मनकामना जोड्ने सडकखण्डमा बन्न लागेको पुलको कूल लागत ७ करोड ५९ लाख ३० हजार रहने पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।
‘लागत अनुमान १० करोड ३१ लाख ६० हजार हो,’ कार्यालय प्रमुख गणेश सुवेदीले भने, ‘तर ७ करोड ५९ लाख ३० हजारमा ठेक्का सम्झौता भएको छ ।’
गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड बिल्डर्स प्रालिसँग ठेक्का सम्झौता भएको छ । दुई वर्षमा काम सक्ने गरी यही असार २२ गते सम्झौता भएको सुवेदीले जानकारी दिए । उनका अनुसार पुलको कूल लम्बाई ६० मिटर र चौडाई ८.४० मिटर रहने छ ।
पुल बनेसँगै सो सडकखण्डमा बाह्रै महिना सवारी आवागमन सहज हुने अपेक्षा छ ।
विशेष गरी शहीद लखन गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीय पुलबाट बढी लाभान्वित हुनेछन् । उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा पनि सहज हुने भन्दै स्थानीय खुशी छन् ।
पुल शिलन्यासपछि बोल्दै मुख्यमन्त्री पाण्डेले बजेटका कारण काम नरोकिने बताए । कामको प्रगति आधारमा रकम भुक्तानी हुने भन्दै उनले भने, ‘काम समयमै सक्नुपर्यो, बजेटका कारण काम रोकिँदैन ।’
मनकामना जोड्ने अन्य सडकखण्डमा पनि पुलको माग भएकाले क्रमश: बजेट विनियोजन हुदै जाने उनले बताए ।
सीमित स्रोत साधनका कारण एकै पटक सबै स्थानीयको माग पूरा गर्न सम्भव नहुने उनले स्पष्ट पारे ।
‘मनकामना जाने धेरै सडक छन्, सबै सकिँदैन तर एउटा सडक प्रदेशले कालोपत्रे गर्छ,’ उनले भने, ‘तर कुन सडक कालोपत्रे गर्ने भनेर स्थानीयहरू सहमति गरेर आउनुपर्छ ।’
प्रतिक्रिया 4